arrow

राष्ट्रिय सभा निर्वाचन

हिजो बस्न नसकेको कांग्रेस बैठक आज बस्दै, राष्ट्रिय सभा उम्मेदवार छान्दै

‘ल्याटरल इन्ट्रि’ गराएर राख्ला देशको गरिमा कि अझै पनि झोले र चाकडी गरेर नथाक्नेहरुलाई नै बनाउला उम्मेदवार ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बैठक बस्न लागेको हो । हिजो बस्ने भनिएको बैठक सत्ता गठबन्धनबीचको बैठक निष्कर्षमा पुग्न नसकेपछि आजका लागि सारिएको हो । 

बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभामा हुने १९ सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्नु हो । राष्ट्रपतिले मनोनित गर्ने १ जनासहित २० जनाको पदावधि फागुनमा सकिँदैछ । 

त्यसअघि माघ ११ गते १९ जनाका लागि निर्वाचन हुँदैछ । कांग्रेस सत्तागठबन्धनमा भएकाले यसपालि पनि चुनावी तालमेल हुँदैछ । तर कांग्रेसले कति सिट पाउने भन्ने अझै यकिन भएको छैन । खाका बनेको भए पनि अन्तिम निर्णय गर्न बिहान फेरि बैठक बस्दैछ । 

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि समेट्नु पर्नेमा जोड दिए पनि त्यो असफल भएपछि अब २० सिट सत्ता गठबन्धनले नै बाँड्ने छन् । तर गठबन्धनमा समावेश भएका सबै दलले हैसियत भन्दा माथि गएर भाग खोजेपछि भने सिट बाँडफाँडमा समस्या देखिएको छ । 

एमालेले गत शुक्रबार मात्रै १९ जना नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धनलाई भागबन्डामा सजिलो भएको भनिए पनि माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा माथि गएर सिट मागेपछि कांग्रेस र माओवादीलाई समस्या भएको छ । 

गठबन्धन हुँदा यसअघि जुन दलले जति सिट जितेको थियो त्यति पाउने र एमालेको ९ सिटमा भागबण्डा गर्ने पुरानो सहमति रहे पनि त्यसलाई कुल्चेर नेकपा एस, जसपा लगायतका दलहरुले बढी सिट खोजेका छन् । 

शनिबार रातिको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ तथा जसपाले १ सिट पाउने भनिए पनि एसले असहमति जनाएको छ । अन्य दलको भूमिका के हुन्छ भन्ने पनि अन्योल देखिएको छ । 

यद्यपि एमालेले भने गठबन्धनभित्रै खेल्न खोजिरहेको छ । 

यो परिस्थितिबीच कांग्रेसले आज कस्तो निर्णय गर्छ भन्ने पाटो महत्वपूर्र्ण रहेको छ । 

उम्मेदवार छान्न पार्टीले बनाएको मापदण्ड
कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीबाट उम्मेदवार छनोट गर्दा अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । 

बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा पार्टीका योगदान दिएका तर अहिलेसम्म कहिँ कतै अवसर नपाएकालाई र ल्याटरल इन्ट्रिमा गएर योग्य मानिसलाई ल्याउन जोड दिइएको थियो । 

केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताए । उनका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताए । 

कस्तो हुनुपर्छ मापदण्ड ? 
कांग्रेसले बनाउनु पर्ने मापदण्डको सूत्र छ । यसका लागि पहिले राष्ट्रिय सभाको महत्व बुझ्नु जरुरी छ । 

राष्ट्रिय सभा सबैभन्दा पहिले बेलायतबाट हाउस अफ लर्डस भनेर शुरु भएको हो । त्यहाँ शुरुआतमा कुलिन घरानाका मान्छेहरु र धर्माधीकारीहरु सहितलाई लिएर आइन्थ्यो । त्यसैगरी बौद्धिक वर्गका मानिसहरुलाई पनि लिएर आइन्थ्यो । 

त्यसपछि वेष्ट मिनिस्टर शैलीकै भनेर अन्य देशहरुमा कतिपय ठाउँमा धर्माधीकारीहरु नै ल्याइन्छ भने धेरैजसो ठाउँमा बौद्धिक वर्गहरु नै ल्याइने गरिन्छ । 

राजनीतिमा पनि त्यस्तो किसिमका बौद्धिक र अनुभवी विज्ञहरु नै हुने गर्दछन् । भारतमा पनि त्यो अभ्यास छ । केही राजनीतिज्ञ त हुन्छन् नै । 

जस्तो प्रधानमन्त्री नै बन्नुपर्ने मान्छे चुनावमा भएन भने पार्टीको नेता अपरहाउसमा आएर प्रधानमन्त्री बनेका पनि छन् । 

तर नेपालमा राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न पाइँदैन । भारतमा राजनीतिक मूलधारका लिएर आउँदा पनि आईके गुजराल, मनमोहन सिंह अपरहाउसमा आएका थिए । 

अब कांग्रेसले पनि यही धार पकड्नु जरुरी छ । पार्टीका कार्यकर्ता कुनै विषयका विज्ञ हुन् र उनीहरुले पनि केही गर्न सक्छन् भने तिनीहरुलाई पनि समेट्नु जरुरी छ । 

तर पछिल्लो समय जसरी ‘ल्याटरल इन्ट्रि’ मा विश्वभर नै चर्चा भइरहेको छ त्यसरी नै नेपालको राष्ट्रिय सभामा पनि ल्याउन सक्ने हो भने संसदको गरिमा बढ्ने छ । 

प्रतिनिधि सभाका जस्तै सांसदहरु आउने हो भने त्यसले राष्ट्रिय सभालाई पनि बिगार्ने निश्चित छ । 

यसरी मूलधारको राजनीतिमा कार्यक्षमता नभएका मानिसहरु आउँदै जाने र काम पनि हुन नसक्ने हो भने त्यसले ठूलो दुर्घटना निम्त्याउँछ नै । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग मिलेर सरकार चलाउँदा अनुभवी पूर्व अर्थमन्त्रीहरु हुँदासमेत उनले पूर्व गभर्नर डा. युवराज खतिवडालाई बनाए ।

त्यसरी नै खोज्नु जरुरी छ । भलै खतिवडाको कार्यकाल कस्तो भयो त्यो जगजाहेर छ । तर काम गर्न खोज्ने र भिजन भएकालाई राष्ट्रिय सभामा ल्याउने हो भने देशको गरिमा पनि रहने छ । 

केही दिनअघि भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीबाट मन्त्री भएका आठ जना मन्त्रीहरुलाई गरेका राम्रा आठ काम सुनाउन भन्दा कसैले पनि सकेनन् । अर्थात् केही काम नै भएको छैन । 

कम्तीमा राष्ट्रिय सभामा सक्षमहरुलाई लिएर जाने हो र ल्याटरल इन्ट्रि दिने हो भने त्यस्तालाई मन्त्री बनाउँदा कांग्रेसलाई त फाइदा हुन्छ नै समग्र देशको गौरव पनि बढ्न जान्छ । 

अस्तिर राजनीति ठाउँमा आउन सक्छ । जनमानसमा फैलिएको दलहरुप्रतिको वितृष्णा कम हुन सक्छ । 

यसले नै संसदीय गरिमा पनि बढाउन सक्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ