arrow

संसदमा कसैले दिए, कसैले मागे

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
samsadbhawan.jpeg
काठमाडौँ। सांसदहरुले संविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार बसेको व्यवस्थापिका–संसद्  बैठकमा सभामुखसँग समय लिई सांसदहरुले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको विधेयकको मस्यौदा ल्याउन माग गरे । 
 
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जितेन्द्रनारायण देवले सरकारलाई पहिले संशोधनको प्रस्ताव ल्याउन माग गरे ।  देवले न्यूनतम सहमतिमा भए पनि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिँदै संशोधनले नै राजनीतिक स्थायित्व दिने बताए । 
 
सांसद  डिम्पलकुमारी झाले मधेसी जनताको भावना अनुरुप संविधान संशोधनको प्रस्ताव ल्याउन सरकारसित माग गर्दै सरकारले किन संशोधनको प्रस्ताव ल्याउन आलटाल गरिहेको छ भनी प्रश्न गरिन् । 
 
राप्रपाका दिलनाथ गिरीले सरकारले आफ्नो पार्टीलाई संविधान संशोधनका बारेमा कुनै जानकारी नदिएको गुनासो गरे। नेमकिपाका प्रेम सुवालले संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक छैन भने। 
 
आगलागीपीडितलाई राहत माग 
 
नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (एमाले)का शेरधन राईले यही मङ्सिर ५ गते भोजपुर बजारमा भएको आगलागीका पीडितलाई राहत दिन सरकारसँग माग गरे। 
 
सो आगलागीमा परी स्थानीय आठ घर नष्ट भएको थियो भने ५३ जना प्रभावित हुन पुगेका थिए । यसबाट करिब १० रु करोडको क्षति पुगेको बताइन्छ । सांसद कार्कीले आगलागी पीडितलाई तत्काल आवास निर्माण गर्न सहुलित दरमा ऋण उपलब्ध गराउन र राहत प्रदान गर्न माग गरे । 
 
सांसद राईले आगलागी भएको एक हप्ता बितिसक्दा पनि सरकारले पीडितलाई राहत पुर्‍याउन नसकेको आरोप लगाए । राईले संविधान संशोधनको बहानामा संविधानको मर्ममाथि प्रहार गर्न नमिल्ने बताए । 
 
चन्दननाथ मन्दिरको मूर्तिचोर कहाँ 
सांसदले यही मङ्सिर १२ गते जुम्लाको ऐतिहासिक मन्दिर चन्दननाथ मन्दिरबाट मूर्ति चोरिएको तर हालसम्म चोर पक्राउ गर्न नसक्नु सरकारको लापर्वाही भएको बताए । 
 
सांसद गोमा कुँवरले प्रशासनको नाकमुनि नै रहेको मन्दिरबाट मूर्ति चोरी हुनु दुर्भाग्य रहेको बताउँदै सो घटनाका बारेमा छानबिन गर्न माग गरिन् । 
 
सांसद प्रेमबहादुर सिंहले ऐतिहासिक मन्दिरबाट मूर्ति चोरी हुनु लाजमर्दा भएको बताउँदै सरकारले यसका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी चोरलाई समात्न माग गरे। सांसद ललितजङ्ग शाहीले सुरक्षा व्यवस्था फितलो भएका कारण चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको जनगुनासो रहेको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ