arrow

कार्यान्वयन हुने गरी १६औँ योजना तय भएको छ : उपाध्यक्ष श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
minbahadur-shrestha-planning-commission.jpg
तस्बिर-फाइल

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले कार्यान्वयन सुनिश्चित हुने गरी १६औँ आवधिक योजना तय भएको बताएका छन् ।

योजना आयोगको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले १६औँ योजनामा आधारित भएर आगामी वर्षको नीति तथा कार्यक्रम बनेको समेत स्पष्ट पारे ।
    
उपाध्यक्ष श्रेष्ठले आगामी आवको बजेट पनि योजनाका लक्ष्य कार्यान्वयन हुने गरी बिनियोजन हुने बताए ।

“१५औँ योजनाका लक्ष्य महत्वाकांक्षी रहेकाले पूरा हुन सकेनन्, तर १६औँ योजनाका लक्ष्य महत्वाकांक्षी छैनन्, कार्यान्वयन सम्भव छ”, उनले भने, “१५औँ योजनाभन्दा १६औँ योजना आकारमा आधा सानो भएको छ ।” 

उनका अनुसार सोह्रौँ योजनामा उत्पादन, रोजगारी र उपभोगलाई जोड दिइएको छ । विगतमा आर्थिक र समाजिक पक्षमा मात्रै जोड दिएर पञ्चवर्षीय योजना बन्ने गरेको भए पनि अहिले भने वातावरण र पर्यावरणको विकासमा पनि जोड दिएको श्रेष्ठको भनाइ छ । 

उनले आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत पुर्याउने लक्ष्यका साथ योजना निर्माण गरिएको बताए । 

सोह्रौँ योजना कार्यान्वयन गर्नका लागि रु एक सय ११ खर्ब बजेट आवश्यक हुने अनुमान गरिएको छ । उपाध्यक्ष श्रेष्ठले लगानी जुटाउनका लागि कुनै पनि चुनौती नरहेको स्पष्ट पारेका थिए । 

उनले मुलुकको समृद्धि हासिल गर्नका लागि सुशासन जरुरी रहेको उल्लेख गर्दै दाहोरो कर प्रणाली विकराल समस्या रहेको बताए । 

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ सोचका साथ सोह्रौ योजना तर्जुमा भएको उनको भनाइ थियो । 

राजनीतिक, प्रशासनिक, न्यायीक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु, मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्ने लक्ष्य सोह्रौँ योजनाले तय गरेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ