arrow

टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा पाइने निःशुल्क सुविधा थप

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै कक्षा ८ देखि माथिका विद्यार्थीलाईसमेत नयाँ सिम उपलब्ध गराइने र रिचार्ज गर्दा पाइने बोनस सुविधासमेत थप गरिएको जनाएको छ । 

९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० ओटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ ।

तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । 

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । पहिले जस्तै यसमा रु. १० ब्यालेन्ससमेत उपलब्ध हुने भएको छ । 

टेलिकमका अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमासमेत नयाँ सुविधा उपलब्ध हुनेछ । 

नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ ।

कम्पनीका अनुसार विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब रु. १०० को रिचार्ज गर्दासमेत डाटा बोनस उपलब्ध हुनेछ । 

यस अनुसार एमपोसमार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । 

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । 

यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ । 

नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्य अवसरमा समेत सेवाग्राहीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ