arrow

लोकप्रिय बन्दै थोपा सिँचाइ

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
THOPA-SINCHAI-DROP-IRRITATI.jpeg
सल्यान । व्यावसायिक तरकारी खेतीसँगै किसानहरु थोपा सिँचाइतर्फ आकर्षित हुँदै गइरहेका छन् । 
 
सिँचाइ नभएका ठाउँमा थोपा सिँचाइ निकै प्रभावकारी देखिएको छ । सुक्खापन, वर्षा र शीतबाट बचाउन प्लास्टिक टनेल तयार गरी थोपा सिँचाइ गर्दा थोरै जग्गामा पनि मनग्य फाइदा लिन सकिने किसानको भनाइ छ । सल्यान जस्तो सुक्खा स्थानका लागि थोपा सिँचाइ प्रविधि निकै प्रभावकारी देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
 
जिल्लाका अधिकांश स्थानमा तरकारी खेतीका लागि पर्याप्त पानीको स्रोत नभएकाले पनि थोपा सिँचाइ प्रभावकारी बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका निमित्त कृषि अधिकृत तिलकबहादुर केसीले बताए । 
 
प्लास्टिक टनेलभित्र थोपा सिँचाइ प्रविधि प्रयोगमा ल्याइएपछि आफ्नो उत्पादनमा दुई गुणाले वृद्धि भएको बागचौर नगरपालिका–३ शेरचौरका बमकृष्ण वलीको भनाइ छ । उनले भने,“थोपा सिँचाइभन्दा पहिले पानी बोकेर सिँचाइ गर्न गाह्रो थियो भने दिनभर सिँचाइमै लाग्नुपथ्र्यो तर थोपा सिँचाइ प्रविधि प्रयोग गर्न थालेदेखि समयको बचत हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको छ ।” 
 
व्यावसायिक कृषि खेती गर्दै आइरहेका कृषकले अहिले थोपा सिँचाइ प्रयोग गर्दै आइरहेका छन् । सुरुमा लगानी गर्दा केही महँगो देखिए पनि धेरै समय काम गर्ने भएकाले धेरै सहज हुने गरेको सिद्धेश्वरी–७ ढोरचौरका कुलाराम रेउलेले बताए । 
 
रेउलेले भने “सुरुमा पाँच वटा प्लास्टिक टनेलभित्र थोपा सिँचाइ जोडेर राम्रै आम्दानी भयो, अहिले २५ वटा टनेलमै थोपा सिँचाइ जोडेको छु । थोपा सिँचाइमा लगानी भएको पैसा एक सिजनमा नै उठाइसकेको छु ।” रासस 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ