arrow

यात्रा र ज्ञानका ज्योति कृष्णराजको त्यो सम्मान

logo
शीतल गिरी,
प्रकाशित २०८० पुष २१ शनिबार
sheetal-giri-final-2080-09-.jpg

साँझ पर्न अझै बाँकी छ – आज २०६८ साल पुस ७ गते । वरिष्ठ आख्यानकार परशु प्रधान, कृष्णराज कोइराला, निलाम्बर तिमल्सिना र म तिमालको चापाखोरीको गाउँघर घुम्दैछौँ । सिन्धुली जिल्लाको दुम्जामा जन्मिएका कृष्णराज आफ्ना उमेरकाहरूसँग अध्ययन गर्न बनारस नगएर लहडको भरमा २०१४ सालदेखि रामेछाप, सिन्धुली र काभ्रेको कुनाकाप्चामा स्कुल खोल्दै, पढाउँदै जिम्मा लगाउँदै हिँड्ने क्रममा २०१८ सालमा तिमालको चापाखोरीमा स्कुल स्थापना गरी संचालन गरेका रहेछन् । 

संस्थापक शिक्षक कृष्णराज कोइरालालाई ५० वर्षपछि सो राधाकृष्ण विद्यालयले खोजीगरी सम्मान गर्ने कार्यक्रम राखेको हुँदा जिज्ञासावस म सहभागी भएको थिएँ । कृष्णराजले स्कूल सञ्चालन गरेर जनतामा जागरण ल्याउन थालेको त्यस भेगका सामन्तहरूलाई मन परेको रहेनछ । जनताको प्यारा बन्न पुगेका कृष्णराज सामन्तको जालझेलको कारण चार महिनामा नै त्यहाँबाट विस्थापित हुन बाध्य भए पनि आवश्यकताले जन्मिएको स्कुल भने संचालनमै रह्यो । 

अँ त हामीहरू उनै कृष्णराज कोइरालालाई सम्मानित गर्ने कार्यक्रममा साक्षी बस्न सहभागी भएका हौँ । आजै बिहान त हो राधाकृष्ण माविका अध्यक्ष संग्रामजित लामाको साथमा बोलेरोमा चढेर बनेपा, धुलिखेलबाट सिन्धुली जाने बाटो हुँदै सो कालोपत्रे सडक पनि भकुण्डेवेशीमा बिदा गरी उत्तरतर्फको कच्चीबाटोमा गुडेर आइपुगिएको । 

म ऐतिहासिक स्थलको बारेमा सोधखोज गर्छु । सोबारे स्वतन्त्र लेखन गर्छु, त्यसमाथि झन् ऐतिहासिक स्थल कोट तिमालमा हामी चढेको गाडी अडियो । डाँडामा रहेको कोट तिमाल शान्त थियो । 

अपनत्वको वातावरण पाएँ । समयको अभावले गर्दा बल थरका रेन्जिङ दोर्जे तामाङको भग्नावशेष बनेको दरबार मैले अवलोकन गर्न नपाएको हँुदा सो को रुपरेखा यहाँ राख्न सकिन । 

यस तामाङ राज्यलाई रामकृष्ण कुँवरको नेतृत्वमा आएको गोर्खाली फौजले विक्रम सम्वत् १८१९ असोज २ गते नेपाल अधिराज्यमा विलय बनाएको थियो । स्थानीयहरू विगतको इतिहास कथाको रुपमा कहेर आफ्नो पूर्वजहरूलाई सम्झिरहेकै छन् अहिले पनि । 

आज सुन्दा अचम्म लाग्छ । सो समयमा पलाञ्चोकको फेँदीमा मित साइनो लगाउने भनेर रामकृष्ण कुँवरले रेन्जिङ दोर्जेलाई खबर पठाइएको रहेछ— यस घटनालाई पनि ‘युद्ध र प्रेममा जे पनि जायज हुन्छ’ भनेर सम्पूर्ण कर्तुतहरूलाई इतिहासमा सेतो बनाइएको छ । 

के थियो पलाञ्चोकको फेँदीमा ? कोशी किनार चाक्लो थियो । किम्वदन्तीअनुसार त्यहाँको बालुवामा गोर्खालीले पहिलेदेखि नै हतियार लुकाएर राखेको जानकारी नपाएका रेन्जिङ दोर्जे र उनका साथमा रहेका करिब तीन सय जना एकै चिहान भए । तथ्यको साथमा कल्पना यसरी मिसिन पुगेको छ । आज यथार्थ इतिहास पत्ता लगाउन निकै गाह्रो छ । इति वृत्तको क्रम श्रृङ्खला नै जोड्न सकिँदैन । 

सो समयमा तिमाल राज्य मकवानपुरको शेनराज्यको सामन्त (करद) राज्यको रुपमा रहेको र वर्तमानमारहेको मेथीनकोट, कानपुर, सरस्यु खर्क, सरनथली, बोल्दै फेदी चे, ठूलो पर्सेल, पोखरी नारायणस्थान, चापाखोरी, मेच्छे र कटुञ्जे गरी १० गाविस तत्कालीन तिमाल राज्यमा पर्दोरहेछ । 

तिमाल क्षेत्र प्राचीन हो, रमणीय छ, प्राकृतिक सौन्दर्यले धनी छ, इतिहास र लोककथाको खानी छ— अध्येताहरूलाई आकर्षित गर्न सक्षम छ । तर प्रचारको अभावले गर्दा प्रगतिपथमा भने पछाडि छ । लोकले बचाएको इतिहासले भन्छ धोखामा पारी रेञ्जिङ दोर्जेलाई मारिएको पुष्टि भएपछि उनकी रानी कोशी नदीमा फालहालिन् । ती रानी फालहालेर जीवन त्यागेको सुनकोशीको सो दहलाई रानीदह नामकरण गरेर ऐतिहासिक थलोको रुपमा महत्व दिएका छन् । 

मोटरबाट ओर्लिएर रेन्जिङ दोर्जेको दरवारको भग्नावशेष अवलोकन गर्न पूर्वतर्फ उकालो उक्लिएको भए तिमालको इतिहासको जानकारी केही न केही निश्चय नै पाउने थिए । 

सुने अनुसार इतिहासको प्रमाण— गोर्खाली सेनाले जलाएर कोइला पारेको चामल अहिले पनि भण्डाराको ओढारमा छँदैछ । 

हामी स्कुल संस्थापक कृष्णराज सम्मान गरिने कार्यक्रममा हिँडेको हुँदा ऐतिहासिक स्थल कोट तिमाललाई वाई वाई गर्दै मोटरले पूर्वतर्फ हुइँक्यायो । 

म त तिमालको भ्रमण गर्न चाहन्थेँ । मेरो यो इच्छा यस यात्रामा पूरा हुनेवाला थिएन । समयले पनि ११ बजाइकेको हुँदा नारायणस्थानको एउटा होटेलमा मजासँग भात र स्कुसको जराको तरकारी खाएर सन्तुष्टि लिएँ । 

इतिहास भनेको घटनाहरूको क्रममात्र होइन— बौद्धगाथा अनुसार तिमालको भूमि पवित्र भनी ऐतिहासिक कालदेखि मान्यता पाएको छ । तामाङ जातिले पवित्र मानेको तिमाला (बुद्धचित्रमाला–ठेङामाला) तिमालमा मात्र हुन्थ्यो— यसो भनौँ सो पवित्र मालाको नामबाट यो पवित्र भूमि तिमाल बन्न गएको रहेछ — विक्रमको नवौँ शताब्दीका आचार्य पद्य सम्भवको चर्चा नगरेमा तिमालबारे पूर्ण हुन्न । 

यिनै पद्य सम्भवले बौद्ध धर्ममा घोर वामाचार मार्गी वज्रयानमत प्रतिपादन गरेर— बौद्ध भिक्षुहरूलाई विवाह गरी सपत्निक बस्न अनिवार्य गराएर बुद्धधर्मको घट्दो सामाजिक आधारमाथि अङ्कुश लगाउन केही सफलता पनि पाएका थिए । 

यिनले तिमालको याङमेल गुफामा तपस्या गरी योगिनीहरूलाई खुशी पारी बरदान प्राप्त गरी जनतालाई सताउने राक्षसलाई लखेट्दै रोशी साइवा भन्ने ठाउँमा मारेको भन्ने जनश्रुति छ । यिनीप्रतिको जनविश्वासले यानी धर्म इतिहासको खोजले गर्दा भब्य मूर्ति बनाइँदै गरेको देखियो ।

ऐतिहासिक वाममार्गी आचार्य पद्य सम्भवलाई हिन्दूहरू तामाङ ऋषि भनेर आदर गर्छन् — नेपाली बौद्ध संस्कृतिले पद्य सम्भवलाई रिम्पोशे यानी अवतारी लामाको रुपमा सम्मान दिएको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको तिमाल क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने सम्भावनाहरू प्रयाप्त छ । 

सामान्य रुपमा कोट तिमालबाट एक घण्टाको पैदल हिँडाइमा दुई हजार मिटरको उचाइमा रहेको याङमेल गुफालाई स्याहार सम्हार गर्न सके, त्यहाँसम्म जाने ढुङ्गाको  सिँढी बनाउन सके, रेन्जिङ दोर्जेको दरबारको भग्नावशेष र भण्डाराको ओढारको संरक्षण गर्न सके धार्मिक पर्यटक, इतिहास रुचाउने पर्यटक र हिमाल अवलोकन गर्ने पर्यटक तिमाल क्षेत्रमा आउने थिए । 

यतिमात्र होइन शहरको धुलो धुवाँबाट वाक्क भएकाहरूलाई लक्षित गरी मुक्त स्थल निर्माण हुन सके कोलाहलरहीत यस क्षेत्रमा युवापुस्ताले आफ्नो उपस्थिति अवश्य जनाउने थिए । मात्र कमी छ सोच र नेतृत्वको । 

राजनीतिक दुष्परिणामले पीडित नेपालीहरूबीच रोपिएको जात, जाति, भाषाप्रतिको शंका पन्छाएर संयुक्तरुपमा जनताको स्तर उकास्न आ–आपैmँ जुटनुपर्छ । नारायणस्थानमा आकर्षक चैत्यको स्थापना गरिएको छ । सोको अवलोकन गरी पचास वर्षअघि कृष्णराज कोइराला बसेको ऐतिहासिक घरको सोही कोठामा बस्न झोलीझ्याम्टा बिसायौँ । 

पचास वर्षअघि आश्रय दिने घरकै कान्छो छोरा विनोदप्रसाद पाण्डे राधाकृष्ण मावि चापाखोरीको प्रअ छन् अहिले । समय बचेको हुँदा साँझपख सम्भव भएजति अवलोकन गर्न निस्किएका हौँ । 

नेपाल विदेशीहरूको प्रयोगस्थल हो, यसको पीडा चापाखोरीले पनि भोग्दैछ, यहाँ पर्याप्त मात्रामा विदेशी सल्लो लगाइएको छ । 

पहिले पहरा रसाएर घर छेउँमै पानी आउँथ्यो । अहिले सल्लोले पानी सोसेर मूल सुकाइदिएको हुँदा एक गाग्री पानी ल्याउन पनि रोशी या सुनकोशीमा झर्नुपर्छ । 

पानी ल्याउन लाग्ने तीन घण्टाको समय आय आर्जन हुने काममा खर्चिन पाएको भए यहाँका वासिन्दाको स्तर अर्कै हुने थियो । तर विदेशीको प्रयोगले पीडा भोग्दै छन् । यहाँको माटो मलिलो छ, आकाशे पानीको भरमा पनि खेती मौलाएको देखियो । यस्तो राम्रो माटो भएको ठाउँमा विदेशी सल्लाको साटो डालेघाँस या फलफूल अथवा स्थानीय जातको विरुवा रोपिएको भए हुन्थो । 

यस स्थानको नाम चापाखोरी कसरी रह्यो ? यसको पछाडि के कारण छ सो को थाहा पाउन छट्पटाएँ ।

    मेरो जिज्ञासा समाजसेवी सलाम सिंहले साम्य पारिदिए — विद्यालयले ओगटेको क्षेत्र उहिल्यै खर्क रहेछ, जाडो छल्न भेँडीहरू बेसीमा चराउन ल्याउँदा यहाँ बास राख्दा रहेछन् । खर्कको बीचमा विशाल चाँपको रुख रहेको कुरा बुढापाकाहरूबाट आफू सानो छँदा सलाम सिंहले सुनेका रहेछन् । सोही चाँपको रुखको कारणले यो ठाउँले चापाखोरी नाम पायो । 

नेपाल शहर प्रवेश गर्ने रोशी नदीको यहीको घाटबाट पूर्व र तराईबाट आउनेजानेहरू तर्नुपथ्र्यो । दानव, राक्षस प्रवृत्तिकाहरू यात्रुलाई “लैनो कि बकेर्नो ?” भनी छुट्याउँथे र व्यवहार गर्थे । त्यसैले यो क्षेत्र बदनाम पनि रहेछ । तर राधाकृष्ण माविका अध्यक्ष सङ्ग्रामजित लामा जस्ताको व्यवहारले वर्तमान भने उज्यालो छ । उज्यालो मन पराउने मेरो हृदयले स्वतस्फूर्त रुपमा प्रशंसा गर्दछ । सङ्ग्रामजित र सलामसिंह तामाङमात्र होइनन् तिमालको स्वरुप परिवर्तन गर्ने अगुवा हुन कृष्णराज । उनले २०१८ सालमा बालेको शिक्षाको दियो अहिले तिमालभरी झिलमिलाउँदै छ ।
 
सलाम र सङ्ग्रामको प्रयासले गाउँभर बिजुली पाएर मुस्कुराएको थियो— पत्रिकामा पढेअनुसार अहिले चापाखोरीलाई सुनकोशीको पानीले भिजाउन सफल भएका छन् । 

राति आराम गरी भोलिपल्ट बिहान यानी ८ गते प्रभात भ्रमण गर्दै जादा कुरुवासमा पुग्यौँ । जतिखेर हिमालबाट जाडो छल्न र चराउन यहाँ भेँडी ल्याइने गरिन्थ्यो, कुरुवाहरू भोटेकुकुरको भरमा खर्कमा भेडी छाडेर बास बस्ने गरेको थलो रहेछ— कुरुवास । 

सुनकोशी र रोशी सङ्गमको यस भूभागमा सार्वजनिक यातायात उपलब्ध छ — सडक कालोपत्रे नभए पनि— दूध सङ्कलन केन्द्र छ । संचारको सुविधाबाट पनि तिमाल क्षेत्र विमुख छैन ।

यस दृष्टिले हेर्दा आधुनिकतातिर पाइला सार्दैछ । इतिहासले प्रतिष्ठा प्राप्त गरेको साक्षी बस्न पाएँ, राम्रा मानिसहरू अझ पनि छन्, राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्छ भन्ने सोच भएका मानिसहरू भएको हुँदा नै संस्थापक शिक्षक कृष्णराज कोइराला अभिनन्दित भए । 

यस्तो अभिनन्दनले इतिहास मर्दैन भन्ने कुरोलाई पुष्टाइदिएको छ । निस्वार्थ रुपमा ५० वर्षअघि गरेको सुकर्मको फल प्राप्त भएको हो सो अभिनन्दन । अभिनन्दित ब्यक्तित्व कृष्णराजले तामाङ भाषामा गीत गाउँदा गाउँलेहरू नाचेको— आयोजकले पञ्चेबाजाको साथमा गाउँ भ्रमण गराएको कुरो म बिर्सन सक्दिन । 

संस्थापक कृष्णराजको सम्मान गर्न सिङ्गै चापाखोरी सहभागी भएको थियो— यो सत्य हो असल काम गर्नेले सम्मान तब प्राप्त गर्छ जब असल मान्छेले यथार्थ बुझ्दछ । 

विद्यालयका अध्यक्ष सङ्ग्रामजित नम्र र असल छन् त्यसो भएको हुँदा नै पचास वर्षअघि विद्यालय स्थापना गरी चार महिनामात्र पढाएका व्यक्तिलाई भूइँपताल खोजी गरी विराटनगरबाट ल्याएर सम्मान गरे । पचास वर्षअघि यिनै सङ्ग्रामजितका बाबु टिकाराम तामाङले विद्यालय स्थापना गर्न भौतिक र नैतिक सहयोग गरेका रहेछन् । सोही विद्यालयमा क ख ग.... पढेको छोरा सङ्ग्रामजित २०४४ सालमा एसएलसी उत्तीर्ण हुँदा खुशीले टिकारामले आँशु खसालेका थिए ।
 
राधाकृष्णले स्कुल नखोलिदिएको भए छोराले पढ्न पाउँदैनथ्यो भनेका रहेछन् । छोराले ज्योती पुञ्ज कृष्णराजलाई सम्मानित गरेको धार्मिक विश्वासअनुसार बुद्वलोकबाट पिता टिकारामले हेरिरहेको हुनुपर्छ । (२०६८ सालको यो प्रसङ्ग अहिले केही फेरिएको हुनसक्छ) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ