arrow

एकीकृत सूचना प्रणाली विकास गर्न गठित कार्यदलले थाल्यो काम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
ministry-home-affairs.jpg

काठमाडौँ। गृह मन्त्रालयद्वारा आपतकालीन सेवाका लागि एकीकृत सूचना प्रणालीको विकास गर्न गठित कार्यदलले काम थालेको छ । 

आपतकालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको सञ्चारसाधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र आवश्यक आपतकालीन सेवा लिन सक्नेगरी एकीकृत सूचना प्रणाली विकास गर्न सरकारले एक हप्ताअघि कार्यदल गठन गरेको थियो । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेका हुन् । 

कार्यदलले पहिलो बैठक बसेर सूचना प्रणाली, कानुनी आधार, विभिन्न निकायले गरिरहेका अभ्यासलगायत विषयमा छलफल गरी कार्यअघि बढाएको संयोजक पाण्डेले जानकारी दिए । कार्यदलमा गृह, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि, सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालयका साथै नेपाली सेना, सशस्त्र प्रहरीका एक-एक र नेपाल प्रहरीका दुई जना प्रतिनिधि रहेका छन् । सूचना तथा सञ्चार विज्ञका हैसियतले विजय गौतम पनि सदस्य छन् । 

तत्कालका लागि एम्बुलेन्स, प्रहरी सेवा र दमकल सेवालाई एकीकृत रुपमा उपलब्ध गराइने गरी प्रणालीको विकास गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बर प्रयोगमा छन् ।

उक्त प्रणालीअन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ । तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने गृह मन्त्रालयले जनाएको हो ।

नयाँ सेवा शुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन् । केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ । आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीसमेत प्रयोगमा ल्याइने जनाइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ