arrow

जबजको रडाको

झलनाथको मन एमालेतिरै, माधवसँग सधै कचकच

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
madhav-jhalanath-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) मा जनताको बहुदलीय जनवाद (जबज) को विषयलाई लिएर विवाद उत्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई छाड्न नसकिने प्रस्ट पारेपछि वरिष्ठ नेता झलनाथ खनालले एसभन्दा ठूलो जबज एमालेमा रहेको र एमालेभित्र नै जबजको स्वर ठूलो सुनिने भएकाले त्यहाँ किन नजाने भनेपछि विवाद उत्पन्न भएको हो ।

नेकपा एसको केन्द्रीय परिषद्को बैठकमा यो विषयले ठूलो बहस सिर्जना गरेको थियो । अध्यक्ष नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा पुर्याएको दाबी गरेका थिए । 

जबजलाई छाडे पार्टीको इतिहास समाप्त हुने उनको भनाइ थियो । ‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो । हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौँ । कम्युनिष्टविरोधी अभियान चलिरहेको छ । त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन । त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं । त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो । जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती मान्यता हो’, अध्यक्ष नेपालले भनेका थिए ।

त्यही क्रममा वरिष्ठ नेता खनालले जबज पुरानो नीति र सिद्धान्त भएको बताउँदै त्यसलाई महाधिवेशनमा छिनोफानो गर्नुपर्ने बताएका थिए । पार्टीको महाधिवेशनले नीतिमा प्रष्टता नल्याउने हो भने नेकपा एस समाप्त हुने उनको दाबी थियो । 

‘क्रान्तिको बाटोमा छ्याङ्ग हुने गरी नीति तय गर्नुपर्छ । अलमल भयो भने कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने, हामी कता जाने ? जबज भन्ने हो भने ठूलो जबजमा किन नजाने ? ठूलो जबजवाला त एमाले छ । हामीले भन्दा केपीले भनेको सुन्छन् । यसमा हामी प्रस्ट हुनुपर्छ’, वरिष्ठ नेता खनालले भनेका थिए । 

पार्टी अध्यक्ष माधव नेपालले जबज छाड्नु आत्मघाती हुने बताएका बेला उनको यो भनाइले पार्टीभित्र तरंग उत्पन्न भएको छ । खनालले भने जबजको बाटोबाट नेकपा एस कतै पनि नजाने बताउँदै उनले जबज मान्ने भए लेनिनले किन मानेनन् भन्ने प्रश्नसमेत उठाएको एक सहभागीले बताएका छन् ।

एमालेमै रहँदा पनि खनाल जबजका विरोधी थिए । खनालको नेतृत्वमा आठौँ महाधिवेशन भए पनि उनले जबज स्वीकार गरेको घोषणा गरेका थिएनन् । उनी त्यतिबेला मौन बसेका थिए । 

त्यही बेलाबाट एमाले बहुपदीय प्रणालीमा गयो  । ओलीलाई हराउँदै खनाल कार्यकारी अध्यक्ष निर्वाचित भए  । खनाल र ओली प्रतिस्पर्धामा उत्रिँदै गर्दा नेपालले सर्वसम्मत हुने इच्छा जनाए पनि त्यो सम्भव थिएन । 

अध्यक्षमा खनाल भए पनि जबजको बारेमा उनी मौन रहँदा खास असर परेको थिएन । एमालेबाट विभाजित भए पनि एसभित्र जबजकै विवाद रहेको छ । 

पुस ११–१३ मा ललितपुरमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको एक सूत्रीय एजेन्डा विधान मस्यौदाको छलफलमा पनि जबजको बारेमा विवाद सिर्जना भएको थियो ।  

बैठकमा सम्मानित नेता झलनाथ खनालले केही राजनीतिक विषय उजागर गरेका थिए । उनले राष्ट्रिय महाधिवेशनले पार्टीका कार्यदिशा, नीति, सिद्धान्तका साथसाथै कार्यक्रम, रणनीति, कार्यनीति, मित्र र विरोधी शक्ति, समाजका प्रमुख राजनीतिक अन्तरविरोध, प्रमुख प्रतिद्वन्द्वी शक्ति आदि सबै कुराको निर्क्योल गरेर जानुपर्ने औँल्याएका थिए  । 

‘बहुदलीय जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद जे भने पनि ती हिजोको जनवादी क्रान्तिका कार्यक्रम हुन । जनवादी क्रान्ति नै सिद्धिसकेपछि ती सबै कार्यक्रम कालातीत भइसके । यसकारण अब ती कुराको पृष्ठभूमिमा उभिएर हामीले समाजवादी कार्यक्रम र लक्ष्यलाई लिएर अगाडि बढ्नुको कुनै विकल्प छैन’, उनले भनेका थिए । 

सम्मानित नेता खनालले विषय प्रवेश गराएपछि अध्यक्ष नेपालले पनि सविस्तार व्याख्या गरेर जबज छोड्न नसकिने जनाएका थिए  । 

‘जनताबाट टाढियौँ भने जनताले अस्वीकार गर्छन्  । चुनिनका लागि पनि आवधिक निर्वाचनको प्रक्रियामा सामेल होऊ । यो विचार विश्व कम्युनिस्ट आन्दोलनमा कुन पार्टीले अगाडि सारेको थियो ? हामीले नै सारेका थियौँ, कमरेड मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टीले अगाडि सारेको थियो– जनताको बहुदलीय जनवाद (जबज) । यो हाम्रो पेटेन्ट राइट भएको चिज हो । यसलाई छोड्न, त्याग्न हामी सक्दैनौँ’, नेपालले भनेका थिए । 

नेपाल जबजको राम्रो पक्षलाई अँगाल्दै समाजवादी यात्रामा अगाडि बढ्ने पक्षमा छन् भने खनाल जबज कालातीत भइसकेकाले समाजवादी कार्यक्रम र लक्ष्य लिएर अगाडि बढ्नुपर्नेमा छन्  । 

नेपाल र खनालबीच जबज र समाजवादी कार्यक्रमबारे अन्य सार्वजनिक कार्यक्रममा पनि भिन्न मत रहँदै आएको छ । त्यही विषय राष्ट्रिय परिषद् बैठकमा पनि देखिएको थियो । 

राजनीतिक रूपमा वर्गशत्रु र मित्रशक्ति किटानबारे पनि नेपाल र खनालको फरक धारणा छ । अध्यक्ष नेपाल नेपाली कांग्रेससितको वर्तमान गठबन्धनलाई तत्काल बलियो बनाएर जानुपर्नेमा छन् भने खनाल तत्काल वामपन्थी सहकार्यको पक्षमा छन् । 

नेपालमा रहेका सबै राजनीतिक शक्तिको वर्ग विश्लेषण गर्नुपर्नेमा खनालको जोड छ । ‘प्रत्येक राजनीतिक पार्टीले कुनै न कुनै वर्गको प्रतिनिधित्व गरेकै हुन्छ । यो एउटा सामान्य र अकाट्य विश्वव्यापी नियम हो । तर त्यो निगमको विपरीत कुनै पनि पार्टी विशेषको वर्ग चरित्र छुट्याउन सकिँदैन भन्ने खालको कुरा द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन’, खनालले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ