arrow

मुलुकका सयौँ ठाउँमा आगलागी, छैन समन्वय, काठमाडौँ विश्वकै प्रदूषित सहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
fire-dhading-jungle-80-12-2.jpg
तस्बिर – धादिङको जंगलमा भएको आगलागी ।

काठमाडौँ । हालका दिनमा देशका सयौँ स्थानमा डढेलो लागेको छ । जसका कारण मुलुक नै वायु प्रदूषणको चपेटामा परेको छ । लागेको डढेलो निभाउने समन्वय नभइदिँदा मानवीय क्षतिसमेत भएको छ । 

घरपालुवा एवं जंगली जनावरकोसमेत ज्यान गइरहेको छ । तीन ओटै तहका सरकारबीच कुनै समन्वय हुन नसक्दा यसले भयावह स्थिति लिइरहेको छ । 

सुक्खायाममा फाटफुट डढेलो लाग्ने भए पनि मानवीय त्रुटि बढी भएका कारणले लाग्ने डढेलो चरम रुपले बढेको छ भने कृषि अवशेषहरू जलाउने क्रम बढ्दा त्यसले वायु प्रदू्रषण पनि बढेको छ । 

जसका कारण राजधानी काठमाडौंसहितका स्थानको वायु प्रदूषण अत्यन्त बढेको छ । 

काठमाडौँ अहिले विश्वकै सर्वाधिक प्रदूषित सहरसमेत भएको छ । काठमाडौँको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) मंगलबार मध्यान्ह २०० रहेको छ । यो विश्वका अन्य सहरहरुभन्दा बढी हो । 

थाइल्याण्डको चियाङमाङ दोस्रो तथा भारतको नयाँदिल्ली तेस्रो स्थानमा रहेको छ । बंगलादेशको ढाका चौथो स्थानमा रहेको छ । इन्डोनेसियाको जकार्ता पाँचौँ स्थानमा छ । 

अहिले वर्षा पनि हुन नसक्दा प्रदूषण झन् बढेको छ ।

सरकारले आगलागी नियन्त्रणका लागि कुनै ठोस कदम चाल्न सक्दा वन जंगल त ध्वस्त भएको छ नै यसले मानवीय क्षतिसमेत बनाएको छ ।

सँगसँगै स्वास्थ्यलाई गम्भीर असर गर्ने प्रदूषण बढेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । 

तर विश्वकै प्रदूषित बनेको काठमाडौँमा केही दिनदेखि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कणको मात्रा २० गुणासम्म बढेको छ । 

आइतबारदेखि मंगलबारसम्म लगातार तीन दिन काठमाडौँको प्रदूषण चरम उत्कर्षमा छ । 

एक त काठमाडौँ एकदमै प्रदूषित छ त्यसमाथि यो कचौरा आकारको काठमाडौँ उपत्यकामा प्रदूषण छिरेपछि हट्न मुस्किल पर्छ । तीव्र वेगमा हावा लाग्ने वा भारी वर्षा नभएसम्म प्रदूषण कम हुन मुस्किल पर्छ । 

अहिलेसम्म प्रद्रषण काम गर्न कुनै पनि माध्यमको प्रयोग नेपालमा भएको छैन । आगामी केही दिनसम्म उपत्यकामा वर्षा हुने सम्भावनासमेत देखिएको छैन । 

वायू प्रदूषणकै कारण मुलुकमा वार्षिक हजारौँको मृत्यु हुँदै आएको छ । यद्यपि सरकारको प्राथमिकतामा वायु प्रदूषण पर्न सकेको छैन । 

त्यसगरी कृषि अवशेष जलाउने र राम्रो घाँस उम्रने आशामा जंगल वा आफ्नो खर्यानमा आगो लगाउने गलत प्रवृत्ति नहटेसम्म वायु प्रदूषण घट्ने देखिँदैन । 

सरकार मिथ्यामा अनेक कामका लागि श्रम, शक्ति र पैसाको खोलो बगाउने गर्छ तर आगलागी र प्रदूषण रोक्न कुनै पहल नै गर्दैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ