arrow

कुशल व्यवस्थापन तथा राष्ट्रप्रति इमान्दारीका प्रतिक कुलमान घिसिङ्ग

logo
अमरदीप मोक्तान,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
amberdeep-moktan.jpeg
डाडा खर्क ,दोलखा। नेपालमा आजभोली धेरै चर्चा र जनताको स्नेह प्राप्त गर्ने नाम हो विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्ग ।  कुलमान नेपाली जनताबीच एक चमत्कारिक व्यक्तित्वको रुपमा देखिनु भएको छ, अपार जलश्रोतको धनि राष्ट्र नेपालमा लोडसेडिङको प्रहारले त्रस्त भएका जनतामा एक आशाको किरणको रुपमा कुलमान को उदय भएको छ ।
 
 कुलमान घिसिङ्गको दक्षता, अनुभव र राष्ट्रप्रतिको इमान्दारीले के देखियो भने नेपालको बेहाल सहि व्यक्ति सहि स्थानमा नपुग्नु नै रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।  नेपालमा जुन दिन सहि व्यक्तिलाई उचित सम्मानका साथ स्थान दिने परम्पराको निर्माण हुन्छ त्यो दिन देखि नेपाल स्वर्णिम युगमा प्रवेश गर्ने अवस्यम्भावी छ । 
 
पूर्ण रुपमा नभएपनि आज भारतले जुन उचाई प्राप्त गरेको छ त्यसमा सहि व्यक्तिलाई उचित स्थान दिने परम्पराको कारण सम्भव भएको हो ।  स्मरण रहोस् भारतका भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई रिजर्व बैंकको गभर्नरबाट अवकाश पश्चात् उहाँको कार्यकुशलताको मुल्यांकन गर्दै तत्कालिन प्रधानमन्त्री राजिव गान्धीले गैर राजनैतिज्ञ मनमोहन सिंहलाई भारतको अर्थतन्त्र सुधारका निमित्त टपक्क टिपेर अर्थमन्त्री बनाएका थिए । 
 
आज भारतको अर्थतन्त्रमा जे-जस्तो  बढोत्तरी र बदलाव देखिएको छ त्यसको सुरुवात गर्ने श्रेयका हकदार मनमोहन सिंहद्वारा अवलम्बन गरिएको आर्थिक नीतिका कारण नै सम्भव भएको हो । कुशल व्यवस्थापनका कारण लोकप्रिय एवं जनताका आँखाका तारा बनेका कुलमान घिसिङ्गको एक समय यस्तो पनि थियो राम्रा  भन्दा पनि हाम्राको परम्पराले गर्दा कुलमान घिसिङ्ग जस्ता होनहार व्यक्तिलाई अपमान सहनुको साथै अवमुल्यन  गर्दै तत्कालिन  एमाले कोटामा उर्जामन्त्री पद प्राप्त गर्न सफल राधा ज्ञावालीद्वारा ठाडो हस्तक्षेप गर्दै चिलीमे जलविद्युत् आयोजना संचालक प्रमुखबाट कुलमान घिसिङ्गलाई हटाउने निर्णय गरेकी थिइन् । 
 
ज्ञात रहोस् खिलराज मंत्रिमण्डलका उर्जामन्त्री उमाकान्त झाले पनि घिसिङ्गलाई हटाउने निर्णय गरेका थिए तर त्यसको चौतर्फी विरोधका कारण हटाउने निर्णय फिर्ता लिन परेको थियो । चिलीमे जलविद्युत् आयोजनामा नियुक्ति पश्चात् घिसिङ्गले निस्कृय अवस्थामा रहेको उक्त आयोजना लाई गतिशिल बनाउदै शेयर विषयमा रसुवाबासी सँग रहेको विवाद समाधान गरेका कारण बजारमा चिलीमेको शेयरको मूल्य उच्चतामा पुगेको छ । चिलीमेको शेयर मूल्यलाई उच्च सम्म पुर्याउने श्रेयका हकदार कुलमान घिसिङ्ग नै हुन् ।
 
घिसिङ्गले प्राविधिक कार्यक्षमता तथा इमान्दारी पूर्वक सुशासन प्रस्तुत गरेका कारण चिलीमे आयोजनाले अन्तर्राष्ट्रिय प्रमाण चिन्ह तथा लेखा परिक्षण अवार्ड प्राप्त गर्न सफल भएको छ । चिलीमे जलविद्युत् आयोजनाबाट घिसिङ्गलाई हटाउने निर्णयप्रति प्राधिकरणमा कृयाशिल रहेका पाँच ट्रेड युनियनले तात्कालिन एम.डी. रामचन्द्र पाण्डेलाई भेटी घिसिङ्ग को पदावधि थप्न आग्रह गरेका थिए । साथै कम्पनी संचालक तुलसीराम ढकालले उत्कृष्ट कार्य गर्ने घिसिङ्गको पदावधि नथप्नु दुर्भाग्यपूर्ण भएको अभिव्यक्ति दिएका थिए । 
 
घिसिङ्गले चिलीमे संचालक समितिमा उनको पदावधि थप गर्न एजेन्डा समेत पठाएका थिए तर निर्वाचित ४ सदस्य सहित बहुसंख्यक सदस्य घिसिङ्गको पक्षमा भएतापनि पदावधि थप्ने विषय बैठकमा नराखी ४ बर्षे कार्यकाल पूरा भएको बहानामा घिसिङ्गलाई फिर्ता बोलाउने निर्णय गरिएको थियो । सन् २००३ मा सम्पन्न २२ मेगावाटको चिलीमे जलविद्युत् आयोजना ८ वर्ष सम्म कुनै प्रगति हुन नसक्दा चिलीमे जलविद्युत् कम्पनीको संचालकको रुपमा प्राधिकरणले घिसिङ्गलाई पठाएका थिए । 
 
उत्कृस्ट  कार्य गर्दा समेत उर्जामन्त्री राधा ज्ञावालीले कुलमान घिसिङ्गलाई पुरस्कृत गर्नुको सट्टा घिसिङ्गप्रति कठोर निर्णय किन गरेकी हुन् बारे भन्नु पर्दा नेपालमा आएको परिवर्तनलाई अंगिकार नगर्नु एवं कानुनी राज्यको उपहास गर्ने परम्पराको साथै जस्तो सुकै सिद्धान्तका कुरा गरिएता पनि पुरातन मानसिकताको धंगधंगी यथावत कायम रहनु नै मुख्य हो ।
 
नेपाल विकासको गतिमा द्रुत गतिले हिड्न नसक्नुको कारकतत्व  कुशल व्यवस्थापन एवं इमान्दारीको अभावले नै रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् कुलमान घिसिंङ्ग । घिसिंङ्ग त एक प्रतिक मात्र हुन् यदि नेपालको राजनीति देखि राष्ट्रलाई विकास गर्ने कानुनि राज्यको स्थापना गर्न सक्ने महत्वपूर्ण निकायमा कुलमान जस्तै होनहार राष्ट्र भक्तहरुलाई छानी-छानी पदस्थापन गर्न सकिए नेपाल विकासशील राष्ट्रमा सुचिकृत हुन् सक्ने अवस्यम्भावी छ तर दुर्भाग्य राज्यको बागडोर सम्हालेर बसेका नेताहरु राष्ट्र भन्दा पार्टी ठुलो भन्ने मानसिकताबाट उठ्न नसक्नुको कारण नेपाल गरिब एवं निरिह राष्ट्रमा परिणत भएको छ । 
 
नेपाल सानो देश भएता पनि कुनै कोणबाट गरिब एवं निरिह छैन नेपाल गरिब एवं निरिह हुनुमा राज्य हाक्ने नेताहरुको दरिद्र मानसिकता नै प्रमुख कारण  हो ।  इमान्दार र बहादुर नामले  विश्व प्रसिद्धि प्राप्त गरेका नेपाली जनता इश्वर प्रदत सम्पूर्ण कुरोले परिपूर्ण भएर पनि कहिले सम्म निरिह एवं कम्जोर  भएर बस्ने ? नेपालका असफल तथा अदुरदर्शी नेताहरुले नेपाल राष्ट्लाई कहिले पनि सबल बनाउन सक्दैनन् भन्ने कुरा क्रमश: प्रमाणित भएको छ ।
 
नेपाललाई समृद्ध एवं शक्तिशाली राष्ट्र बनाउन राष्ट्रभक्त नेपाली जनताले दरिद्र एवं दास मानसिकता बोकेका नेताहरुलाई बहिस्कृत गरी राष्ट्रभक्त द्रिढ इच्छाशक्ति युक्त इमान्दार दुरदर्शी व्यक्तित्वहरुलाई उचित सम्मानका साथ उचित स्थानमा पदस्थापन गर्नुपर्ने वर्तमान समयको मागप्रति केन्द्रित हुन् अत्यन्त जरुरि छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ