arrow

पश्चिम तरार्ईमा घाम लागेन, जनजीवन कष्टकर, हवाई उडानमा समस्या

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
bardiya-1.jpg.jpeg
नेपालगन्ज । बढदो चिसो र शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तरार्ईकाको जनजीवन कष्टकर भएको छ । शीतलहरका कारण अत्यधिक चिसो बढ्नुका साथै घाम नलाग्ने भएपछि पश्चिम तराईका जिल्लामा दिनभरि शीतलहर तथा साँझ पर्नेबित्तिकै कुहिरो लाग्ने क्रम सुरु भएको छ । 
 
पश्चिमको नेपालगन्ज, बर्दिया, धनगढी, टीकापुर, कोहलपुरमा लगातार दुई दिनदेखि घाम लागेको छैन । चिसोसँगै बहने सिरेटोले वासस्थाको उचित व्यवस्था नभएका र आर्थिक अवस्था कमजोर भएका परिवार बढी मारमा परेका छन् । तराईका जिल्लामा घाम नलागेपछि खेतमा लगाइएको तोरी, गहँु, मसुरो, चना, अरहर तथा हिउँदे तरकारी बालीमा समेत असर परेको जिल्ला कृषि विकास कार्यालयका अधिकृत सकिल अहमदले बताए । 
 
शीतलहरका कारण आलु र गोलभेँडाका बोटमा ‘डढुवा’ रोग लाग्ने खतरा बढेकाले व्यावसायिक तरकारीखेतीमा संलग्न कृषक चिन्तित भएका छन् । अत्यधिक चिसोले अत्यावश्यक कामबाहेक नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । 
 
स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफायड, निमोनिया रोगका बिरामीको चाप बढेको छ । तर, लामो समय देखिको बन्द र नाकाबन्दीले अस्पतालमा औषधी अभाव भएपछि विरामीहरु थप मारमा परेका छन् । यस्तै, स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ । 
 
तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानमा समेत असर परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भिजिविलिटी नपुगेपछि नेपालगन्जबाट काठमाडौँलगायतका स्थानको उडान रद्द हुने वा ढिलो हुने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ