arrow

सामसुम हुँदै बालकुमारी घटना

माधव नेपालले गृहमन्त्री र श्रममन्त्रीको राजीनामा मागेपछि ज्वालाको दोष चोखिँदै

प्रतिवेदन मन्त्रालयले अझै सार्वजनिक गरेन, यातायात मन्त्री ज्वाला दोषी भएको गृहमन्त्रीबाटै सन्देश सम्प्रेषण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
prachanda-deuba-madhav-2080.jpg

काठमाडौँ । गत पुस १३ गते दुई जनाको ज्यान लिएको ललितपुर बालकुमारी घटनाको प्रतिवेदनका कारण सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादी बिच्किएको छ । 

श्रममन्त्री र उपप्रधान तथा गृहमन्त्रीको दोषलाई लुकाएर समाजवादीका मन्त्रीलाई मात्र दोष देखाएको भन्दै नेकपा एसले सत्ता गठबन्धनभित्र नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेको छ । 

सोमबार र मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा साझेदार नेकपा (एस) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललितपुर घटनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित श्रममन्त्री शरद्सिंह भण्डारीको राजीनामा मागेपछि यो प्रकरणमा कारबाही गर्ने भन्दा पनि थामथुम पारेर दोषीलाई उम्काउन खोजिएको छ ।

बालकुमारी घटनामा आफ्नो पार्टीबाट गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही हुने सम्भावना देखेपछि अध्यक्ष नेपालले गृहमन्त्री श्रेष्ठ र श्रममन्त्री भण्डारीको राजीनामा पनि मागेका थिए । 

उनले उक्त दुवै दिनको बैठकमा आफ्नो अडानलाई कायमै राखेका थिए । दुई मन्त्रीले राजीनामा दिएपछि मात्र प्रकाश ज्वालाले राजीनामा दिने अडान लिएको नेकपा एस स्रोतले जानकारी दियो । 

अध्यक्ष नेपालले दक्षिण कोरिया जान पाउने परीक्षाका लागि फारम भर्न नदिने र अप्रिय घटना उत्पन्न गराउने श्रम मन्त्री शरदसिंह भण्डारी र शान्ति सुरक्षा कायम गर्न नसक्ने तथा प्रहरीलाई गोली हान्न बाध्य पार्ने गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने अडान लिएका थिए । 

सोमबार साँझको बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष नेपाल तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक भएको थियो । 

साथै मंगलबार तीन शीर्ष नेताहरुको बैठक भएको थियो । मंगलबारको बैठकमा पनि सोही कुरा नेपालले दोहोर्याएका थिए । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालालाई कारबाही गर्ने संकेत गरेका थिए । 

प्रचण्डले कारबाही गर्ने संकेत गरेपछि नेपाल बालुवाटार पुगेका थिए । छानबिन आयोगले गत शुक्रबारमात्र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्य तथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

बालकुमारी घटनामा प्रहरीको गोली लागी अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएर याताया तमन्त्रीलाई दोषी भएको सार्वजनिक प्रचारबाजी गरिएको थियो । 

प्रतिवेदन भने मन्त्रालयले सार्वजनिक गरेको छैन । यातायात मन्त्री दोषी भएको समाचार सम्प्रेषण भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरूले ज्वालाको राजीनामा मागिरहेका छन् । 

प्रतिनिधिसभामा समेत एमालेसहित अन्य विपक्षी दलहरूले प्रकाश ज्वालाको राजीनामा मागेका छन् । छानबिन अयोगका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल सहितको टोलीले गत शुक्रवार गृहमन्त्री श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । 

उक्त घटनाको जाँचबुझको लागि नेपाल सरकार (मन्त्रिपरिषद्) ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पुस २० देखि काम शुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो । 

आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्यसमेत गरी २९ जनाको बयान गरेर प्रतिवेदन तयार पारिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ