काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेपाली उद्यमी÷व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो छाता संगठन हो । तात्कालीन समयमा ‘३२ कोठी साहु महाजन’को प्रचलनदेखि ‘वाणिक मण्डल’ र ‘नेपाल चेम्बर अफ कमर्स’को नामबाट समेत सुरूभएको चेम्बरको इतिहासलाई अझ व्यवस्थित गराउन र त्यतिबेला निजामती कर्मचारीहरुको व्यवसायप्रति हुनेगरेको अनुदार व्यवहारलाई कम गर्नकोलागि वि. सं. २०२२ सालमा उद्योग वाणिज्य संघको अवधारणाको सुरूवात भएको थियो । त्यतिबेला राजा महेन्द्रको पहलकदमी र तात्कालीन उद्योग व्यवसायीहरूको संस्था नेपाल चेम्बर अफ कमर्सको समेत नेतृत्व गरिरहेका लोकराज जोशी नै अध्यक्ष हुनेगरी उद्योग वाणिज्य संघको गठन भएको हो । त्यतिबेला संस्थाको तदर्थ समितिका एक सदस्य थिए मोहन सिंह ऐतवाल । सम्भवतः पहिलो कार्यसमितिमा रहेका सदस्यहरुमध्ये अहिलेसम्म जीवित रहेका एकमात्रै सदस्य पनि हुन् उनी । उनले तत्कालीन समयमा महाकाली अञ्चलको तर्फबाट संघमा प्रतिनिधित्व जनाएका थिए । उनले त्यतिबेलाको नेतृत्वदेखि अहिलेसम्मको उद्योग वाणिज्य महासंघको नेतृत्वलाई समेत राम्रोसँग निगरानी गरिरहेका छन् । अहिलेको नेतृत्वको कमजोरी यसले महासंघलाई पार्ने प्रभावको बारेमा स्पष्ट विश्लेषण गर्दै अहिले महासंघ कुन गतिमा हिँडिरहेकोछ ? भन्ने विषयमा समेत स्वतन्त्र विश्लेषण गर्न समेत उनी सक्षम छन् । ऐतवाल अहिलेपनि सक्रिय जीवन विताईरहेका छन् । तिनै ऐतवालसँग अहिलेको नेपाल उद्योग वाणिज्य महासंघको इतिहासदेखि अहिलेसम्मको अवस्था, यसले राज्यमा परेको प्रभाव र यसले मुलुकको आर्थिक विकासमा पुर्याएको भूमिकाको विषयमा हाम्राकुरा डटकमका लागि अखिल सिटौला र सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा राष्ट्रिय स्तरको उद्योग वाणिज्य संघ खोल्नको लागि को–बाट र कस्तो घटनाबाट प्रेरित हुनु भएको थियो जसले आर्थिक क्षेत्रको यस्तो ठूलो संस्थाको गठन गठन गरायो ?
पञ्चायतकालीन समयमा पनि नेपालमा उद्योग व्यवसायीहरूमाथि ब्यूरोक्र्यासीको दबदबा नै रहेको थियो । यस्तो अवस्थामा कुनैपनि नेपाली उद्यमी÷व्यवसायी स्वतन्त्रपूर्वक व्यवसाय गर्न पनि नसक्ने अवस्था हुँदै थियो । यस्तो अवस्थामा कुनैपनि व्यक्तिले आफूलाई परेको समस्याको विषयमा कुरा गर्नु आफैंमा पनि सहज थिएन । उता, छिमेकी मुलुक भारतमा यस्तै प्रकृतिका दुई संस्थाहरु खुलिसकेका थिए । त्यसैको पनि एक हिसावले प्रभाव परेको थियो । यता, देशभरीका उद्यमीहरू एकैठाउँमा भेलाभएर आफ्ना समस्याहरु प्रस्तुत गर्दा त्यसलाई हार्न नसक्ने भएकोले हामीले उद्योग व्यवसायीहरूको संस्था खोल्ने लक्ष्य लिएका हौं ।
आफैले बनाएका योजनाहरु आफैंले कार्यान्वयन गर्न पनि त्यति सहज थिएन । त्यसैले हामीले त्यो सबै योजनाहरु राजा महेन्द्रलाई सुनायौं । राजाले पनि छिमेकमा दुईवटा भन्दा बढी संस्था भएको तर, नेपालमा भने उद्योगी व्यवसायीहरूको कुनैपनि संस्था नभएको खण्डमा यस्तो संस्थाले नेपालको उद्योग व्यवसायको प्रवद्र्धन गर्न पनि सहज हुने सोचले पनि हुनसक्छ । सहर्ष त्यो प्रस्ताव स्वीकार गरे । त्यसपछि तात्कालीन चेम्बरका समेत अध्यक्ष रहेका लोकनाथ जोशीको नेतृत्वमा उद्योग वाणिज्य संघ गठन गरियो ।
तदर्थ समितिका सदस्यहरू हेर्दा तत्कालीन समयमा राष्ट्रियस्तरमा समेत नाम चलेका मान्छेहरु थिए । तर, संघको अध्यक्ष भने किन सोही प्रकृतिकाे एउटा संस्थाको नेतृत्व गरिरहेका जोशीलाई नै दिईयो ?
त्यतिबेलाको परिस्थिती अहिलेको भन्दा अलि फरक थियो । अहिलेका मानिसमा जस्तो त्यतिबेलाकोमा ‘म आफू नै ठूलो हुँ’ भन्ने दम्भ कसैमा पनि हुने थिएन । त्यतिबेला पनि लोकराज जोशीलाई सबैले मान्दथे । सम्भवतः उनी त्यतिबेलाका सबैभन्दा जेठा व्यक्ति पनि थिए । चेम्बरमा काम गरेर अनुभव पनि बटुलेका हुनाले पनि उनलाई दिँदा नै संस्थाको विकास हुनेमा सबै सहमत भएर नै उनलाई अध्यक्ष बनाईएको हो ।
तदर्थ समितिले त्यतिबेला के–कस्तो काम गर्यो ?
तदर्थ समिति गठन गर्ने बेलामा नै एउटा शर्त के गराईएको थियो भने अञ्चलप्रतिनिधिहरूले आफ्नो अञ्चलभित्र रहेका सबै जिल्लामा सकेसम्म धेरै सदस्य बनाउनुपर्नेछ । तदर्थ समितिको त्यतिबेलाको मूल काम नै काठमाडौं बाहिरका जिल्लाहरुमा सदस्यता प्रदान गर्नु र यसको बारेमा जानकारी र यसकोमहत्वको विषयमा जानकारी गराउनु नै रहेको थियो । यसले आफ्नो लक्ष्य अनुरूप राम्रै काम गरेको थियो । त्यतिबेला दर्ता गर्ने र विशेषगरी सचेतना जगाउने काम भयो ।
त्यतिबेला महासंघको १२ अञ्चलमा सदस्य संघ थियो । त्यतिबेला मेरो धानकुट्ने मेसिन थियो । तिमी पनि अध्यक्ष बन्छौं त ? भन्ने प्रस्ताव आएपछि मैले पनि आफ्नो अञ्चलमा देखिएका सम्भावनाहरुलाई एकएकगरी नियालेँ र यस्तो सम्भावना रहेको ठाउँमा संघको सदस्य बन्न छुट्नु हुन्न भन्ने लाग्यो र मैले पनि हुन्छ भनिदिएँ ।
तर, त्यतिबेला संघको कार्यसमितिमा बस्नेहरूलाई अन्यको तुलनामा केही लाभ हुन्थ्यो र ?
त्यस्तो केहीपनि थिएन । संघलाई उल्टो पैसा तिर्नुपर्ने थियो । भन्नैपर्दा एउटै फाईदा के थियो भने संघमा आवद्ध रहेको मान्छेसँग सरकारी कर्मचारीले गर्ने व्यवहारमा भने निकै फरक हुन्थ्यो । नत्र त पैसा उल्टै तिरेर किन बस्ने ? तर मेरो त्यतिबेलाको सदस्यता भनेको युवा जोश र केही गरौं भन्ने सोचका कारण भएको हो । त्यतिबेलाको युवा जोस नै त पर्यो उनीहरुले जे भन्छन् त्यसैमा लौ हुन्छ भनेर पनि कार्यसमितिमा बसेको हुँ । तर, त्यतिमात्रै भने होईन ।
तपाईँ, पहिलो तदर्थ समिति सकिएपछि दोस्रो कार्यकालको पनि कार्यसमितिमा सदस्य बन्नु भयो । तर नेतृत्वमा भने पुग्न चाहनुभएन किन ?
म प्रचारबाजी र नेतृत्वको त्यति आकांक्षी पनि थिईन । त्यसैले पनि पटकपटक कार्यसमितिमा बसेर पनि मैले नेतृत्वको चासो देखाईन । सबै अध्यक्षको आकांक्षी बनेर पनि कसरी हुन्छ । त्यतिबेला म भन्दा पनि बढी जुद्ध बहादुर श्रेष्ठ, पशुपति गिरी लगायत व्यक्तिहरु बढी सक्रिय थिए । अनि मैले पनि उनीहरूलाई नै बढी सहयोग गरेँ । तर, पदको लोभी बनिन ।
पशुपति गिरीले सबैभन्दा बढी ४ पटक अध्यक्ष बन्नुभयो । उहाँलाई नै किन पटकपटक अध्यक्ष बनाईएको थियो ?
उहाँ अविवाहित रहेको कारणले । उहाँले विवाह गर्नुभएको थिएन । त्यसैले पनि उहाँले अरूले भन्दा बढी समय संघकोलागि दिन सक्नुभएको थियो । पहिलो कारण त त्यहि पनि हो । अनि अर्काे कारण त उहाँ आफैंमा सक्रिय मान्छे हो । त्यही सक्रियताका कारण पनि होला धेरै कार्यकाल उहाँले संघ चलाउनु भयो ।
महासंघले उद्योग वाणिज्य क्षेत्रको विकासको लागि कस्ता कामहरू गरेको थियो ?
त्यतिबेला महासंघले उद्योग वाणिज्य क्षेत्रको विकासको लागि हरेक जिल्ला–जिल्लामा रहेका सम्भावनाहरूको खोजी गरी महासंघलाई प्रतिवेदन बुझाउने जिम्मेवारी हरेक अञ्चलका प्रतिनिधिहरूलाई दिईएको थियो । पछि जिल्ला–जिल्लामा संघहरु खडा गर्ने काम पनि बढ्दै गयो र उनीहरुलाई नै त्यस्तो कार्यविभाजन गरियो । त्यसरी संकलन भएका अध्ययनप्रतिवेदनहरू सरकारलाई दिईएको थियो । पछि धेरैहदसम्म सरकारले त्यस्ता अध्ययन प्रतिवेदनहरू कार्यान्वयनमा ल्याउन पनि सफल भएको छ ।
तपाईले आफू उद्योग वाणिज्य महासंघको सदस्य बनिसकेपछि के काम गरेँ जस्तो लाग्छ ?
मैले अघि भनेझै आफ्नो क्षेत्रभित्र रहेको सम्भावनाका विषयहरुलाई उठान गरेर केन्द्रसम्म ल्याउने काम गरेको थिएँ । त्यहाँको वन पैदावार, हामीले निकासी गर्ने विभिन्न सामग्रीयहरुको सहजताकोलागि नेपाल सरकार र सरकारकै माध्यमबाट भारतसम्म पनि लविईङ्खगरेको थिएँ । त्यस्तै, बाटोको अभावमा नेपालकै एकठाउँबाट भारतीय बाटोहुँदै नेपालकै अर्काे ठाउँमा जाँदापनि भारत सरकारलाई पैसा तिर्नुपर्ने अवस्थालाई मैले अन्त्य गर्दै नेपाली ओरिजिनको प्रमाणपत्र देखाएपछि भन्सार शुल्क नतिरीसामान ओसार्न सकिने व्यवस्था मिलाएको थिएँ । त्यतिबेलाका समस्या समाधानको लागि धेरै काम गरियो तर सबै लेखा जोखागर्ने हो भने त धेरै लामो कहानी बन्छ । तर, तात्कालीन समयमा आफ्नो क्षेत्रमा देखिएका समस्या समाधान र नयाँ सम्भावनाको खोज ीगर्नपनि धेरै मेहनत गरेको छु ।
त्यतिबेलाको महासंघ र अहिलेको महासंघमा कस्तो भिन्नता देख्नुहुन्छ ?
त्यतिबेलाको महासंघ भनेको एउटा पैसा पनि नभएको सामान्य अहिले खुलेका एनजीओ जस्तै थियो । त्यसैमा आवद्ध रहेको सदस्यहरुबाट उठाएको पैसाले हामीले कर्मचारी पाल्नुपर्ने अवस्था थियो । तर, अहिलेको महासंघ समृद्ध बनेको छ । कसैले कसैलाई पनि नमान्ने प्रवृत्तिको विकास भएको छ । त्यतिबेलाको महासंघलाई यो उचाईमा पुर्याउनकोलागि जुन त्याग र समर्पणको आवश्यकता थियो । त्यो अहिलेको नेतृत्वले भोग्नु परेको छैन । कुनैपनि त्यागविना नै यत्रो ठूलो संस्थाको नेतृत्व पाईन्छ । तर, यसरी विलासीताको पछाडि लाग्दा महासंघको भविष्य पनि सबैले हेर्नु जरुरी रहेको छ ।