अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न प्रहरीको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
857
Shares
काठमाडौँ । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरूको प्रकाशन तथा प्रसारण नगर्न आम सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार काठमाडौँमा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने बीभत्स दृश्यहरू भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण नगर्न पनि सचेत गराएको छ ।
कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर बीभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरू जथाभाबी प्रकाशन तथा प्रसारण नगर्न सचेत गराए ।
उनले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराए । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले भने, हाम्रो प्रहरीको त कति कमजोरी छन् । तर मिडियामा पनि जानेर वा नजानेर टयाक्क पक्राउ पर्ने बित्तिकै अपराधी भन्ने शब्द प्रयोग हुन्थ्यो । यस्तो स्थापित मिडियाबाट होइन । तर एफएमहरुमा जुन चाहिँ हामीले सन्दिग्ध अथवा अभियुक्त यस्तै भनेर प्रयोग गर्छौँ । पहिला पहिला जस्तो हामीले पनि गर्यौँ कि प्रेस मिट गर्दा खेरी दायाँबायाँ हतियारधारी पूरा राखेर अभियुक्तलाई सार्वजनिक गरिन्थ्यो । त्यो यसो हेर्दा खेरी त्यति राम्रो देखिँदो रहेनछ । अनि, त्यसलाई हामीले करेक्सन गरेका छौं । हामीले म यहीँ आएपछि पनि ३÷४ जनालाई हामीले कारबाही गर्यौँ । त्यो हामीले दुई, ३ पटक परिपत्र गर्यौ । र, पनि कहीँ त्यस्तो देखियो भने अहिले त्यो कमी भएको छ । यस्तै कुराहरू कतिपय भाषागत कुराहरू, अब कतिपय चाहिँ रेपका कुराहरू, जो अहिले कमी भएको छ । घटनाका कमी होइन, त्यसलाई उच्च प्राथमिकता नदिँदा नै राम्रो हुँदो रहेछ भन्ने देखिन्छ । र त्यस्तै सुसाईटको कुरा पनि । यसले समाजमा त्यो चाहिँ एक किसिमको यसको साईकोलोजिकल प्रभाव पनि हुँदो हो । त्यसैले यसलाई पनि एउटा सामान्य कर्नरमा राखिदियो भने राम्रो होला जस्तो लाग्छ । जुन मिडियाबाट त्यो भईपनि राखेको छ । त्यस्तै गरेर बीभत्स दृश्य । अब कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ चाहिँ मेरो लाईक र लाईभ्समा कति भ्युज आउँछ भनेर चाहिँ घुमाइराखेका हुन्छौ । त्यहाँ उद्धार हुनतिर लागेका हुँदैनौ । न्यूनतम मानवीय संवेदनाका कुराहरू पनि हामी कहाँ छौ भन्ने देखिन्छ त्यसैले । यो कुरा दुर्घटनाको कुरा चाहिँ जस्ताको तस्तै आउने कुराहरू, लाइभ गर्ने कुराहरू चाहिँ नआइदिए हुन्थ्यो भन्ने हामी ल इन्फोर्समेन्ट एजेन्सीको अपेक्षा हुँदो रहेछ । यो कुरा चाहिँ सर्वसाधारणमा पनि जाओस् भनेर भनिएको हो । किनकि यस्ता कुराहरू बीभत्स दृश्यहरूले गर्दा खेरी मान्छेमा, समाजमा एकदम नकारात्मक असर पर्छ । यस्ता कुराहरू आम सञ्चारबाट गइदियो भने सुसूचित हुन्छन् भन्ने हाम्रो अपेक्षा हो ।'
प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्याउने खालका समाचार प्रसारण गर्न उपयुक्त नहुने तर्क समेत गरे ।