arrow

‘पैसामा भागबण्डा नमिल्दा पुर्नःनिर्माण विद्येयक पारित हुन सकेन’

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Dr.-Sahap.jpg.jpeg
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सभासद एवम् केन्द्रीय सदस्य डा. विरेन्द्र प्रसाद महतोले भुकम्प पीडितको नाममा दातृ निकायबाट आएको पैसामा भागबण्डा नमिल्दा प्रमुख राजनीतिक दलहरुले पूर्नःनिर्माण विद्येयक पारित हुन नदिएको आरोप लगाएका छन् । 

सोमबार सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा सभासद महतोले महाविनाशकारी भुकम्पको मारमा परेका नेपालीहरुको जीवनयापनमा कठिनाई भैरहेको उल्लेख गर्दै पीडितहरुलाई मल्हम लगाउनको लागि सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने ठाउँमा पैसामा भागबण्डा खोज्दा पूर्नःनिर्माण विद्येयक पारित हुन नसकेको स्पष्ट पारे । 

महतोले भुकम्पका वेला सम्पूर्ण नेपालीहरु मानवीयताको नाताले पीडितलाई मल्हम लगाउने काममा सरिक भएको स्मरण गर्दै भने,“त्यतिवेला हामी सबै राष्ट्रिय भावनाका साथ पार्टी, जात, धर्म सबै त्यागेर राहत तथा उद्धार कार्यमा सहभागी भएका थियौं, जब दातृ निकायबाट रकम आउँछ अनि हामी विभाजित हुन्छौं ।”

उनले देशको पूर्नःनिर्माण आफ्नै क्षमताले गर्न नसक्ने भएपनि दाताहरुको सहयोगबाट पीडितहरुलाई राहत पुर्याउनका लागि सबैले आफ्नो हठ त्यागेर लाग्नुपर्ने वेलामा प्रमुख राजनीतिक दलहरु आन्तरिक किचलोमा फसेको समेत टिप्पणी गरे । 

उनले भने,“दातृ निकायहरुले रकम फिर्ता लग्छौं भनेर चुनौती गर्दागर्दैपनि हामी एक भएर विद्येयक पारित गर्न सक्दैनौ भनेपछि यसमा भागबण्डा नमिलेको प्रष्ट हुन्छ, यतिवेला म प्रश्न गर्न चाहन्छु, कहाँ गयो तपाईहरुको मानवियता, राष्टियताको चर्को आवाज ?” उनले अधिकार माँग्नेलाई राष्ट्रघातीको विल्ला भिराउन सिपालु प्रमुख राजनीतिक दलहरु आज पीडितहरु जाडोमा कठ्यांग्रिएर बस्दा पनि टुलुटुल बसेर हेर्ने अनि दातृ निकायबाट आएको पैसामा भागबण्डा मिलाउन व्यस्त हुनेहरु नै विखण्डनकारी र राष्ट्रघाती भएको आरोप लगाए । 

उनले भने,“सत्ताधारी दलहरु पीडित जनताको नाममा आएको पैसा कसरी मिलेर खान सकिन्छ भन्ने खेलमा सरिक छन् ।” सभासद महतोले प्रमुख राजनीतिक दलहरुबाट नेपाली नागरिकमाथि पटक पटक धोका भैरहेको समेत आारोप लगाए । उनले भने, “हामी जनतापनि भ्रष्ट नेताहरुलाई साथ दिन्छौं, आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्न नसक्नेलाई नेता बनाउँछौं, अब पनि गल्ती गर्ने हो भने देश कहिल्यै बन्दैन् ।” जनताले अब भ्रष्ट नेताहरुलाई निरुत्साहित गर्नुपर्ने वेला आएको समेत महतोले स्पष्ट पारे । 

सभासद महतोले मुलुकलाई निकास दिनका लागि सत्ताधारी दलहरु नै उदासिन भएको टिप्पणी गरे । उनले वार्ताको नाममा सत्तापक्षले समय लम्ब्याउने काम गरेको गुनासो गरे । उनले दुवै पक्षले गम्भिर भएर वार्ताबाटै समस्याको समाधान खोज्नतिर ध्यान दिनुपर्ने सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ