- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
माननीय शिक्षामन्त्रीज्यू, दूरदराजको गाउँबाट हार्दिक अभिवादन । नवीनपन र नवीनमनका साथ केही गर्छु भनेर राजनीतिमा आउनुभयो, चर्चा परिचर्चाका साथ छाउनुभयो र केही–केही नयाँ कामको थालनी गर्नुभयो । गर्नुभएका यी कामप्रति सराहना गर्दै खुशी व्यक्त गर्दछु ।
तपाइंको नेतृत्वमा मन्त्रालय सञ्चालनमा आएसँगै–
१) जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित पाठ्यसामग्री समयमै प्रकाशन गर्दै स्थानीय शैक्षिक क्यालेण्डरअनुसार पठनपाठन आरम्भपूर्व नै विद्यालय–विद्यालय पुग्ने वातावरणको सुनिश्चिता गर्नुभयो,
२) श्रमबजारमा बिक्न र टिक्न नसक्ने जनशक्ति उत्पादन गर्ने विद्यमान शिक्षा क्षेत्रका बेथीतिको पहिचान गर्दै शिक्षामा गुणस्तर मापनसहितको एकरुपता कायम गर्ने कार्यक्रमिक प्रयत्न गर्नुभयो,
३) ससाना विषय उपर पनि दलीयकरणले थिलथिलो भएको समाजमा दलीय उपस्थिति सहितको प्रशासन र व्यवस्थापनमाथि निगाह लगाउनु र नियमन गर्नुसम्म राम्रो थियो ... यसनिमित्त खुशी व्यक्त गर्न चाहन्छु र सलाम भन्दछु ।
पछिल्ला गतिविधिका सन्दर्भमा–
१) थाहा छैन– कसरी प्रेरित हुनुभयो ! प्रेरणा केले जगायो ! यससम्बन्धी विषयगत ढंगले तपाइंको गहिरो अध्ययन र यसको निष्कर्ष पनि होला ! तर विद्यालयमाथि नियमन र नियन्त्रणका नाउँ र निहुँमा जे गर्न खोज्दै हुनुहुन्छ, कालान्तर प्राप्त हुने परिणामका दृष्टिकोणले समुदाय प्रत्यक्ष–परोक्ष ढंगले जोडिएको सामुदायिक विद्यालयको हकमा यो अत्यन्तै घातक कामको थालनी गर्दै हुनुहुन्छ ।
२) सम्भवतः तपाईले सामुदायिक विद्यालय निर्माणको प्रश्नमा आफ्नो बास, गास, रहर र दैनन्दिन आवश्यकतालाई कटाएर विद्यालय निर्माणमा योगदान गर्ने समुदाय बुझ्नुभएन ! कि सामुदायिक विद्यालय पढ्नुभएन र आफू अभिभावक भएर सामुदायिक विद्यालयमा आफ्ना उत्तराधिकारीलाई पढाउनुभएन कि सामुदायिक विद्यालय पढ्न कसैलाई पठाउनुभएन !
३) यो पछिल्लो प्रस्तावमा तपाई शिक्षामन्त्रीको समुदायप्रति समर्पित सक्रियता होइन, विवेकहिनताको पराकाष्टा झल्कन्छ । समुदायबाट सामुदायिक विद्यालयलाई अलगथलग गरेर सामुदायिक विद्यालयलाई निजी शैलीमा सञ्चालनमा ल्याउन खोजेको देखिन्छ । सामुदायिक विद्यालय निर्माणमा समुदायको समर्पित भावलाई कुल्चन र मिच्न खोजेको देखिन्छ ।
यद्यपि, निजी विद्यालय चाहिँ चल्नुहुन्न, त्यसतर्फ ध्यान दिनुहुन्न भन्ने होइन । तिनको निकै ठूलो लगानी छ राज्यमा, रोजगार उपलब्ध गराएका छन् स्थानीय शैक्षिक बेरोजगारलाई र केही हदसम्म शिक्षामा हुने पलायन दर र अर्थनिकासीलाई रोकेका छन् ।
४) सामुदायिक विद्यालय निर्माणमा अहोरात्र खटिएको समुदाय वा समुदायको प्रतिनिधिमूलक उपस्थिति, जसलाई तपाईंले कुनै सेवासुविधा, तलबभत्ता आदि केही दिनुपरेको छैन, स्वयंसेवीभावका साथ शिक्षक कर्मचारी जत्तिकै सक्रिय छ, यसको सराहना, यथोचित सम्मान र व्यवस्थापन गर्नु पो वाञ्छनीय हुन्थ्यो होला त ! राज्यलाई किन डाहा, औडाहा र छट्पटी भएको ?
होइन भने तपाईंको पार्टी नयाँ–नयाँ भएकोले सामुदायिक विद्यालय व्यवस्थापनमा मूलधारका पुराना राजनीतिक दलसम्बद्ध अटाएको जनशक्तिलाई संरचनाको तहबाटै ध्वस्त पार्न र आफूअनुकूल माहौल सिर्जना गर्न खोजेको अभिष्ट भेटिन्छ ।
५) क्रमशः एउटा हुनेखाने वर्गले मात्र पढ्न पाउने स्थिति सिर्जना गर्न चाहेको देखिन्छ, परस्पर रिसराग र प्रतिशोधका आधारमा शिक्षक सरुवा, बढुवा र निलम्बन गर्न मार्ग प्रशस्त गर्ने बाटो तय गरेको देखिन्छ । आफूअनुकूल शिक्षकलाई नजिकनजिकै राख्न र राजनीतिक आस्थाका हिसावले प्रतिकूल शैक्षिक जनशक्तिलाई दूरदराजका विद्यालयमा धकेल्ने प्रयास गरेको देखिन्छ ।
सामुदायिक विद्यालयमा कुन शिक्षक कहाँ कतिबेला चाहिने ? समुदायले जान्दछ । समुदायको आवश्यकताअनुसार बनेका विद्यालयमा त्यस्तै जनशक्ति चाहिन्छ । यसलाई जबरजस्ती निमोठ्नु र घचेट्नु किमार्थ राम्रो होइन ।
हेक्का रहोस्– यो विकसित देश होइन, विकासोन्मुख मात्र हो । विकासोन्मुखको प्रक्रियामा समुदाय छाडिनु वा टाढिनु हुँदैन । सामुदायिक शिक्षालय–विद्यालयको सन्दर्भमा– जहाँ–जहाँ जुन–जुन विद्यालयसँग समुदायको अन्योन्याश्रित सम्बन्ध छ, ती विद्यालयहरू अपेक्षित सफलताका साथ गतिशील छन्, राम्रोसँग चलेका छन् । जहाँ यो सम्बन्ध छैन, ती विद्यालयहरू हालतमा छन्, परस्पर मिलान गर्नुपर्ने तहमा बिचार–विमर्शका विषय बन्ने गरेकाछन् । परस्पर शिक्षालय–विद्यालय मिलान गर्दा अमुक शिक्षकको घरपायक अवस्था टाढिने डरले विषयवस्तु ओझेल परेको होला ! तर समुदायको सक्रियताले विद्यालय बनेका मात्र उदाहरणहरू प्रशस्तै मात्रामा पढ्न, देख्न, भेट्न, अध्ययन र अनुगमन गर्न पाइन्छन् । ठूलो कुरा समुदायको विश्वास जित्नु हो । अर्थात् तिनलाई विद्यालय विकास र शैक्षिक गुणस्तरसँग जोड्नु हो ।
बेलैमा यससम्बन्धी थप अध्ययन हुन, बहस–विमर्शमा जान र समुदायको विश्वासआर्जन गर्ने विषयमा ध्यान पुग्न जरुरी छ ।