arrow

व्यवहारिक राजनीतिको उत्कृष्ट रचना : शुक्रनीति

logo
डा‍ प्रकाश ढकाल
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
2015_12image_09_32_493124632markandeya_144887849-ll.jpeg
काठमाडौ । शुक्राचार्य प्राचीन भारतीय दर्शनका अत्यन्त महत्वपूर्ण मनिषी हुन् । प्राचीन भारतमा दैत्य सम्प्रदाय स्थापना गर्ने व्यक्तिको रूपमा शुक्राचार्य देखिएका छन् । त्यसैले अलग सम्प्रदाय नै सुरु गर्ने मनिषी शुक्राचार्यको राजनीतिशास्त्रमा महत्वपूर्ण स्थान रहेको कुरा स्वतः सिद्ध छ  । 
शुक्राचार्यले रचना गर्नुभएको कृति शुक्रनीति सार हो । यो ग्रन्थ मूलतः दण्ड नीतिप्रधान ग्रन्थ हो । शुक्रनीतिमा प्रत्येक विषयमा विस्तृत वर्णन गरेको र प्रत्येक विषयको सम्बन्धित सिद्धान्त निरूपण गरिएको छ । समस्त सिद्धान्त उल्लेख गरेपछि व्यावहारिक दृष्टिले कुन सिद्धान्त उपयुक्त सिद्धान्त हो भन्ने पनि उल्लेख गरिएको छ । शुक्रनीति कुनै विशेष विचारधारामाथि आधारित नभएर यसको अन्तर्गत समस्त विचारधाराहरूको शास्त्रीय वर्णन गरिएको छ । 
 
शुक्रनीतिको प्रमुख उद्देश्य खाली प्रचलित विचारधाराहरूको शासनको विश्लेषण गरी राजालाई कुन किसिमले शासन सञ्चालन गर्दा जनकल्याण वृद्धि हुनुका साथै राजा लोकप्रिय हुन्छन् भनी सल्लाह दिनु रहेको छ । शुक्रनीतिलाई हेर्दा हजारौँ वर्ष पहिले पनि राजनैतिक विषयका विचार पनि विकसित भएको देख्दा कसैलाई पनि आश्चर्य हुन सक्छ । शुक्रनीति सैद्धान्तिकभन्दा व्यावहारिक राजनीतिका लागि नै यो रचना भएको पाइन्छ । यो रचना राजालाई शासन सञ्चालन गर्नका लागि परामर्श दिनका लागि लेखिएको र शुक्र राजालाई शक्तिशाली र जनकल्याणकारी बनाउने पक्षमा रहेको कुरा पनि शुक्रनीतिबाट स्पष्ट हुन्छ । 
 
राज्यको स्वरूप
शुक्रले राज्यको उत्पत्ति दैवी तथा सावयवी प्रस्तुत गरेका छन् । उनले राज्यलाई ईश्वरद्वारा उत्पत्ति गरेको मान्नुका साथै यसलाई जीवित स्वरूप सरह मानेकाले जसरी शरीरमा विभिन्न अंग हुन्छन् । शरीररूपी सप्तांग राज्यमा राजा शिर ,अमात्य आँखा ,मित्रहृदय, कोषकान,बलमन, दूर्ग हात तथा राष्ट्रलाई खुट्टा मानेका छन् । राष्ट्ररूपी गोडाको अभावमा राज्यरूपी शरीर रहन सक्दैन भन्ने शुक्रको धारणा देखिन्छ । त्यसैले राष्ट्रलाई सप्तांगमा सबभन्दा महत्वपूर्ण र राज्यको आधार मानेका छन् । शुक्रनीतिमा राज्यलाई शरीरको रूपमा मात्र नभएर रूखको रूपमा पनि दाँजेका छन् । राज्यरूपी रूखको मूल राजा, काँध मन्त्री, सेनापति हाँगाहरू सैनिक पात तथा फूल, प्रजा फल तथा भूमिलाई बीजको रूपमा मानेका छन् । 
 
राजा
शुक्रले राजाका बारेमा अत्यन्त विषद वर्णन गरेका छन् । शुक्र दैवी सिद्धान्तका पोषक भएकाले राजाको निर्माण इन्द्र, वायु, यम, सूर्य, अग्नि, बरुण, चन्द्र र कुवेर गरी आठ देवताको अंगले बनेको कुरा उल्लेख गरेका छन् । राज्यलाई विभिन्न देवताको योगको रूपमा मानी विभिन्न देवताका उन्नत गुणको सहयोगले राजाको उत्पत्ति भएको कुरा उल्लेख गरेको पाइन्छ । 
 
शुक्रले राजालाई प्रजाका पिता,माता,गुरु,भाइ तथा मित्रका रूपमा प्रस्तुत गरी मानवका निकटवर्तीसम्बन्धीको रूपमा प्रस्तुत गर्नुका साथै यम, कुवेरजस्ता देवताको अंग मानी ईश्वरका निकट मानेका छन् । राजा अनर्थकारी भयो भने प्रजाले राजालाई आफ्नो आचरण बदल्नका लागि चेतावनी दिन सक्छन् । यसरी चेतावनी र देश छोड्ने धम्की दिँदा पनि राजाले आफ्नो व्यवहार बदलेन भने त्यसबेला सो राजालाई गद्दीच्युत गरी उसका कुलका कुनै गुणवान् व्यक्तिलाई राजगद्दीमा राख्ने अधिकार प्रजालाई छ । उनले दुष्ट तथा दुराचारी राजालाई राक्षसको अवतार मानेका छन् । 
 
सप्ताङ्ग सिद्धान्त अनुसार अन्य आचार्यहरूले राजालाई स्वामीका रूपमा महत्व दिएकोमा शुक्रले राष्ट्रलाई महत्वपूर्ण स्थान दिई राजालाई प्रजाका दास बनाएका छन् । शुक्रले राज्यको आधार नै राष्ट्रलाई बनाएका छन् । शुक्रनीतिमा लेखिएको छ – माथिबाट त राजा स्थायी रूपमा छन्, तर
ब्रह्माबाट राजालाई प्रजा पालनार्थ स्वभाव प्राप्त भएकाले उनी प्रजाका दास हुन् । राजाले जनतालाई सेवा गरेबापत तलव प्राप्त गर्दछन् । यसैले प्रजाले उसलाई करको रूपमा तलब दिएकाले राजा मालिक नभएर दास हुन् । शुक्रनीतिमा राजाको नियुक्तिमा पनि प्रजाको सहमति आवश्यक ठानिएको छ । प्रजाले चाहेको व्यक्तिमात्र राजा हुन सक्ने कुरा यस सिद्धान्तबाट स्पष्ट छ ।
 
राजा नियुक्ति गरिँदा प्रजाको प्रत्यक्ष राय लिइने गरिन्थ्यो । यदि प्रजा नयाँ राजाको विरुद्धमा भएमा उसलाई नियुक्ति गरिँदैन थियो भन्ने देखिन्छ । पुरोहितलाई अयोग्य राजालाई हटाइ जनताको अनुपातबारे योग्य राजाको नियुृक्ति गर्ने अधिकार थियो । यसरी शुक्रले राजालाई स्वेच्छचारी नबनाई वैधानिक बनाएको कुरा पनि महत्वपूर्ण छ । शुक्राचार्य संवैधानिक राजतन्त्रको पक्षमा रहेको कुरा स्वतः स्पष्ट छ । त्यसबेला गणतन्त्रको व्यवस्था थिएन । त्यसैले सरकारका स्वरूप राजतन्त्रात्मक थियो । तर शुक्र राजालाई अन्य मनिषीहरूले जस्तै शक्तिशाली, निरंकुश तथा तानाशाही बन्नबाट रोक्न चाहेको र यो कुरा उनको शुक्रनीतिबाट स्पष्ट भएको छ । उनी वास्तवमा कानुनी राज्यको सूत्राधारको रूपमा रहेको देखिन आउँछ । 
 
राजाको कर्तव्य 
राजाले राज्यका विभिन्न अंगहरू देश, सेना आदिमा परस्पर एकत्व स्थापना गर्नुपर्छ, यसो नभए राज्यको शीघ्र अधोगति हुन्छ । शुक्रले दण्डलाई विशेष महत्व दिएका छन् । राज्यको दण्डको डरले व्यक्ति उचित कार्य गर्छ  । राजदण्डको डरले नै स्वधर्म स्वरूप तपको वृद्धि हुन्छ । त्यसैले राजाले जनतालाई स्वधर्ममा लगाउनुपर्छ । स्वधर्मले तेज प्राप्त हुन्छ भन्दै राजालाई दण्ड प्रयोग गर्न सल्लाह दिएका छन्  । राजा आफ्नो कठोर स्वभाव र दण्डद्वारा नै प्रजालाई धर्ममा लगाउन सक्छ, राजा प्रजाको धर्मको प्रेरक हो ।
 
शुक्रले राजाका लागि आठ कर्तव्य निर्धारण गरेका छन् । यसमा दुष्टलाई दण्ड दिनु, प्रजाको परिपालन गर्नु, राजसूय यज्ञको आयोजना गर्नु, न्यायपूर्ण ढङ्गले कोषको वृद्धि गर्नु , राजाहरूबाट कर प्राप्त गर्नु , आफ्नो राष्ट्रको उन्नति गर्नु , शत्रुहरूको नाश गर्नु तथा भूमि प्रवद्र्धन गर्नु हो । विषयको लालचले इन्द्रियलाई विषयप्रति प्रेरित गर्ने भएकाले राजाले प्रयत्नपूर्वक इन्द्रिय तथा मनलाई वशमा राखी जितेन्द्रिय बन्नुपर्छ । 
 
एकमात्र इन्द्रिय विषय आशक्त पारेमा त्यो नै विनाशका लागि पुग्छ भने पाँच इन्द्रिय विषयाशक्ति भएमा छिटै पतन हुन्छ । राज्यको योग्यताको रूपमा राजा बुद्धिमान र विभिन्न समस्या बुझ्ने क्षमता भएको हुनुपर्ने कुनै समस्याका बारेमा विचार गरी उचित निर्णयमा पुग्न सक्ने क्षमता हुनुपर्नें , आफ्ना इन्द्रियमाथि नियन्त्रण गर्न सक्ने हुनुपर्ने तथा कुनै प्रकारका प्रलोभन तथा प्रभावबाट आफ्नो जिम्मेवारीबाट विमुख नहुनु हुने पनि उल्लेख गरी राजालाई कर्तव्य निर्वाह गर्ने क्षमतायुक्त बनाएका छन् ।
 
राज्याधिकारी
शुक्राचार्यले राजाको पदलाई केही ठाउँमा पैत्रिक मानेको देखिन्छ । यस सिद्धान्तअनुसार पितापछि उसका छोराले नै राजाको पद प्राप्त गर्दछ भन्ने नै हो । यदि राजाका कामले राज्यमा अधार्मिकता तथा जनतालाई कष्ट हुन्छ भने यस्ता राजाप्रति कुनै सम्मान प्रदर्शित नै गरिराख्नु आवश्यक छैन । 
यस्ता राजालाई हटाएर उसको ठाउँमा कुनै अर्को व्यक्तिलाई राजा बनाउनु पर्दछ भन्ने शुक्राचार्यको सिद्धान्त देखिन्छ । साथै शुक्रले राजाको नियुक्तिका लागि ज्येष्ठताको सिद्धान्त पनि प्रतिपादन गरेका छन् । यस सिद्धान्त अनुसार राजाको मृत्यु भएपछि उसको जेठो छोरालाई मिल्दछ । यस सिद्धान्तमा पिताको आत्मा पुत्र निहित हुन्छ भन्ने भावना रहेको छ । शुक्राचार्यले स्पष्टरूपमा राजपरिवारको जेठो छोराले नै सिंहासन पाउनुपर्दछ, उसको जेठो छोरो राजा बन्न योग्य हुन्छ भनेका छन् । 
 
शुक्राचार्यका अनुसार राज सिंहासन अपांग व्यक्तिले प्राप्त गर्न सक्दैन, त्यसैले जेठा दाजु बहिरो, कोर लागेको, अन्धो वा नपुङ्सक छ भने त्यस्तो अवस्थामा उसको सानो भाइ सिंहासनको अधिकारी हुन सक्छ । यस सिद्धान्तमा शारीरिक दोष वा असक्तता सिंहासन प्राप्तिका लागि बाधक मानिएको छ । 
 
शुक्राचार्यले राजाको चरित्रलाई पनि अत्यन्त बढी महत्व दिएका छन् । त्यसैले राजालाई नियुक्ति गर्न अगाडि राजाको चारित्रिक योग्यताबारेमा पनि ध्यान दिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको छ । चरित्र ठीक नभएका व्यक्तिलाई राजा बन्न लायक मानेको छैन । शुक्रनीतिमा राजाको नियुक्तिका लागि प्रजाको सहमतिलाई पनि आधार मानिएको छ । यस सिद्धान्त अनुसार प्रजाले चाहेको व्यक्ति नै राजा हुन सक्छ । शुक्रनीति सारबाट राजपदको नियुक्तिका लागि प्रजाबाट प्रत्यक्ष सहमति प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी पाइन्छ । 
 
मन्त्री 
राजालाई विधिको अधिनमा राख्ने पक्षमा भएको कारणले मन्त्रिपरिषद्लाई महत्व छ । राजा स्वयं जतिसुकै निपुण तथा विषयको ज्ञाता भए पनि राजाले सबै कार्य मन्त्रीहरूको सल्लाहले मात्र गर्नुपर्छ । राजा सबै विद्वान्हरूमा निपुण किन नहोस् राजा स्वयं उत्तम परामर्शवेत्ता किन नहोस्, उसले अनेक मन्त्रीहरूबिना कुनै राजकीय विषयमा चिन्तन गरिनु हुँदैन । राजाले कहिले पनि आफ्नो विचार अनुसार काम गर्नु हुँदैन । काम गर्दा विभिन्न व्यक्तिको सल्लाहबाट मात्र गर्नुपर्ने कुरा स्पष्ट गरेका छन् । यस्ता व्यक्तिमा सभा (मन्त्रीमण्डलको अध्यक्ष), अधिकारी (विभागको अध्यक्ष) तथा प्रकृतिसँग परामर्श लिनुपर्ने उल्लेख गरेका छन् । प्रकृति भनेका सुमन्त्र, पण्डित, मन्त्री, प्रधान, सचिव, अमात्य, पांग विवाद तथा प्रतिनिधिहरू गरी आठ मानेका छन् । 
 
 राजकोष
राज्य सञ्चालनका लागि कोष वा राज्यको स्रोतको आवश्यक हुन्छ । शुक्रको भनाइ अनुसार कोष राज्यरूपी शरीरको मुखको रूपमा रहेको छ । मुखले खाँदा सारा शरीर पुष्ट भएको जस्तो राज्यकोषमा धन संचित हुँदा सबै कार्यको पुष्टि सम्भव हुन्छ । 
शुक्राचार्यले कोषको उपयोग तीन काममा खर्च गर्ने सल्लाह दिएका छन् । यस्ता काममा सेना राख्नु प्रजाको रक्षा गर्नु तथा यज्ञको अनुष्ठान गर्नु नै रहेको छ । कोष रक्षाका लागि नियुक्त अधिकारीलाई शुक्रले कोषाध्यक्ष भनेका छन् । धन संग्रहमा उद्योगहरूको राज्यद्वारा सञ्चालन, करहरूको व्यवस्था तथा व्यापार आदिका लागि शुल्क नै रहेको छ । साथै राजकोषको क्षयका बारेमा पनि विशेष ध्यान दिएको देखिन्छ ।
 
सप्ताङ्ग सिद्धान्तअनुसार अन्य आचार्यहरूले राजालाई स्वामीका रूपमा महत्व दिएकोमा शुक्रले राष्ट्रलाई महत्वपूर्ण स्थान दिई राजालाई प्रजाका दास बनाएका छन् । शुक्रले राज्यको आधार नै राष्ट्रलाई बनाएका छन् । ब्रह्माबाट राजालाई प्रजा पालनार्थ स्वभाव प्राप्त भएकाले उनी प्रजाका दास हुन् । राजाले जनतालाई सेवा गरे बापत् तलव प्राप्त गर्दछन् । 
 
पुरोहितलाई अयोग्य राजालाई हटाइ जनताको अनुपातबारे योग्य राजाको नियुृक्ति गर्ने अधिकार थियो । यसरी शुक्रले राजालाई स्वेच्छचारी नबनाई वैधानिक बनाएको कुरा पनि महत्वपूर्ण छ । शुक्राचार्य संवैधानिक राजतन्त्रको पक्षमा रहेको कुरा स्वतः स्पष्ट छ  ।  शुक्र राजालाई अन्य मनिषीहरूले जस्तै शक्तिशाली, निरंकुश तथा तानाशाही बन्नबाट रोक्न चाहेका छन् ।  यो कुरा उनको शुक्रनीतिबाट स्पष्ट भएको छ । 
 
 



नयाँ