तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ३, मुसाङखेलका कृषकहरू गाई भैंसी पालेरै आत्मनिर्भर बन्न थालेका छन् । यहाँका अधिकांश कृषकहरुको दैनिकी पूर्ण रुपमा गाईभैँसी पालनतर्फ केन्द्रित हुन थालेको हो ।
उनीहरुले गाउँमा मुसाङ्खेल दुग्ध उत्पादक सहकारी संस्था खोलेर आत्मनिर्भरको बाटो रोजेका हुन् । सो सहकारीमा मात्रै वार्षिक १ लाख ६५ हजार लिटरसम्म दुध संकलन हुने गर्दछ । सहकारीले सन्चालन गरेको दुग्ध संकलन केन्द्रमा दैनिक ४ सय लिटर देखि ५ सय लिटर सम्म दुध संकलन हुने गरेको छ । करिब १ सय २० घरधुरी कृषकहरुले सो संकलन केन्द्रमा दुध जम्मा गर्दै आएका छन् । सहकारीमार्फत ऋण लिई परम्परागत पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक उन्नति गर्न सकिने बुझेपनि उनीहरुले दुध विक्री गरेर मनग्ये आम्दानी गरिरहेका छन् ।
अहिले यहाँका अधिक कृषकहरुको मुख्य आयको श्रोत नै दुध बनेको छ । यहाँका कतिपय विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर गाईपालन थालेका छन् । यसअघि दुई पटकसम्म विदेश गएर फर्किएका यहाँका इन्द्रप्रसाद दाहाल नेपालमा कृषि पेशामा उल्लेख्य सम्भावना रहेको बताउछन् ।
सहकारीको सहयोग पाएपछि विदेश जाने सोच नै हरायो, विदेशमा पनि परिश्रम नै गर्नुपर्छ, त्यही परिश्रम स्वदेशमा गर्ने हो भने मनग्ये आम्दानी हुन्छ, दाहाल भने। दाहालले दैनिक २० लिटर दुध विक्री गर्दै आएका छन् । दाहाल जस्तै अन्य कृषकहरुबाट पनि दैनिक २ देखि २० लिटरसम्म दुध संकलन हुने गरेको छ । यसरी सहकारीले संकलन केन्द्रमा संकलन गरेको दुध धनकुटाको जोरपाटीस्थित दुग्ध चिस्यान केन्द्रमा निर्यात गर्ने गर्दै आएको छ । अहिले सहकारी आफ्नै लगानीमा चिस्यान केन्द्र समेत सन्चालनमा ल्याएको छ ।