arrow

सम्मान !

logo
सृजना कोइराला, 
प्रकाशित २०८० मंसिर २३ शनिबार
srijana-koirala-2080-08-23.jpg

रातो रगत हेर्दै गर्दा
रातो रगत गन्दै गर्दा 
सयौँलाई सेवा प्रदान गर्दै गर्दा 
कयौँ रोगहरू नियाल्दै गर्दा
ओझेलमा परेको प्रयोगशाला 
र म प्रयोगशालाकर्मी ।

कहिले कोरोना 
कहिले डेंगी फैलिइरहँदा
थाइराइड, सुगर अनि कोलेस्टोल बढिरहँदा 
झाडापखाला अनि टीबी रोग पत्ता लगाइरहँदा 
क्यान्सरको गाह्रो पहिचान बिरामीलाई बुझाइरहँदा    
ओझेलमा परेको प्रयोगशाला 
र म प्रयोगशालाकर्मी ।

चौबीसै घण्टा नरोकिई घडी झैँ चलिरहँदा
दशैँ, तिहार अनि छठ नभनी खटिइरहँदा 
बिरामीका तीता मीठा गुनासा सुनिरहँदा
बीस जना मिली हजारौँ परीक्षण गरिरहँदा 
ओझेलमा परेको प्रयोगशाला 
र म प्रयोगशालाकर्मी ।

सम्पूर्ण अस्पताललाई नै रातदिन डोहोर्याइरहँदा
सानो अनि कुनामा लुकेको ५ नम्बरको कोठा देखाइरहँदा 
कता–कता भक्तपुर अस्पतालको ओझेलमा परिरहँदा 
केवल एउटा साधारण परीक्षण केन्द्रमा सीमित भइरहँदा
आफ्नै महत्व अनि विकास कता कता रोकिरहँदा
ओझेलमा परेको प्रयोगशाला 
र म प्रयोगशालाकर्मी ।

बोल्न र भन्न मन लाग्यो –
हो म यहीँ छु
प्याथोलोजी र बायोकेमेस्टि अनि म्याक्रोबायोलोजी 
एकै साथमा समेटेकी छु 
फर्केर हेरिदेऊ 
तिमीलाई जीवित राख्ने 
स्वासप्रश्वास हुँ म 
मलाई मेरो स्थान देऊ 
मलाई सम्मान देऊ ।
                                                                   (प्याथोलोजिष्ट, भक्तपुर अस्पताल)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ