रोल्पा । कुशल राजनीतिज्ञ एंव प्रगतिशिल कवि पुरण क्षेत्रीले शनिबार रोल्पा सदरमुकाम लिबाङस्थित बाचनालयमा एक दर्जन बढी कविताहरु सुनाएका छन् । ललित साहित्य परिषद्, रोल्पाको द्वैमासिक कार्यक्रम अन्तर्गत रहेको एकल रचना वाचन कार्यक्रमको २७ औं श्रृंखलामा क्षेत्रीले आफ्ना रचनाहरु सुनाएका हुन् ।
एकल रचना बाचनका क्रममा क्षेत्रीले ‘कवितामा फुल्ने म भित्रको मान्छे’, ‘म एउटी आमा’, ‘देशले हाम्रो उत्साह खोजिरहेछ’, ‘महोदय ऊ असली माली हो’, ‘हिमशिखरको सिरेटोमा’, ‘युवा तिम्रो खाँचो छ’ जस्ता उत्कृष्ट कविताहरु वाचन गरेका छन् ।
कार्यक्रमको समीक्षा गर्दै साहित्यकार महेन्द्र महकले क्षेत्रीका सबै कविताहरु प्रगतिवादी रहेको बताउँदै उत्तिकै उत्कृष्ट पनि रहेको भन्दै प्रशंसा गरे । साहित्यकार क्षेत्रीका हाल सम्म ‘जलजलाको नूतन सन्देश’, ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ लगायतका कवितासंग्रहहरु प्रकाशित भइसकेका छन् ।
क्षेत्री ललित साहित्य परिषद् रोल्पाको सल्लाहकार समेत हुन् भने उनले साहित्यिक क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न साहित्यिक संघ संस्थाबाट पुरस्कृत समेत भइसकेका छन् । परिषद्का अध्यक्ष लोक आलोकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नारायण जिज्ञासुले गरेका थिए ।