प्रवासको कमाईले गाउँमा विद्यालय

प्रकाश धौलाकोटी प्रकाशित मिति : २०७३ मङ्सिर १५ बुधबार
तेह्रथुम। तेह्रथुमको सम्दु गाविस वार्ड नं. ३ मा जन्मेर हाल प्रवासमा कार्यरत सुमिना चोङबाङले गाउँमा अंग्रेजी माध्यमको विद्यालय खोल्नुभएको छ । छोरा–छोरी पढाउनकै लागि गाउँबाट निरन्तर शहरतिर बसाइँ सर्नेको लर्को लाग्न थालेपछि चोङवाङले गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने निजी विद्यालय खोल्नुभएको हो ।
 
उहाँले विद्यालय सन्चालनकालागि ३५ लाख रुपैयाँ खर्चेर २ तले १० कोठे भवन निर्माण गरी गाउँमै गुणस्तरीय शिक्षा प्रदानकालागि विद्यालय खोलेको बताउनुभयो । ‘अभिभावकको अंग्रेजी मोहले सबैलाई सदरमुकाम डोर्या‍उँदैछ, गाउँमा हुने निम्न वर्गीय परिवारले त्यसरी पनि पढ्न सक्देनन्, उहाँले भन्नुभयो, ‘त्यसैले गाउँमै नानीहरुले अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पाऊन् भनेर विद्यालय खोलेकी हुँ ।’ विद्यालय सेवामुलक ढंगले सन्चालन गर्ने कोशिस गरेकी छु, उहाँले भन्नुभयो ।
 
सुविधायुक्त भवनमा गाउँमै अंग्रेजी माध्यमको पढाई सुरुभएपछि गाउँका धेरै परिवार बसाइँ सर्नबाट रोकिएको प्रिन्सिपल राजु रेग्मीले बताउनुभयो । स्कुलको नाम ह्यात्रुङ झरना अंग्रेजी स्कुल हो । डेढ वर्षदेखि सन्चालनमा रहेको विद्यालयमा अहिले करिब ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा– १ सम्म पढाई हुन्छ । 
 
यो बस्तीमा अंग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यालय स्थापना भएपछि अहिले ५ जनाले रोजगारी समेत पाएका छन् । गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालय खुलेपछि सदरमुकाम म्याङलुङ्ग र जिरिखिम्ती बसेर नानीहरु पढाई रहेका केही परिवार समेत गाउँ फर्किएको प्रिन्सिपल रेग्मीले बताउनुभयो । 
 
सामुदायिक विद्यालयमा खस्किँदै गएको शैक्षिक गुणस्तर उकास्न कसैलेपनि पहल नगर्दा अभिभावक भने निजी विद्यालयतिर आकर्षित छन् । गाउँमा सबैले नानीहरुलाई बोर्डिङ नै पढाउनुपर्छ भन्छन्, सम्दु–२ का कृष्ण कटुवालले भन्नुभयोे, ‘सबैले जिरिखिम्ती राखेर पढाउन थाले, मैलेपनि सानैदेखि नानीलाई उतै पढाउथेँ, तर अहिले गाउँमै विद्यालय खुल्यो, छोरालाई पनि यतै ल्याएको छु।’ गाउँमै विद्यालय खुलेपछि खर्चसँगै नानीलाई सामाजिक मुल्य र मान्यताको सिकाई गर्नसमेत असजिलो नहुने उहाँको भनाइ छ ।
 
चोङवाङको एकल लगानीमा सन्चालित सो विद्यालयमा पढ्नेले चर्को शुल्कसमेत तिर्नु परेको छैन । न्यून शुल्कमा नै गुणस्तरीय शिक्षा दिने ध्येयले अधिकतम खर्च आफ्नै लगानीले धानिरहेको उहाँले बताउनुभयो । ‘अभिभावकबाट पनि केही शुल्क उठाउँछौँ, तर सबै खर्च शुल्कबाट उठेको रकमले धान्दैनँ, प्रिन्सिपल रेग्मीले भन्नुभयो, ‘शुल्कपनि अन्य निजी विद्यालयको जस्तो चर्को छैन ।’ 
 
निजी विद्यालय भएपनि गाउँमा सेवामुलक ढंगले सन्चालन भइरहेको स्थानीय सम्दु माविका प्रधानाध्यापक होमप्रसाद घिमिरेले बताउनुभयो । गाउँमै प्रवीणता प्रमाणपत्र तहसम्म पढेकी चोङवाङ आफुले अंग्रेजी माध्यमको शिक्षा नपाउँदा कष्ट बेहोर्नुपरेकाले पनि अंग्रेजी माध्यमको विद्यालयमा खोलेर सेवा गर्ने प्रयत्न गरेको बताउनुहुन्छ । ०४७ सालमा जन्मिएकी चोङवाङ हाल भारतको गोरखपुरमा कार्यरत हुनुहुन्छ । 
 
नयाँ