न्यूयोर्क । अमेरिकी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक यर्गेन क्लिन्सम्यान निकालिएका छन् ।
अमेरिकी फुटबल टिमले लगातार खराव प्रदर्शन गरेपछि जर्मन प्रशिक्षक क्लिन्सम्यानलाई बर्खास्त गरिएको अमेरिकी फुटबल संघले जनाएको छ ।
सन् २०१८ को रुस विश्वकपका लागि भइरहेको विश्वकप छनोटमा अमेरिकाले लगातार दुई खेल हारेपछि क्लिन्सम्यान निशानामा परेका थिए ।
अमेरिकाले मेक्सिकोसँग आफ्नै राष्ट्रमा २–१ को तथा कोष्टारिकासँग उसकै मैदानमा ४–० को हार बेहोरेको थियो ।
कोष्टारिकासंगको यो प्रदर्शन ३६ वर्षपछिकै सर्वाधिक खराव हो ।
क्लिन्सम्यानले सन् २०११ देखि अमेरिकी टोलीको प्रशिक्षण गर्दै आएका थिए ।
अमेरिकी फुटबल संघका अध्यक्ष सुनील गुलाटीले भनेका छन्, ‘आज हामीले कठिन निर्णय गर्नुपरेको छ, अमेरिकी पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक एवं टेक्निकल डाइरेक्टर क्लिन्सम्यानसंग छुट्टिने निर्णय गरेका छौं ।’
गुलाटीले पाँचवर्षदेखि क्लिन्सम्यानले देखाएको प्रतिवद्धता र पूरा गरेका वाचाप्रति आभारसमेत प्रकट गरेका छन् ।
जर्मनीले सन् १९९० को विश्वकप जित्दा क्लिन्सम्यान टिमका सदस्य थिए ।