arrow

लाइसेन्सका लागि यातायात कार्यालयमा भीड, फाराम भर्न अघिल्लो रातबाटै लाममा

logo
सञ्चिता घिमिरे,
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
Smart-Card-Driving-License-300x186.jpg.jpeg
ललितपुर। सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए । बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनि भीड देखेर फर्किएा थिए तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उनि फर्कन बाध्य भएका हुन् । 
 
बुधबार बाग्मती यातायात व्यवस्था कार्यालयमा नै भेटिएका मकवानपुरका विकास चम्रेल भने फाराम भर्न पाएकामा दङ्ग देखिए । उनि राति ३ बजे नै एकान्तकुना पुगेका थिए । आफू पुग्दा राति ९/१० बजेदेखि बसेकाहरु भेटिएको चम्रेलले बताए । 
 
कार्यालयले दुई महिनापछि बुधबारबाट चालक अनुमतिपत्रका लागि आवेदन फाराम लिन थालेको हो । लामो समयदेखि बन्द रहेको र अन्य अञ्चल कार्यालयले सेवा नदिएका कारण कार्यालयमा फाराम भर्नेको भीड लागेको छ । बुधबार मात्रै झन्डै चार हजार सेवाग्राही आइपुगेको कार्यालयमा कार्यरत कर्मचारीले बताएका छन् । एक दिनमा चारपाङ्ग्रे हलुका सवारी साधनको २०० र मोटरसाइकल ५०० गरेर कार्यालयले जम्मा ७००को फारम लिने गरेको छ । 
 
रामशाहपथस्थित नेसनल ट्रेडिङ सेन्टरमा सवारी जाँच हुने गरेकामा चाडपर्वका समय नेसनल ट्रेडिङले स्थान उपलब्ध नगराएका कारण दुई महिनासम्म सेवा दिन नसकिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । फाराम भर्ने समयमा सधैँ भीड हुने भए पनि दुई महिनासम्म सेवा ठप्प हुँदा भीड धेरै गुणा बढेको छ । यादवले भने – “सामान्य हुन अझै केही समय लाग्न सक्छ ।” 
 
लामो समयपछि चालक अनुमतिपत्र खुलेकाले प्रमुख यादव मङ्गलबार राति झन्डै ८:३० बजेसम्म कार्यालयमा भोलिपल्टको तयारीका लागि बसेका थिए । बिहान आफू ६:३० बजे पुग्दा नै धेरै सेवाग्राही आइसकेका थिए भन्दै उनले सेवाग्राही धेरै भए पनि कार्यालयले क्षमताअनुसार मात्रै सेवा दिन सक्ने बताए । रातिबाट नै लाम लाग्न आएकालाई प्रहरीले हटाएको थियो । फाराम भर्न नपाएकाहरुले प्रवेशद्वार, पर्खाललगायतका स्थान तोडफोडसमेत गरेका छन् । 
 
कार्यालयले मोटरसाइकलको फाराम सङ्कलन सोमबारदेखि शुक्रबारसम्म गर्दै आएको छ । प्रत्येक दिन ५०० सेवाग्राहीले फाराम भर्न सक्छन् । हलुका सवारी साधनका लागि भने २०० जनाले फाराम भर्न पाउने व्यवस्था छ । आइतबार भारी सवारी साधन र स्कुटरका लागि चालक अनुमति पत्रको फाराम लिने गरिएको छ । 
 
भारी सवारी साधनका लागि भने एक सय जनाले मात्र फाराम भर्न सक्ने व्यवस्था छ । जुनसुकै सवारी साधनको चालकले फाराम भरेको एक दिनपछि लिखित र दुई दिनपछि ट्रायल दिन सक्छन् । यातायात व्यवस्था कार्यालय, ललितपुरमा अहिले नमुनाका रुपमा स्मार्ट चालक अनुमतिपत्र वितरण भइरहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ