काठमाडौं । स्पेनी क्लव बार्सिलोना समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । एक खेल खेल्न बाँकी छँदे समूह विजेता बन्ने निश्चित भएको बार्सिलोनाले स्कटल्याण्डको सेल्टिकलाई २–० ले हरायो ।
बार्सिलोनालाई जिताउन लिओनल मेसीले दुवै गोल गरे । मेसीले २४ मिनेटमै पहिलो गोल गर्दा ५६ औं मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थपे ।
जितसंगै बार्सिलोनाको ५ खेलबाट १२ अंक भएको छ । अब दोस्रो स्थानको म्यानचेष्टर सिटीले पनि भेट्टाउने छैन ।
त्यस्तै इङल्याण्डको क्लव म्यानचेस्टर सिटी पनि दोस्रो स्थानमा रहँदै नक आउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीको बोरुसिया एम्ब्याचसँग १–१ गोलको बराबरी खेल्दै ८ अंकमा रहेको म्यानचेस्टर सिटीले अर्को चरणमा ठाउँ सुरक्षित गरेको हो ।
बोरुसियाका लागि राफेलले तथा म्यानचेष्टर सिटीका लागि डेभिड सिल्भाले गोल गरे ।
तर त्यसपछि भने दुवै टिमका एक एक खेलाडी दोहोरो पहेलो कार्ड खाँदै बाहिरिए ।
बोरुसियाका लार्स ५१ औं मिनेटमा तथा म्यानचेष्टरका फर्नान्डिन्हो ६३ औं मिनेटमा बाहिरिएका थिए ।
च्याम्पियन्स लिग अन्तर्गत अन्य खेलमा रुसको एफ।सी रुस्तोभले जर्मनीको बायर्न म्युनिखलाई ३–२ ले हराएको छ । यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई २–० ले हरायो ।
यो समूहबाट एथ्लेटिको मड्रिड र बायर्न म्युनिख नक आउट चरणमा प्रवेश गरिसकेका छन् ।
त्यसैगरी समूह एका दुबै खेल बराबरीमा सकिएका छन् । इङल्याण्डको आर्सनलले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीसँग २–२ गोलको बराबरी खेल्दा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्ड र स्विट्जरल्याण्डको एफसी बाजलले गोलरहित बराबरी खेले ।
यो समूहबाट पिएसजी र आर्सनल नक आउट चरणमा पुगिसकेका छन् ।
च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह बीका खेलहरुमा टर्कीको बेसिक्तास र पोर्चुगलको बेनिफिकाले ३–३ गोलको तथा ईटालीको नापोली र युक्रेनको डाईनामो किभले गोलरहित बराबरी खेलेका छन् ।
नापोली र बेनेफिकाको ८–८ अंक हुँदा बेसिक्तासको ७ अंक छ । २ अंकको डाइनामो भने बाहिरिएको छ ।