arrow

बालिका सामूहिक बलात्कारका तीन आरोपीको १३ दिन म्याद थप, १४ वर्षे बालिका गर्भवती

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
mugu-police-office.jpg
तस्बिर-फाइल

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि ४ महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनामध्ये ३ जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो ।

तीमध्ये ३ जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले २ जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न रहेका ४ जना आरोपी फरार रहेका छन् ।

स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका १ जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ जना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् ।

अन्य ३ जना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन ।

ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रुण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन् ।

चिकित्सकले सोधखोज गर्दा उनले १ युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

सोही युवकले अन्य ६ जनासमेतले बलात्कार गरेको बताएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ