arrow

कांग्रेस केन्द्रीय समिति बैठक

प्रचण्डले नै गठबन्धन भाँड्न कांग्रेसलाई भड्काडन खोजेकोमा अजयबाबुले मागे नेतृत्वसँग जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
ajayababu-shiwakoti-2080-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले केन्द्रीय कार्यसमिति बैठकमा पाँच ओटा विषयलाई उठाएका छन् । पछिल्लो समय चर्चामा देखिएका मुख्य विषयलाई उनले उठाएका हुन् । 

महासमिति बैठकको अजेन्डा तय गर्न बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धनबारे लगाएको आरोप, कांग्रेसको १५ औँ महाधिवेशन, समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको बदलिएको जातीय र धार्मिक चित्र, अहिलेको अटेरी पुस्ता तथा भ्रष्टाचारले प्रजातन्त्र नै जोखिममा परेको विषय उठाएका हुन् । 

पाँच विषयमा यसरी आफ्नो विचार स्पष्टसँग राखे शिवाकोटीले–

प्रचण्डको कांग्रेस गठबन्धनप्रतिको धारणाः 
केन्द्रीय सदस्य शिवाकोटीले प्रचण्डले कांग्रेससँगको गठबन्धनका बारेमा चर्का कुरा गरेको र त्यसले कांग्रेसलाई पनि भड्काउन ऊर्जा प्रदान गरेको निष्कर्षसहित गठबन्धनबारे कांग्रेसको स्पष्ट धारणा आउनु पर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘महासमिति बैठकको पूर्वसन्ध्यामा तीन ओटा प्रस्तावहरुमाथि छलफल गरिराखेका छौँ । यही बीचमा राजनीतिक, नीति र सांगठनिक प्रस्तावहरु आएका छन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धनका बारेमा उहाँको पार्टीको विधान अधिवेशनमा माओवादीका कार्यकर्ता भन्दा चर्को कुरा गरेर जुन अभिव्यक्ति दिनुभएको छ यस बारेमा हाम्रो धारणा के हो ? यस विषयमा उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले प्रचण्डसँग कुरा गरेको मिडियामा मुखरित भएको छ । खासगरी आफ्ना कार्यकर्तालाई खुशी पार्न कार्यकर्ताहरु भन्दा चर्को स्वरमा बोल्नुपर्ने बाध्यताको बारेमा पनि उहाँले बताउनु भएको टिप्पणी पनि मिडियामा आएको छ । प्रचण्ड आफैँ नेपाली कांग्रेसलाई भड्काएर कांग्रेसले पनि यो महासमिति बैठकमा यसका बारेमा थप राजनीतिक टिप्पणी गरोस् भन्नका लागि यो टाइमिङ प्रयोग गर्नुभएको छ भने यस बारेमा महासमितिमा पेश गर्ने अफिसियल डकुमेन्टमा हाम्रो धारणा के हो यो म यहाँ राख्न चाहन्छु र सोध्न चाहन्छु । यसलाई हाम्रो महासमितिको यो डकुमेन्टमा इन्कर्परट गरियोस् भन्ने कुरा पनि आग्रह गर्न चाहन्छु ।’

पार्टीको महाधिवेशन २०८२ मंसिरमै उत्तमः
केन्द्रीय सदस्य शिवाकोटीले २०८४ मा तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले २०८२ मंसिरमा नै पार्टीको १५ औँ महाधिवेशन उत्तम समय भएको उल्लेख गरेका छन् । 

उनले चुनावका लागि दुई वर्षजति कुलिङ पिरियड चाहिने चर्चा गर्दै त्यसका लागि पार्टीको महाधिवेशन दुई वर्ष अगाडि गर्नु नै उत्तम हुने बताएका हुन् । 

उनले भने, ‘२०८२ मंसिर मसान्तभित्र हाम्रो १५ औँ महाधिवेशन गर्ने कुरा आएको छ । २०८४ का तीन ओटा तहका चुनावलाई हेर्ने हो भने यो कुलिङ पिरियड कम्तीमा एक डेढ वर्ष दुई वर्ष चाहिने वाला थियो । त्यसकारण यो टाइमिङ पनि उपयुक्त लागेको छ । त्यही हिसाबले हामीले कार्यान्वयनतर्फ लैजान सकियो भने यो उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ । यो कार्यान्वयन गर्नेतर्फ यो हलले, सँगसँगै महासमिति र सिङ्गो पार्टीपंक्ति यसमा तयार रहोस् भन्ने पनि आग्रह गर्न चाहन्छु ।’

समुदायमा जातीय र धार्मिक चित्रसँगै खतरामा प्रजातन्त्रः
केन्द्रीय सदस्य शिवाकोटीले समुदायमा जातीय र धार्मिक चित्रहरु देखिएको बताएका छन् । आफू समुदायमा कांग्रेस अभियानका क्रममा घुमेका जिल्लाहरुको स्थिति समीक्षा गर्दै उनले यो अवस्था देशैभर रहेको भन्दै यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘समुदायमा कांग्रेसको अभियानका क्रममा म आफू रौतहटमा प्रतिनिधिको रुपमा खटिएको थिएँ । र त्यस वरिपरिका जिल्लाहरु पनि घुम्ने अवसर पाएको थिएँ । त्यो घुम्दैगर्दा केही चित्रहरु देखिएका छन् । तराई मधेसमा चित्रहरु धार्मिक रुपमा बदलिएका छन् । कोशीका चित्रहरु जातीय रुपमा बदलिएका छन् । र अन्य क्षेत्रहरुमा पनि जातीय र धार्मिक चित्रहरु बदलिएका छन् । बदलिएको यो चित्र सँगसँगै जुन ध्रवीकरण हामी देखिरहेका छौँ यो ध्रुवीकरणले सँगसँगै ‘मिडिल स्पेस’हरु खुम्चाइरहेको छ । हामीलाई थाहा छ मिडिल स्पेसमा नै ‘डेमोक्रेसी सर्भाइभ’ गर्छ र डेमोक्रेसी सर्भाइभ गर्ने कुरा मिडिल स्पेस कमजोर हुँदै गयो भने डेमोक्रेसी पनि ‘श्रृंक’ हुन्छ । खुम्चिन्छ । यसले अप्ठेरो पार्न सक्छ । यसबारेमा एकपटक यो महासमिति बैठकले यसलाई ध्यान दिनुपर्ने अवस्था छ ।’

अटेरी पुस्तालाई सम्बोधनः
नेता शिवाकोटीले पछिल्लो पुस्तालाई अटेरी पुस्ताको संज्ञा दिँदै यो पुस्तालाई सम्बोधन गर्नुपर्ने जरुरी रहेको उल्लेख गरेका छन् । 

प्रजातन्त्र जोगाउने नै यही पुस्ताले भएकाले यो अटेरीतन्त्रलाई कसरी सम्बोधन गर्ने भनी समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘पछिल्लो समयमा अटेरी पुस्ताहरु जन्मिरहेको छ । डेमोक्रेसी बचाउने भनेको यो अटेरीतन्त्र पुस्ताले अवलम्बन गरिरहेको अटेरीतन्त्रले हो । अटेरीतन्त्रमा ‘इन्जोए’ गर्ने अटेरी नयाँ पुस्ताका साथीहरुलाई सम्बोधन गर्ने गरी कसरी अगाडि बढ्छौँ भन्ने पनि यो नीतिगत निर्णय गर्ने फोरम मार्फत ध्यान दिन जरुरी छ ।’

भ्रष्टाचार र कुशासनः
नेता शिवाकोटीले आम नागरिक अहिले भ्रष्टाचार र कुशासनदेखि रिसाइरहेको भन्दै भ्रष्टाचार कुशासन रहेसम्म प्रजातन्त्र पनि खतरामा पर्ने भएकाले यो विषयलाई जतिसक्यो छिटो सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले कुनै पनि काम गर्दा शुरुदेखि अन्तिमसम्म कमिशन दिनुपर्ने बाध्यताले गर्दा यस्तो गलत प्रणालीलाई तत्काल बाहिर ननिकाल्ने हो भने प्रजातन्त्र खतरामा पर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गरेका हुन् । 

उनले भने, ‘आफू वरिपरि भएको भ्रष्टाचारलाई देखेर आम नागरिक सबैभन्दा धेरै रिसाइरहेको छ स्थानीय तहदेखि केन्द्रसम्म । प्रत्येक तहका नागरिकहरुको कुरा सुन्दा खासगरी समुदायमा कांग्रेस जाँदैगर्दा कार्यक्रम निकाल्नु अगाडि सरकारी संयन्त्रमा पहिले नै कमिशन दिनुपर्ने र अन्तिम निकासा दलको अगाडि निकाल्दा अन्तिममा पनि कमिशन दिनुपर्ने । कमिशनको चक्करबाट जबसम्म हामीले यो सिष्टमलाई बाहिर निकाल्न सक्दैनौँ डेमोक्रेसी यही नाममा खतरामा पर्नेछ । अहिले सबैभन्दा बढी आक्रमण भ्रष्टाचार र कुशासनको विषयलाई लिएर भइरहेको छ । यो आक्रामण बढ्छ भन्ने कुरालाई पनि ध्यान दिनु जरुरी छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ