arrow

सहकारी ठगीको एउटै प्रकृतिको घटनामा राप्रपा सांसद गीतामाथि मुद्दा, रवि गृहमन्त्रीको कुर्सीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित छिपछिपे सहकारीमा ३२ सय भन्दा धेरै सर्वसाधारणले जम्मा गरेको रकम राप्रपाकी सांसद गीता बस्नेत र उनका ज्वाइँसमेतको मिलेमतोमा ठूलो अपचलन भएको दाबी गरिएसँगै अदालतमा मुद्धा चलाइएको छ ।   

उनीहरूले काल्पनिक खाता खोलेर त्यसमा रकम बचत गर्दै मिलेमतोमा रकम अपचलन गरेको पाइएपछि मुद्धा चलाइएको हो ।

सहकारीका अध्यक्षसहित विभिन्न व्यक्तिहरूको मिलेमतोमा रकम स्थानान्तरण गर्नेदेखि बागमती प्रदेशमा कार्यालय रहेको सांसद बस्नेतका ज्वाइँको सहकारीसँग कारोबार सहकार्य गर्ने भनी निर्णय गरेरसमेत अपचलन भएको पाइएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा असुलै हुन नसक्ने गरी कर्जा प्रवाहसमेत भएको दाबी गरिएको छ ।

तर यही प्रकृतिको मुद्धामा भने गृहमन्त्री रवि लामिछानेलाई उन्मुक्ति दिइएको छ । लामिछाने सञ्चालक रहेको गोर्खा मिडियाको नाममा करोडौँ रुपैयाँ लगानी गर्दा डुबेको छ । 

साथै लामिछानेकै नाममा लिइएको करोडौँ ऋण देखिएको छ । तैपनि उनलाई उन्मुक्ति दिएर गृहमन्त्रीका रुपमा स्वीकार गरिएको छ । 

लामिछानेले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गरेका छन्  । तर सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको छ । 

सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए । ‘उनलाई सहकारीबाट ऋण लिएको भन्ने जानकारी नभएको होइन तर स्वीकार गर्न सकिरहेका छैनन्’, रास्वपाकै एक नेताले भने ।

सहकारीको सञ्चालक समिति तथा ऋण उपसमितिको निर्णय बिना सहकारीमा लगानी गर्ने, सहकारी ऐन २०७४ को दफा १२५ मा उल्लिखित व्यवस्था बमोजिम सहकारीको पूँजी कोषको १० प्रतिशत भन्दा अधिक हुने गरी बिना धितो कर्जा प्रवाह गर्ने, कर्जा प्रवाह गर्दाका बखतमा शेयर जमानी नै नराखी सञ्चालक समिति समेतले विभिन्न कालखण्डमा कर्जा लिने–दिने जस्ता कार्यहरू गरेको खुल्न आए पनि रविलाई राजनीतिक रुपमा संरक्षण गरी उन्मुक्ति दिन खोजिएको छ । 

कर्जा अन्तिम जिम्मेवारी सहकारी ऐन २०७४ को दफा ४३ को कर्तव्यभित्र परिभाषित हुने हुँदा पदीय जिम्मेवारीबाट कोही कसै पनि मुक्त हुन नसक्ने भए पनि त्यही प्रकृतिको अपचलनमा रविलाई गोरखा मिडियाबाट उन्मुक्ति दिएर छिपछिपे सरकारीमा दैनिक काम गरी बचत गरेका ३२ सय ९ जनाको रकम राप्रपाकी सांसद गीता बस्नेतसहित सहकारीका अध्यक्ष योगेन्द्र पाण्डेसहित ३५ जनाको मिलेमतोमा अपचलन भएको भन्दै आइतबार मुद्दा दायर थियो ।

नवलपरासी पूर्व जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा ३५ जनाले काल्पनिक बचत खाता खोलेर सहकारी ठगी गरेको दाबी गरिएको छ । रविले पनि आफ्नो खाता नै नभएको भन्दै अस्वीकार गर्दै आएका छन् ।  

सांसद  बस्नेतले सहकारीको करिब ९६ लाख रुपैयाँ कृष्णसार रिसोर्ट प्रालीको नाममा दाखिला गराएर हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।  

त्यस्तै उनले आफ्ना ज्वाइँ अध्यक्ष रहेको सनराइज सहकारीमा रकम दाखिला गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ । सनराइज सेभिङ एन्ड क्रेडिट नामको काल्पनिक बैङ्क खाता सृजना गरी उक्त खातामा  ८ लाख २६ हजार ८ सय २  रुपैयाँ जम्मा गराएको अनुसन्धानमा देखिएको थियो । 

यसैगरी सनराइजका अध्यक्ष नागेन्द्र रिमालको समेत काल्पनिक खाता सिर्जना गरी रकम बचत राखे बापत भनी ३८ हजार २ सय १० रुपैयाँ ब्याजसमेत देखाइएको थियो । 

सहकारीको रकम अपचलनका लागि बस्नेतले आफ्नो ज्वाइँलाई उक्त सहकारीमा प्रवेश गराएको पनि अभियोग पत्रमा देखिन्छ ।  

सांसद बस्नेतका ज्वाइँ रिमालकोसमेत उपस्थितिमा दुवै सहकारीबीचमा सहकार्य गर्ने निर्णयसमेत सञ्चालक समितिबाट अनुमोदन भएको र यो कार्यले सहकारीको रकम अपचलनलाई वैधता दिने कोसिस गरेको अभियोग पत्रमा उल्लेख छ ।

२०७६ पुस ६ गते बागमती प्रदेशको चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थासँग कारोबारमा सहकार्य गर्ने भनी सञ्चालक समितिबाट निर्णय गराइएको थियो ।   

छिपछिपे सरकारीको रकम सनराइज सहकारीमा पटक पटक स्थानान्तरण भएको अभियोग पत्रमा उल्लेख छ । 

छिपछिपे उपभोक्ता सरकारी कावासोतीको शाखाबाट २०७९ पुस ६ गते २६ लाख ४२ हजार १ सय २० रुपैयाँ,२०७९ असोज २ गते २० लाख रुपैयाँ र २०७९ साउन २५ गते २५ लाख रुपैयाँ निकासा गरी सनराइज सहकारीको चितवनको खातामा जम्मा गरिएको अभियोग पत्रमा उल्लेख छ ।  

अभियोग पत्रमा उल्लेख भएअनुसार  कुल १७ लाख ४० हजार ९ सय ३७ रुपैयाँ तत्कालीन अध्यक्ष योगेन्द्र पाण्डेबाट हिनामिना भएको देखिन्छ ।

सोही प्रकृतिमा रविलाई पनि अभियोग लाग्नुपर्ने अवस्था रहेको छ । ०७७ फागुन ११ मा औपचारिक रूपमा ग्यालेक्सी टेलिभिजनको औपचारिक घोषणासँगै लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बनेका थिए । 

करिब १५ महिनापछि ०७९ असार १ मा उनी कम्पनीबाट बिदा भएका थिए । उनी प्रबन्ध निर्देशक भएको अवधिमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा धमाधम रकम आएको स्पष्ट हुने कागजात प्रहरी र सहकारी कार्यालयमा भए पनि यसलाई नष्ट गराउन आफू अनुकुलका प्रहरी कर्मचारीहरुसमेत परिचालन गरेका छन् । 

काठमाडौँको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको साहारा र पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा सारिएको पुष्टि हुने दस्तावेज अहिले सहकारी कार्यालय, प्रहरीका विभिन्न कार्यालय, सीआईबी, महानगर र अदालतसम्म पनि पुगेका छन । तर सत्ताको प्रभावले अनुसन्धान अघि बढेको छैन ।

सरकारी दस्तावेजअनुसार काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाटमात्र लगानी भन्दै ६४ करोड रुपैयाँ गोर्खा मिडियामा सारिएको छ । 

आर्थिक वर्ष २०७८–७९ को विवरण सहकारी कार्यालयले संकलन गरेको छ  । त्यस्तै बुटवलको सुप्रिम सहकारीबाट १५ करोड ३१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ४ करोड ५० लाख गोर्खा मिडिया नेटवर्कको खातामा गएको छ । 

यीमध्ये ३ करोडका कारोबार हुँदा मात्रै लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिएनन्  । त्यस्तै चितवनको सहाराबाट १२ करोड पनि गोर्खा मिडियामा सारिएको विवरण प्रहरीले संकलन गरेको छ । 

तर कारोबारको मितिबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन । चार सहकारीबाट १३ करोड २६ लाख रवि लामिछाने, विपिनकुमार आचार्य, छविलाल जोशी, गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेलको माध्यमबाट गोर्खा मिडियामा सारिएको छ । 

त्यस्तै ८२ करोड ५५ लाख रुपैयाँ बिनामाध्यम गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको छ । 

लामिछानेको नामबाट सुप्रिम सहकारीबाट ०७७ चैत १८ मा २ करोड, पोखराको सूर्यदर्शनबाट ०७८ असार ३१ मा १ करोड गोर्खा मिडियामा गएको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ