लिबाङ (रोल्पा)। जिल्ला कृषि विकास कार्यालय रोल्पाले यस आर्थिक वर्षको प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकहरुका लागि ७०० बोत्तल च्याउको वीउ वितरण गरेको जनाएको छ । जस अन्तर्गत कृषि सेवा केन्द्र घोडागाउमा ५० बोत्तल, कृषि सेवा केन्द्र सुलिचौरमा १२० बोत्तल, कृषि सेवा केन्द्र होलेरीमा १०० बोत्तल, कृषि सेवा केन्द्र इरिबाङमा १०० बोत्तल, जंकोट गाविसमा ६० बोत्तल, जिनाबाङ गाविसमा ५० बोत्तल र जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट प्रत्यक्ष रुपमा अन्य गाविसहरुमा २२० बोत्तल गरी जम्मा ७०० बोत्तल च्याउको वीउ वितरण गरिएको हो ।
कृषकहरुको सहजताका लागि कार्यालयले कृषि सेवा केन्द्र मार्फत वीउ वितरण गरेको जनाएको छ । च्याउ खेतीलाई उन्नत प्रविधिबाट संचालन गर्नका लागि कार्यालयले सम्वन्धीत कृषकहरुलाई ३ दिने तालिम दिए पश्चात मात्र वीउ वितरण गरेको निमित्त कार्यालय प्रमुख भगवतीप्रसाद कवरले जानकारी दिए । उनका अनुसार च्याउ खेती नै गर्ने हो भनेपनि लक्षित परिवारले छोटो समयमै कम लगानीमा बढी आम्दानी गर्न सक्छन् । पछिल्लो दिनमा च्याउखेती तर्फ जिल्लामा कृषकहरुको आकर्षण दिनप्रतिदिन बढ्न थालेको उनको भनाइ छ । उनका अनुसार च्याउ खेती गर्ने किसानहरुले ७५ रुपैयाको लगानी गरे त्यसबाट करिव ४०० रुपैयाँ सम्म आम्दानी गर्न सक्छन् ।
यस्तै करिव ५ वर्षदेखि सदरमुकाममै कृषि पेशा अंगाल्दै आएका लिबाङ ६ मूलपानी रोल्पाका कृषक रुपलाल वलीले एक सिजनमा करिव १० हजार रुपैया लगानी गरेकोमा त्यसबाट ४० हजार सम्मको आम्दानी भएको बताए । अन्य तरकारी खेतीको तुलनामा च्याउ खेती कम लगानीमा बढी उत्पादन हुने गरेको उनको अनुभव छ ।
उनका अनुसार जिल्लाको बजार क्षेत्रमा परालको अभाव भएका कारण च्याउ खेतीमा केही समस्या हुने गरेको छ । वलीले भने, 'किनेर पराल ल्याउने हो भनेपनि यातायातका साधन पुग्ने ठाउँमा पराल पाइदैन पराल पाइने ठाउँमा यातायातका साधन पुग्दैनन् ।' अन्य जिल्लाबाट पराल खरिद गरेर ल्याउदा ढुवानीका कारण बढी महंगो पर्न जान्छ जसका कारण आफूले सोंचे अनुसारको च्याउ खेती गर्न नसकेको उनको भनाइ छ ।