arrow

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
bird-flue.jpeg
चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । 
 
देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । 
 
सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए । 
 
दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताए । 
 
पोल्ट्रीजन्य पदार्थ बोकेका गाडी धोएरमात्र एकपछि अर्को काम गरिँदै आएको बताउँदै उनले जैविक सुरक्षामा ध्यान दिन सके रोग भित्रिन नपाउने उल्लेख गरे । 
 
नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सबै किसान र व्यवसायीलाई जैविक सुरक्षामा हेलचक्र्यार्इं नगर्न सूचित गरिएको बताए । 
 
पक्षीलाई खुल्ला रुपमा छोडेर नपाल्न, घरपालुवा पक्षीलाई जङ्गली जनावरको सम्पर्कमा जान नदिन र मरेका पक्षी तथा सङ्क्रमित वस्तु जथाभावी नफाल्न सबैमा अनुरोध गरिएको उनले बताए । 
 
व्यवसायीले पक्षीलाई राखेको फार्म नियमित रुपमा निःसङ्क्रमण गरिरहेका छन् भने हाँस तथा कुखुरालाई मिसाएर पाल्न छाडेका छन् । 
 
बिक्रीका लागि बजार पठाएका कुखुरा र कुखुराजन्य पदार्थ फार्ममा फिर्ता ल्याउने क्रम बन्द भएको छ । 
 
ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले भारतीय सीमा क्षेत्रमा अनुगमन गर्न लागेको बताउँदै कुखुरापालक कृषकलाई विगतमा अपनाएका जैविक सुरक्षामा अरु चनाखो हुन आग्रह गरिएको बताए । 
 
पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष शङ्करप्रसाद कँडेलले विगतको बर्डफ्लुबाट पाठ सिक्दै व्यवसायीले जैविक सुरक्षामा विशेष ध्यान दिएका कारण आत्तिनुपर्ने अवस्था नरहेको बताए । 
 
जिल्लामा कुखुराजन्य क्षेत्रमा रु ७५ अर्बको हाराहारीमा लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । 
 
तथ्याङ्क विभागले गतवर्ष गरेको सर्वेक्षणअनुसार चितवनमा ५३ लाख, ६२ हजार ५९१ ब्रोइलर र ४० लाख ६८ हजार ६६५ लेयर्स कुखुरा पालिँदै आएको छ । यो सङ्ख्या नेपालको ब्रोइलर पालनमा १० दशमलव २ र लेयर्समा ५८ दशमलव ९ प्रतिशत हो । 
 
तीन वर्षअघि नेपालमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ