arrow

आर्थिक समृद्धिको लागि संविधान कार्यान्वयन : उपराष्ट्रपति पुन

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
sejonnew.jpeg
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनपछि देशमा आर्थिक समृद्धिको ढोका खुल्ने बताएका छन् । 
 
नेपाल आर्थिक पत्रकार समाजको १९ औँ स्थापना दिवसको बुधबार गर्दै पुनले गत वर्ष आर्थिक वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमा खस्केको भए पनि अहिले देशमा विद्युत्भार कटौतीमुक्त भएको, माछामा भारतको एकाधिकार तोडिएको तथा खराब कर्जा आधा घटेको जस्ता सुखद समाचार आइरहेकोमा खुसी व्यक्त गरे। 
 
उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि पर्याप्त आधार तथा स्रोत रहेकाले देशको समृद्धि छोटो अवधिमा नै हासिल गर्न सक्ने बताउँदै सरकारले लगानीमैत्री वातावरण निर्माण गरी पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्दछ भने। संविधान कार्यान्वयन गर्ने वातावरण तयार पार्न राजनीतिक दललाई उनले आग्रह गरे। 
 
ऊर्जामन्त्री जनार्दन शर्माले दृढ इच्छाशक्ति र आर्थिक विकास गर्ने प्रतिबद्धता भए मुलुकको विकास छोटो समयमा गर्न सक्ने बताउँदै नेकपा एमाले र नेपाली काँग्रेसको सहमतिका आधारमा विगतमा तयार भएको दस्तावेजका आधारमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ भने। 
 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपाली सञ्चार माध्यमले राजनीतिक समाचारलाई बढी प्राथमिकता दिइने गरेकोमा अब आर्थिक समाचारलाई बढी प्राथमिकता दिनुपर्ने उल्लेखगर्दै एमाले र काँग्रेसबीच सहमति भएको दस्तावेजलाई नै हेरफेर गरेर सरकारले संशोधन प्रस्ताव ल्याएको बताए । 
 
नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालको व्यापार घाटा २ सय १ अर्ब रहेको बताउँदै देशको निर्यात रु १८ अर्ब तथा सञ्चितिको स्थिति  एक हजार ५४ अर्ब रहेको जानकारी दिए । 
 
समाजका अध्यक्ष गोकर्ण अवस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति पुनले सेजन एवार्ड तथा छात्रवृत्ति पाउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ