arrow

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध विमानस्थलको आईएलएस सञ्चालन सम्झौता गर्न आवश्यक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
gautambuddha-airportfinal.jpg

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आईएलएस सञ्चालनको अनुमति लिने एजेन्डा बनाउन आवश्यक रहेको बताएको छ ।

आजबाट काठमाडौँमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम’(आईएलएस) सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने बताएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्दछ । भारत सरकारको अनुमतिको लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा आईएलएस)सञ्चालनको एजेन्डा राखी सम्झौता नै आवश्यक रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

प्रवक्ता भुलले जाडो तथा बर्सातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको भए पनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको बताए । उनले भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण आईएलएस भएको र कहिले काहीँ भारतीय विमानले पनि प्रयोग गर्न सक्ने भएकाले दुवै देशले संयुक्त रूपमा सम्झौता गर्न आवश्यक रहेको बताए । 

उनले अन्तर्राष्ट्रिय उडानमा सिमरा बाहेक थप अन्य सीमा विन्दुबाट प्रवेश गर्न नपाइने अवस्था रहेकाले अन्य प्रवेश विन्दुबाट पनि नेपालमा जहाज प्रवेश दिने सम्झौता गर्न आवश्यक रहेको बताए । उनले भारतले सिमरा बाहेकका अन्य नेपाल प्रवेश सीमा बिन्दुबाट जहाज उडान गर्न अनुमति दिए हवाई उडान छोटो हुने हुँदा लागत पनि कम हुने र हवाई भाडा पनि कम हुने अवस्था रहेको बताए ।

उनले भने,‘ भोलिबाट नेपाल र भारतको विदेशमन्त्रीस्तरको संयुक्त बैठक बसिरहेको छ । त्यसमा नेपालको हवाई उड्डयन क्षेत्रको तीन वटा विषयवस्तुहरू छलफल हुन सक्छन् । एउटा विषयवस्तु भनेको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण २०८० जेठको १७ गतेबाट २० गतेसम्म भएको थियो । त्यो भिजिटको बेला भैरहवामा हाम्रो एउटा आइएलएस भन्ने छ, इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम । त्यो इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम भनेको एउटा न्याबिकेसन एड हो । भैरहवामा लो भिजिटी भएको बेलामा जहाज ल्यान्डिङको लागि आवश्यक एउटा इस्टुमेट हो । भैरहवा एयरपोर्ट भनेको बोर्डर नजिकैको एयरपोर्ट भएकाले गर्दा यस्तो इन्स्टुमेण्टहरु सञ्चालन गर्दा खेरी कहिलेकाहीँ नेपाल एयर स्पेस मात्र होइन की इन्डियन एयर स्पेस पनि युज हुने अवस्था भएकाले गर्दा त्यसको लागि हामीले ज्वाइन्ट खालको कन्सेन्स सस भन्छ, जसलाई हामीले एग्रिमेण्ट दुवै देशको एउटा सम्झौता आवश्यक भएकाले त्यसको लागि आइएलएसको लागि एग्रिमेण्ट गर्ने । त्यो एग्रिमेण्ट ज्वाइन्ट टेक्निकल टिम हुन्छ, हाम्रो दुई देशको प्राविधिक भएको त्यो टिमको रिकमेण्डेशन बमोजिम गर्ने भन्ने कुरा थियो । त्यो विषयमा पनि छलफल हुन्छ । एयर रुटको इन्ट्री प्वाइन्टहरू छ । एउटा नेपालगन्ज, एउटा महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरबाट त्यहाँबाट अहिले जहाज जान मात्रै मिल्छ, आउन मिल्दैन । जान पनि मिलेको भए पोखरा र भैरहवामा अप्रे गर्ने जहाजहरूलाई सर्ट एयर रुट हुन्थ्यो । सर्ट एयर रुट भएपछि जहाजहरूको लाग्ने एभिएशन टर्माइन फ्युल हुन्छ, त्यो कम हुन्छ । त्यो कम भएपछि जहाजहरूको अपरेटिङ कस्ट कम भएपछि भैरहवा र पोखराको हवाई भाडा दर सस्तो हुन्छ । त्यसले गर्दा कमर्सियल भायबेरको लागि त्यो पनि जरुरी छ । त्यसमा पनि छलफल हुनसक्छ । त्यसको लागि पनि हामीले लामो समयदेखि इन्डियन अथोरिटीहरुसँग रिक्वेस्ट गरिरहेका छौँ । वान वे रुटलाई टु वे रुट बनाउनको लागि उहाँहरूको एयरस्पेस हुने भएकाले उहाँहरूको पनि सहमति चाहिन्छ । पोखरा र भैरहवाबाट इन्डियन सिटीहरूमा फ्लाइट गर्नका लागि दुई देशको हवाई सेवा सम्झौता बमोजिम मल्टिपल प्वाइन्ट्स अफ फ्लाइट गर्न सक्छौँ । अन्तर्राष्ट्रिय उडानको लागि दुवै देशको सहमति आवश्यक पर्ने भएकाले हामीले पोखरा र भैरहवाबाट इन्डियन सिटीमा फ्लाइट गर्नका लागि इन्डियन अथुरिटीबाट पनि अनुमति आवश्यक भएकाले धेरै एयरलाइन्सहरूको इच्छा जनाइरहेका छन् । उहाँहरूको तर्फबाट उहाँहरूको आन्तरिक प्रक्रियामा होला । हामी ढिलो भए पनि प्रमिसन आउँछ भन्नेमा विश्वस्त छौँ । त्यो विषयवस्तुमा पनि भोलिको ज्वाइन्ट काउन्सिल मिटिङ छ, त्यो मिटिङमा छलफल हुन्छ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जडान भए पनि सञ्चालनमा नआउँदा जाडो र बर्सातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा अहिले पनि जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ ।

 भारतको चार दिने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा आइएलएस सञ्चालनमा बाटो खुल्यो भने पनि अहिलसम्म सञ्चालनमा आएको छैन । भारतका विदेशमन्त्री एस जयशंकर द्विपक्षीय वार्ताका लागि बिहीबार बिहान काठमाडौं आउँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ