arrow

माओवादी एकाएक राष्ट्रिय सभा अध्यक्ष लिन अग्रसर, कांग्रेस सशंकित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
prachanda-deuba-dhumbarahi-meet-pm.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलले दाबी गर्ने बताएका थिए । 

गत मंगलबार एकाएक प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीमात्र होइन लिएरै छाड्ने बताएका थिए । ‘उहाँले राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिएरै छाड्ने बताउनु भएको छ’, संसदीय दलमा उपस्थित भएका एक सांसदले भने ‘नेतृत्वले केही सोचेको होला नि !’

माओवादीले प्रधानमन्त्री पद गठबन्धन दलका नेताहरुलाई हस्तान्तरण गरेपछि संवैधानिक परिषदमा माओवादीको रिक्तता रहने भएकाले राष्ट्रिय सभाको अध्यक्ष लिने प्रसङ्ग चलिरहेका बेला संसदीय दलको बैठकलाई सम्बोधन गर्ने बेला जसरी पनि लिइने बताएका थिए । 

बैठकमा अधिकांश सांसदहरुले पनि राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलले दाबी गर्नुपर्ने बताएका थिए । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने सार्वजनिक भइरहेका बेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीले खुलेरै आफ्नो दलको दाबी प्रस्तुत गरेका हुन् । 

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले यसबारे गठबन्धन बैठकमा कुरा राख्ने जवाफ सांसदहरुलाई दिएका थिए ।

कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीको हारसँगै झस्किएको माओवादीका अधिकांश सांसदहरुले संसदीय दलको बैठकमा कांग्रेस गठबन्धनका क्रममा इमान्दार नभएको भन्दै राष्ट्रिय सभा अध्यक्ष लिनुपर्ने बताएका थिए । 

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदै छ । ‘पछिल्लो परिस्थितिले राष्ट्रिय सभा अध्यक्षमा माओवादीले स्वभाविक रूपमा दाबी गर्छ । पछिल्लो समय जुन जस्तो परिस्थिति निर्माण हुँदैछ यसमा हाम्रो दाबी रहने मात्र होइन गठबन्धनमा पनि यसको मूल्यांकन हुने हाम्रो ठम्याइ हो’, माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । 

उनले परिस्थितिको बारेमा व्याख्या गर्न भने चाहेनन् । सरकार गठनको बेला बनेको पुस १० को एमाले–माओवादी समीकरण भत्किएपछि फागुन १२ गते राति प्रधानमन्त्री निवास बालुवाटारमा सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएपछि राष्ट्रिय सभा अध्यक्षको बारेमा नेकपा एकीकृत समाजवादी पनि बलियो दाबीका साथ उपस्थित भएको थियो । 

तर प्रधानमन्त्रीमा तत्काल प्रचण्डलाई निरन्तरता दिँदै बाँकी विषयमा पछि छलफल गर्ने गरी गठबन्धन दलका नेताहरू बालुवाटारबाट बाहिरिएका थिए । 

आलोपालो प्रधानमन्त्री हुने गरी दुई वर्ष माओवादीले सरकार चलाउने, एक वर्ष एकीकृत समाजवादीलाई दिने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको त्यतिबेला नेताहरूले दाबी गरेका थिए । 

यद्यपि यो विषयले परिपक्वता हासिल नगर्दै राष्ट्रिय सभा अध्यक्षमा माओवादीहरु अग्रसर भएका हुन् । अहिले राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल हो । 

माओवादीपछि कांगेस र त्यसपछि एमाले र नेकपा एस रहेका छन् । एमाले र कांग्रेस मिलेको खण्डमा फेरि पनि माओवादी एक्लिन सक्ने संभावना रहेको छ ।

जसले गर्दा माओवादीले मात्रै अध्यक्षको दाबी प्रस्तुत गर्दा यता तेस्रो पार्टीको रुपमा प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री मानेर अघि बढेको अवस्थामा गठबन्धन दलको जग कमजोर हुने अवस्था आउने चर्चा राजनीतिकवृत्तमा चलेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ