arrow

खेल स्वार्थको

रविलाई ओलीले जस्तै प्रचण्डले नबोकेको रीस यसरी पोखे स्वर्णिमले बजेटमा

नीति तथा कार्यक्रमको समर्थन गरेका स्वर्णिमले गरे बजेटको आलोचना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
swarnim-wagle-11-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मंगलबार सरकारले संघीय संसदमा पेश गरेको बजेटप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आलोचनात्मक टिप्पणी गरेका छन् । प्रतिपक्षमा बसेका दलहरुले सरकारले ल्याएको कार्यक्रमको आलोचना गर्नुलाई संसदीय परम्परा मान्न सकिए पनि सरकारमै रहेका दलको नेताले आलोचना गर्नुले विशेष अर्थ राख्छ । 

त्यसो त बजेटको हिसाबले रास्वपाका सबै मन्त्रालयमा उल्लेख्य बजेट पठाइएको छ । सभापति रवि लामिछानेले सम्हालेको गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड, उपसभापति डोलप्रसाद अर्यालले सम्हालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई  ८ अर्ब १० करोड, सुमना श्रेष्ठले सम्हालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुई खर्ब ३ खर्ब ६६ करोड र विराजभक्त श्रेष्ठले सम्हालेको युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

अघिल्लो वर्ष यी मन्त्रालयहरुमा क्रमशः १ खर्ब ९४ अर्ब, १६ करोड, ८ अर्ब ८ करोड २७ लाख,  १ खर्ब ९७ अर्ब २९ करोड ५५ लाख र २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

स्वर्णिमले किन गरे बजेटको आलोचना ?

खासगरी आगामी वर्षको बजेटमा ऋणको आकार ठूलो भएकोमा वाग्लेको टिप्पणी छ । यो वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको बाह्य ऋण र ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ । 

अघिल्लो वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण र २ खर्ब १२ अर्ब रुपैयाँ बराबर बाह्य ऋण उठाउने लक्ष्य राखिएको थियो । यो वर्षको बजेटमा बाह्य ऋण उठाउने लक्ष्य सामान्य मात्रै वृद्धि हुँदा आन्तरिक ऋणमा झण्डै ९० अर्ब बढोत्तरीको लक्ष्य राखिएको छ ।

वाग्लेको पछिल्लो टिप्पणी गलत नभए पनि यो आलोचनात्मक टिप्पणी विशुद्ध रुपमा बजेटको समीक्षामात्रै नभएर यसले राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी कदमलाई समेत संकेत गरेको रुपमा बुझ्न सकिन्छ । किनकी राजनीतिमा आउनुभन्दा अगाडी आर्थिक अवस्थाको बारेमा यथार्थपरक टिप्पणी गर्दै आएका वाग्लेको पछिल्लो समय राजनीति केन्द्रित हुँदै आएको छ । 

वाग्लेको भनाइले अझै अर्थ किन राख्छ भने उनले सरकारले यसअघि ल्याएको नीति तथा कार्यक्रमलाई खुलेर समर्थन गरेका थिए, जबकी त्यो नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम केही थिएन । 

मंगलबार मात्रै रास्वपा सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन भएको छ । लामिछानेको नाम नै उल्लेख नभए पनि उनीमाथि छानबिन गर्ने प्रशस्त आधारसहित उक्त समिति गठन भएको छ । यसबाट रास्वपाका नेताहरु खुशी छैनन् । 

समिति गठन हुने प्रतिनिधिसभा बैठकमा लामिछानेसहित अधिकांश रास्वपा नेताहरु अनुपस्थित थिए । त्यसो त समिति गठन भएपछि रास्वपाका कोही पनि नेताले सार्वजनिक रुपमा टिप्पणी गरेका छैनन् । वाग्लेले बजेटबारे गरेको टिप्पणीमा यो असन्तुष्टि झल्किएको बुझ्न सकिन्छ ।

खासगरी सत्ता साझेदार दल एमालेले रवि लामिछानेलाई जसरी साथ दिएको थियो, त्यसरी माओवादीले नदिएकै कारण अहिले छानबिन समिति गठन गर्नुपर्ने अवस्था आएको रास्वपाको बुझाइ छ । पार्टीको यही बुझाइ वाग्लेको भनाइमा झल्किएको हुनसक्ने कतिपयको टिप्पणी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ