arrow

इलाम २ उपनिर्वाचन

एमालेले सहमतिमै उम्मेदवार छान्न थाल्यो कसरत, कांग्रेसलाई छैन हतारो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
upanirwachan-2081.jpeg
तस्बिर – फाइल ।

इलाम । इलाम २ को उपनिर्वाचनको तिथि नजिकिदै गर्दा दलहरुको सक्रियता बढ्दै गएको छ । गत भदौ २६ गते संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ ।

नेम्वाङ निधन हुँदा एमालेका उपाध्यक्ष पनि थिए । उपनिर्वाचनका लागि एमालेले तयारीलाई तीव्रता दिएको छ । पार्टीका उपाध्यक्ष जो राष्ट्रपतिका समेत दावेदार थिए उनको निधनपछि हुन लागेको उपनिर्वाचनमा बिना कुनै हिच्चिचाहट पार्टीले उनकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउन सक्ने थियो । यसअघिको पदचाप र परम्परालाई तोडेर एमालेले सहमतिमा उम्मेदवार छान्नका लागि भ्याकेन्सी खोल्यो । उसले भ्याकेन्सी खोलेपछि सोअनुसार एमालेका ६ जनाले उम्मेदवारीका लागि निवेदन दिएका छन् । 

एमालेले बनाएको उम्मेदवार छनोट समितिले आकांक्षीलाई आइतबार साँझसम्मको समयसीमा दिएकामा ६ जनाले निवेदन दिएका हुन् । 

निवेदन दिनेहरुमा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित रिपल राई,  डा. देवी क्षेत्री दुलाल, रविन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई र बुद्धिप्रसाद खनाल रहेका छन् । 

निवेदन दिनेमा नेम्वाङका छोरा सुहाङ अधिवक्ता हुन् । उनले आफ्ना बाबुको पदचाप पछ्याइरहेका छन् । सुवास नेम्वाङ वरिष्ठ अधिवक्ता थिए । जसका कारण उनलाई संविधान सभा अध्यक्ष र सभामुख बन्नका लागि मद्धत पुगेको थियो । 

रिपल कोशी प्रदेश समिति सदस्य हुन् । सुवेदी जिल्ला उपसचिव हुन् । खनाल जिल्ला सचिवालय सदस्य, इलाम २ नम्बर क्षेत्रीय सभापति र माई नगरपालिका ७ का वडाध्यक्ष हुन् । दुलाल जिल्ला सचिवालय सदस्य हुन् । 

भट्टराई नेकपा कार्यकाल (एमाले–माओवादी एकता भएर बनेको पार्टी) को समयका केन्द्रीय सदस्य बनेका थिए ।

उम्मेदवार छनोट समितिले बैठक बसेर सर्वसम्मत बनाउने प्रयास गर्ने बताएको छ । यो बैठकमा सहमति नजुटे चैत ३ गते जिल्लाको सचिवालयको बैठकमा पेस गर्ने र ५ गतेसम्ममा केन्द्रीय समितिमा पठाइ सक्ने तयारी गरेको छ । 

तर नयाँ गठबन्धन भएपछि इलाम २ एमालेले पाउँछ वा अन्य कुनै निर्णय हुन्छ यसै भन्न सक्ने अवस्था छैन । 

झलनाथको झिंगे दाउ
इलाम २ को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इच्छा देखाएका छन् । उनले नयाँ गठबन्धनको साझा उम्मेदवार बन्न कसरत थालेका हुन् । 

२०७९ को निर्वाचनमा झलनाथ इलाम १ बाट चुनाव हारेका थिए । उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । महेशले २५ हजार ७५३ मत ल्याउँदा झलनाथले २३ हजार ८९ मत पाएका थिए । 

जबकि त्यतिबेला झलनाथलाई तत्कालीन सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको साथ रहेको थियो । 

चुनाव नै हारेको भए पनि उनले त्यतिबेला राष्ट्रपतिका लागिसमेत पहल गरेका थिए । तर राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालकोसमेत चर्चा चलिरहँदा झलनाथ छायाँमा परेका थिए । 

झलनाथ शुरुआती चरणदेखि नै एमालेसँग नजिक रहेका थिए र पनि भिडन्त एमालेसँगै गर्नुपरेको थियो । 

अहिले गठबन्धनमा नयाँ परिवर्तन भएर एमालेसँग जोडिन पाउँदा उनी उत्साही छन् । यही उत्साहमा पाएमा इलाम २ बाट उपनिर्वाचनमा उम्मेदवार बनेर सांसद बन्ने आकांक्षा पालेका छन् । 

इलाम २ मा सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । तत्कालीन गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । 

एमाले, माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकता हुनेसमेत चर्चा चलिरहँदा झलनाथलाई नै इलाम २ दिएर जानेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हरियो झन्डा देखाएको चर्चासमेत चलिरहेको छ ।

रास्वपाको तयारी
यो क्षेत्रमा सबैभन्दा बढी चुनाव लाग्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हो । रास्वपाले इलाम २ मा पर्ने हरेक पालिकाको सूक्ष्य अध्ययन गर्नका लागि नेताहरुलाई खटाइसकेको छ । सोका आधारमा प्रतिवेदन तयार गरी कसलाई चुनावमा उठाउने भनेर तयारी गर्दैछ । 

यद्यपि यो नयाँ गठबन्धन हुनुभन्दा अगाडिको निर्णय भएकाले अब के हुन्छ भन्ने यकिन छैन । सत्ता गठबन्धन नै भइसकेपछि पक्कै इलाम २ पनि गठबन्धनका रुपमा नै जान सक्ने देखिन्छ ।

यद्यपि रास्वपाले इलाम २ मा निर्णय गर्नका लागि छलफल गर्दैछ । सोमबार छलफल गरी आफ्नो छुट्टै उम्मेदवार उठाउने वा नयाँ गठबन्धनलाई साथ दिने भन्ने बारेमा निर्णय गर्नेछ । 

स्थानीय रास्वपाका नेताहरुले भने माहोल खासै राम्रो नभएको बताइरहेका छन् । इलाम २ मा पहिचानवादकिो राजनीति छ । त्यो राजनीतिमा जसले खेल्न सक्छ उसैले चुनाव जित्ने हो । 

त्यसो त त्यो क्षेत्रमा रास्वपाको खासै उत्साह देखिँदैन । २०७९ को चुनावमा रास्वपाबाट उम्मेदवार बनेका प्रकाश सापकोटाले १ हजार ३८० मतमात्र ल्याएका थिए । त्यसैले पनि यसलाई गठबन्धन भइसकेपछि छाड्न पनि सजिलो हुनेतर्फ स्थानीय रास्वपाका नेताहरु गइसकेको बुझ्न सकिन्छ ।

पहिचानवादीको छुट्टै उम्मेदवार
इलाममा पहिचानवादीको पकड बलियो भएकाले पहिचानवादीहरुले मिलेर आफ्नो छुट्टै उम्मेदवार बनाउने सहमति गरेका छन् । 

जसका लागि डकेन्द्रसिंह थेगिमको नाममा सहमति भएको छ । थेगिम प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक हुन् । 

थेगिमलाई किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा र नेपाल शेर्पा संघ लगायतका विभिन्न समूहले सघाउने प्रतिवद्धता जनाएका छन् । 

यो समूह अन्तिमसम्म टिक्छ वा कुनै पार्टीसँग सहमति गरेर बिक्छ त्यो अहिलेसम्म भन्न सक्ने अवस्था छैन । 

जे भए पनि पहिचानवादीको मत भने दरिलो रहेको विश्वास गरिन्छ । 

माओवादीलाई हाइ सन्चो
माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार उठाउने बताइरहेको छ । नेताहरुले माओवादीको पनि उम्मेदवार हुने बताइरहँदा माओवादीको कुनै जग नै नभएको र पछिल्लो समय पहिचानवादी आन्दोलनका कारण त माओवादीलाई मन पराउनै छाडेको निष्कर्ष आइरहँदा माओवादीले त्यो चुनौती लिनै नखोज्ने बताइन्छ । 

एमालेसँग गठबन्धन भएसँगै उसले एमालेका उम्मेदवारलाई सघाउने छ । तर ०८४ अघि सरकारमा जाने कुनै अवस्थै नभएका बेलामा अपुताली आइलागेको एमालेले गठबन्धन बलियो हुन्छ भने इलाम २ पनि छाड्न बेर लगाउँदैन । 

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका नाममा इलाम २ मा झलनाथको नाम सर्वसम्मत गर्ने प्रयास गरेका खण्डमा एमाले सती नजाला भन्न सकिन्न । 

कांग्रेसलाई छैन हतारो 
सत्ता गठबन्धनबाट अप्रत्याशित रुपले बाहिरिन परेपछि नेपाली कांग्रेस यतिबेला मर्माहित छ । त्यही पीडा भुल्न नसकेको कांग्रेसले तत्कालका लागि कुनै हतारो देखाएको छैन । यद्यपि आकांक्षीहरु भने बढ्दै गइरहेका छन् । 

र पनि यसपालि कांग्रेसका आकांक्षी केही बढेका छन् । २०७९ को निर्वाचनमा पराजित भएका कांग्रेस इलामका सभापतिसमेत रहेका डम्बरबहादुर खड्कासँगै स्थानीय राजनीतिमा पकड जमाएका पाका नेता एवं महासमिति सदस्य भेषराज आचार्य, पूर्व जिल्ला सभापति केशव थापा, संविधान सभाका सदस्य नरेन्द्र कुमाल र रमेश लिङ्देन आकांक्षी देखिएका छन् । 

यद्यपि कांग्रेसले टिकट छान्ने प्रक्रिया नै शुरु गरेकै छैन । यसका लागि संसदीय बोर्डले सिफारिस गर्नुपर्ने हुन्छ । त्यसपछि केन्द्रले क्षेत्रलाई चिठी पठाउँछ । 

क्षेत्रले वडालाई सिफारिसका लागि पठाउँछ । त्यो कुनै प्रक्रिया शुरु भएकै छैन । इलाम २ को निर्वाचनका लागि केन्द्रबाटै पदाधिकारीसहितका नेताहरु वडातहमा गएर बुझ्ने भनिएको छ । 

गत फागुन २१ गते अचानक सत्ता गठबन्धनको समीकरण भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस एकाएक मर्माहत भएको छ । 

जसका कारण नेताहरु वडातहमा जान सकेका छैनन् । हुनत क्षेत्रीय कार्यसमितिबाट आएको नाममा मात्र जिल्लाले सिफारिस गरेर पठाउँछ । तर त्यो प्रक्रियाबाट कांग्रेस जान्छ वा सिधै केन्द्रबाटै नाम सिफारिस भएर आउँछ त्यो हेर्न बाँकी रहेको छ । 

अब डेढ महिनामात्र चुनावका लागि समय बाँकी रहँदा कांग्रेस किन सुस्ताइरहेको छ भन्नेबारे कांग्रेस नेताहरु खासै बोल्दैनन् । यद्यपि आकांक्षीहरु भने मेहनत गर्न थालिसकेका छन् । 

कांग्रेस महासमिति बैठकले चुनावमा कसैसँग पनि चुनावी एकता नगर्ने भनिरहँदा इलाम २ को हकमा के हुन्छ भन्ने चासो पनि चर्चामा रहेको छ ।

यो क्षेत्रका लागि राप्रपालेसमेत अहिलेसम्म मुख खोलेको छैन । अन्य दलहरुले पनि आफ्नो तर्फबाट अध्ययन अनुसन्धान गरिरहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ