arrow

सुस्ताएको नेपाली उद्योग क्षेत्रमा सफल होला रामदेवको उदय ?

के भन्छन् नेपाली व्यवसायी ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
ramdev_Nepal-Business.jpeg
काठमाडौं । ६ महिना अगाडि भारतमा पतञ्जलि ट्रस्टविरूद्ध भइरहेको बहुराष्ट्रिय कम्पनीहरूको चलखेलप्रति ध्यानाकर्षण भएको जनाउँदै बाबा रामदेवले पतञ्जलिको कारोबारमा एक सय ५० प्रतिशतले बढोत्तरी भएपछि आत्तिएका विदेशी कम्पनीहरूले आफूविरूद्ध झुठा अफवाह फैलाएको आरोप समेत लगाउन भ्याएका थिए । 
 
पतञ्जलिमा पाईएका केही खराबीहरुको विषयमा व्यापक चर्चा चलेपछि भारतमा झण्डै ६ महिना पहिले त्यसको बचावट गर्दै पत्रकार सम्मेलन गरेका रामदेवले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेपालमा एक सय अर्बको लगानी गर्ने र २० हजारलाई १० वर्ष भित्र रोजगारी दिने तथा अप्रत्यक्ष रूपमा १ लाखलाई रोजगारी दिने घोषणा गरे । 
 
नेपालबाट रोजगारीकालागि विदेशिनेको संख्या दैनिक १५ सयको हाराहारीमा पुगेको बेलामा पतञ्जलिको यो घोषणा पक्कैपनि सबैका लागि हर्षानुभूति जगाउने विषय हो । तर, लामो समयदेखि औद्योगिक विकासको गफ, मात्रै राजनीतिक दलका नेताहरुको चुनावी एजेण्डाको विषय बनिरहेको नेपालमा रामदेवको घोषणा कार्यान्वयन हुन्छ भन्ने विश्वास पनि धेरैले गर्न सक्ने अवस्था छैन । 
 
नेपाल आएर रामदेवले भनेझै नेपाली व्यवसायीहरू उद्योगमा भिज्न नसकेर व्यापार व्यवसायमा केन्द्रीत हुने गरेको कुरा पनि आफैंमा सत्य कुरा हो । नेपालमा तात्कालीन समयमा विराटनगर जुट मिलबाट सुरूभएको नेपाली उद्योग क्षेत्रले पञ्चायती शासन कालमा केही फस्टाउने मौका पाएको थियो । तर, त्यसपछिका कालखण्डमा उद्योग थपिनेको क्रम भने उत्साहजनक देखिँदैन । 
 
उद्योग विभागले गत आर्थिक वर्षमा गरेको तेह्रौ योजना नतिजा खाकाले आर्थिक वर्ष २०७१÷७२ मा मात्रै ५० हजार भन्दा बढी व्यक्तिलाई रोजगारी दिने लक्ष्य राखेकोमा सो वर्ष ५१ हजार ६ सय ६९ जनालाई उद्योग क्षेत्रले थप रोजगारी दिएको दाबी गरेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷७२ मा मुलुक भरीको उद्योगमा मात्रै थप ९० हजार ३ सय ३५ जनाले रोजगारी पाईरहेका छन् । 
 
त्यस्तै, उद्योगको संख्यालाई हेर्ने हो भने आ व ०७०र०७१ र ०७१र०७२ मा क्रमशः ७२ र ९२ वटा ठूला उद्योग दर्ता  भएर सो वर्ष थप १ सय ६४ उद्योग दर्ता भएको मन्त्रालयको तेह्रौ योजनाले देखाएको छ । यस्तो अवस्थामा नेपालमा अन्तराष्ट्रिय स्तरका उद्योग सञ्चालन हुन्छ भन्दा जो सुकै नेपाली पनि खुशी हुनु स्वाभाविक नै कुरा हो । 
 
उद्योगमा के हुन् नेपालका चुनौति ?
केही जटिल समस्याहरुका कारण नेपालको उद्योग धन्दाको विकासमा विभिन्न अबरोधहरु हुने गरेको सरकारी तथ्याङ्कहरुले देखाउने गरेको छ । जसले गर्दा नेपालका उद्योग व्यवसायीहरू यस क्षेत्रमा लगानी गर्न भन्दा पनि व्यापारलाई नै आफ्नो पेशाको रूपमा आत्मसाथ गरिरहेका छन् । कुनैपनि लगानीकर्ताले कुनै उद्योगमा लगानी गर्छ भने उसले अवश्य पनि मुनाफाको आशा गरेको हुन्छ । 
 
मुनाफा प्राप्त गर्नको लागि सानातिना लगानीकर्ताहरुले त आफ्नो जायजेथा समेत धरौटीमा राखेर यस क्षेत्रमा हात हालेका हुन्छन् । तर, यसरी चुनौती मोल्ने लगानीकर्ताहरुलाई समात्ने र टेक्ने कुनैपनि आधार नहुँदा लगानी डुबेर पलायनको बाटोमा लाग्न समेत बाध्यहुने गरेका घटनाहरु पर्याप्त मात्रामा देख्ने गरिन्छ । 
 
त्यसकारण, समस्यामा परेको बेलामा हात समात्ने कुनै निकाय नभएको अवस्थामा उद्योग क्षेत्रमा लगानी गर्न व्यवसायीहरू आकर्षित नहुनुलाई स्वभाविक नै मान्नुपर्छ । सन् २०१४मा राष्ट्रिय योजना आयोग र यूनिडोको संयुक्त आयोजनामा तयारपारिएको ‘डेभलपेन्ट अफ म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज इन नेपाल’ नामक प्रतिवेदनले तोकेका केही चुनौतीहरु यस्ता छन् । 
 
विद्युतको उपलब्धता 
विद्युतको उपलब्धता नेपालमा उद्योगधन्दा स्थापनाको सबैभन्दा जटील समस्याको रुपमा रहेको छ । उक्त अध्ययनबाट नेपालमा विद्युतको शत प्रतिशत समस्या रहेको देखिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । कुनैपनि उद्योगको लागि विद्युत आवश्यक पर्छ तर हामी घन्टौंसम्म विद्युत कटौतीको समस्यामा रहेकोले यो मूल समस्याकोरुपमा देखिएको हो । जुन समस्या अहिले पनि समाधान भएको छैन । 
 
हाल सर्वसाधारणको लागि विद्युत कटौती रोकिएको भए तापनि यही उत्पादन र क्षमताले अब आउने सम्भावित उद्योगहरुलाई धान्न नसक्ने हुनाले नयाँ उद्योग स्थापना गर्नुपूर्व लगानीकर्ताहरुले विद्युतलाई नै मूल समस्याको रुपमा विश्लेषण गर्ने गरेका छन् । 
 
कामदारसँगको सम्बन्ध
कामदारसँगको सम्बन्ध नेपालमा ठूलै समस्याको रुपमा रहेको अध्ययनले देखाएको छ । जुनसुकै कम्पनीमा पनि मालिक र कामदारबीच सुमधुर सम्बन्ध नहुने र एकले अर्काका समस्या नबुझ्ने हो भने उद्योग फस्टाउन सक्दैन । तर नेपालमा दुई संस्थाबीच सामन्जस्यता नहुनु पनि समस्याको रुपमा रहेको प्रतिवेदनले औल्याएको छ । 
 
प्रतिवेदनका अनुसार नेपालमा उद्योग फस्टाउन नसक्नुमा ६९ प्रतिशत यो क्षेत्र दोषी छ । यो सामन्जस्यताको कमि र बढी हुनु दुबैको व्यवहारमा आधारित रहेकोले यो अहिलेको अवस्था विश्लेषण गरिरहनु आवश्यक नहोला । 
 
श्रम कानून
नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुको पछाडि श्रम कानून पनि महत्वपूर्ण रहेको बताईएको छ । श्रमिकका समस्या समाधान लगायतका विषयमा केन्द्रीत हुने र लगानीकर्ताको समस्यालाई केन्द्रमा नराख्ने परिपाटीको विकास हुने कारणले गर्दा पनि लगानी भित्रिन नसकेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले यसलाई ६२.६ प्रतिशत दोषी ठहर गरेको छ ।
 
दक्ष जनशक्ति 
नेपालमा अर्काे समस्या भनेको दक्ष जनशक्तिको अभाव हुनु पनि हो । कुनैपनि उद्योगको लागि विदेशबाट नै दक्ष जनशक्ति ल्याउनु पर्ने अवस्थाका कारणले पनि उद्योगको विकास हुन सकेको छैन । उद्योगको विकास हुन नसक्नुमा यो तत्व ६०.३ प्रतिशत दोषी रहेको छ । 
 
यस बाहेक पनि वातावरण ऐन ६०.३, औद्योगिक नियमावली तथा कानून–५९.२ प्रतिशत, कच्चा पदार्थको उपलब्धता कम हुनु – ५३.६, ऋणको सुविधा नहुनु –५२.५, कम ज्याला – ४९.२ र बजारको समस्या ४३ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । 
 
यसरी, यावत समस्याहरुका बाबजूत पनि नेपालमा उद्योग धन्दाहरू त चलिरहेका नै छन् । सरकारको लगानीमैत्री नीतिको अभावका कारण पनि बढी विदेशी लगानी नेपाल भित्रिन नसकेको भनेर नेपाली व्यवसायीहरूले आरोप लगाईरहेको बेलामा रामदेवको आगमन नेपालका लागि विदेशी लगानी भित्र्याउन एउटा उदाहरण बन्ने देखिन्छ । तर पतन्जलिले अर्थात् पतन्जलिका संस्थापक समेत रहेका रामदेवले माथि उल्लेखित चुनौतिहरु भने सामना गर्नैपर्ने सरोकारवालाहरु बताउँछन् ।
 
के भन्छन् नेपाली व्यवसायीहरु ? 
नेपालमा लामो समयदेखि उद्योगधन्दा तर्फ व्यवसायी आकर्षित् नभएको भनेर विभिन्न टीकाटिप्पणी र बहसहरु चल्दैै आएको छ । अझ विदेशी लगानी नभित्रिएको र सधैंभरी अर्काको भर पर्नुपरेको भनेर आर्थिकक्षेत्र सधैंभरी चिन्तित छ । यसै सन्दर्भमा नेपालमा सम्भावना देखेर आएका सफल व्यवसायी रामदेवको योजनालाई के भन्छन् त नेपाली व्यवसायीहरु ?
 
रामदेवले मंगलबारको कार्यक्रममा नेपाली व्यवसायीलाई व्यापारमा व्यस्त रहेको भन्दै उत्पादन तर्फ ध्यान दिन आग्रह गरे । तर, नेपाली व्यवसायीहरू भने नीतिगत समस्या कै कारण आफूहरू उद्योगमा आकर्षित हुन नसकेको बताउँछन् । 
 
नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत संघ तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले कुनैपनि लगानीकर्ताले आफ्नो घरखेतबारी बेचेर गरेको लगानीको सुरक्षा नभएसम्म लगानीकर्ता आकर्षित हुनसक्ने अवस्था नरहेको बताए । उनी भन्छन् ‘ आफ्नो घरखेतबारी बन्धकी राखेर अलिकति व्यवसाय ग¥यो सबै क्षेत्रका मानिसले उसलाई यस्तो दुख दिन्छन् कि लगानीकर्ताहरु यत्तिकै पनि हतोत्साहित भएर लगानी फिर्ता लैजान खोज्छन् । 
 
उनले उद्योग व्यवसाय ऐन २०४९का कतिपय प्रावधानहरूले लगानीको वातावरण सिर्जना गरेको भएपनि त्यस पछिका कानूनहरुका कारण लगानीमैत्री वातावरण बन्न नसकेको जानकारी दिए । २० हजारलाई रोजगारी दिने भन्ने रामदेवको घोषणालाई श्रेष्ठले हामीहरु दिन प्रतिदिन यान्त्रीकरण तर्फ लागेको र मेसिनको भर परिरहेको अवस्थामा मान्छेलाई रोजगारी दिन पनि त्यति सहज भने नरहेको बताए । 
 
त्यस्तै, महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तर्फका उपाध्यक्ष किशोर प्रधानले बाबा रामदेवले नेपालमा नयाँ उद्योग खोल्छु भन्नु आफैंमा सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले रामदेवले सय अर्बको लगानी नेपालमा गर्ने र यहाँका नेपालीलाई रोजगारी दिन्छु भन्नु आफैंमा स्वागत योग्य रहेको भन्दै सरकारले यस्ता उद्योगहरुलाई सहयोग गर्नुपर्ने धारणा पनि व्यक्त गरे । 
 
प्रधानले कुनैपनि मुलुक उद्योगधन्दा विना सवल र समृद्ध बन्न नसक्ने भन्दै अबको मुलुकको आवश्यकता नै बैदेशिक लगानी आकर्षित गर्दै नेपाललाई समुन्नति तर्फ लैजानु रहेकोले रामदेवको यस्तो अभियानलाई सरकारले सहयोग गर्दै लगानीमैत्री वातावरणको विकास गराउनु पर्ने धारणा राखे । लगानी मैत्री वातावरण सिर्जना गर्न सके नेपाली व्यवसायीहरू पनि उद्योगमा लगानी गर्न तयार हुने उनको भनाई थियो । 
 
उता, महासंघका एशोसिएट्स उपाध्यक्ष शेखर गोल्छाले बाबा रामदेवको विजनेश मोडल नै फरक रहेको भन्दै उनले नसक्नेकुरा भए यसरी औपचारिक रूपमा घोषणा नै नगर्ने बताउँछन् । यो उनको योजना मात्रै रहेको भन्दै गोल्छाले भारतमा यति चाँडै व्यवसायमा सफलता हाँसिल गरेका उनी नेपालमा पनि चुनौतिलाई चिर्दै सफल हुन सक्ने बताउँछन् । उनी भन्छन् ‘यो उहाँको योजना हो । तर नेपाली परिवेशमा उहाँले भनेको कुरा भने कतिपय महत्वाकांक्षी योजना जस्तो पनि लाग्छ ।’ 
 
रामदेवले दिएका कतिपय सुझावहरु अनुशरण योग्य रहेको भन्दै गोल्छाले भने ‘त्यस्ता सुझावहरू भारतीय परिवेशलाई आधार मानेर भनिएकोले होला नेपालमा त्यति सान्दर्भिक नहुन सक्छ ।’ त्यो नेपालमा हुबहु कार्यान्वयन गर्न सम्भव पनि देख्दिन म । नेपालमा उद्योग आफैं खोल्नको लागि कतिपय सरकारी नियमकानूनहरुले अल्झाईरहेको भन्दै गोल्छाले लगानीमैत्री वातावरण भए नेपालमा पनि बैदेशिक लगानी भित्रिने र नेपाली व्यवसायहरुपनि उद्योग तर्फ आकर्षित हुनसक्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ