arrow

एल क्लासिको :बार्सिलोना र रियल मड्रिडबीचको प्रतिष्ठाको लडाई

मेस्सी तथा रोनाल्डोको अर्को परीक्षा

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
maxresdefault.jpeg
विश्व क्लब फुटबल अन्तर्गत् हाल विभिन्न देशका लिगमा खेल सञ्चालन भर्इरहँदा संसारभरका फुटबल प्रशंसकहरुले यसको मज्जा उठाई राखेका छन्। यसैबीच जारी सिजनमा ला लिगा अन्तर्गत् रहेका विश्वका दुई उत्कृष्ट क्लब बार्सिलोना तथा रियल मड्रिड एक आपस विरुद्द मैदानमा उत्रदै छन्।विश्व फुटबलमा सर्वाधिक चासोको बिषय रहेको उक्त खेल यो सिजनको पहिलो एल क्लासिको डिसेम्बर ३ को राती बार्सिलोनाको घरेलु मैदान न्यू क्याम्पमा हुँदैछ।
 
 एल क्लासिकोको नामले परिचित रियल तथा बार्सिलोनाबीचको डर्बी खेल संसारभरका सम्पूर्ण फुटबल प्रेमीहरुको प्रतीक्षाको बिषय रहेको छ। सन् १९०२ बाट पहिलो पटक एक आपसमा खेलेको टोलीहरु बिचको खेल हालसम्म आउँदा उनिहरु बिच हुने खेल अझै कटुता, रोमाञ्चक तथा प्रतिस्पर्धात्मक भएको छ।ला लिगामा रहेका यी दुई टोलीबीच पहिलेबाट नै एकले अर्कालाई पछि पार्ने होडबाजीमा रहने गर्दछन्। चाहे त्यो कुनै उपाधिको लागि होस् या खेलाडी भित्राउन, रोचक कुरा त के छ भने विश्व फुटबलमा आफ्नो प्रभाव राखिरहेका यो दुई टोलीबीच जति कटुतापूर्ण सम्बन्ध रहेको छ त्यो भन्दा गहिरो तथा पुरानो प्रतिद्धन्धात्मक सम्बन्ध यी दुई क्लब बार्सिलोना र रियल मड्रिडका समर्थकहरुबीच रहेको छ। जब मैदानमा बार्सिलोना र रियल एक आपसमा खेल्न उत्रने गर्दछन्। तब यी दुई क्लबका समर्थक आफ्नो टोलीको निश्चित जीतसँगै अर्को क्लबको लज्जास्पद हारको कामना गर्दछन्। विश्वभरका प्रत्येक फुटबल प्रेमीको लागि हरेक सिजन प्रतीक्षाको विषय हुने गर्दछ। उक्त खेल हाल रोनाल्डो र मेस्सीबीचको प्रतिष्ठाको विषयको रुपमा हेर्न थालिएको छ। यही शनिबार राती बार्सिलोनाको घरेलु मैदान न्यु क्याम्पमा हुने खेलमा संसार भरका खेलप्रेमीहरुको आँखा रहने निश्चित प्राय छ।
 
 पछिल्लो पटकको भेटमा रियलले घरेलु टोली बार्सालाई २-१ पराजित गरेको थियो भने गत सिजनको पहिलो खेलमा बार्साले रियलको घरेलु मैदानमा ४-० को लज्जास्पद हार चखाएको थियो। । गत वर्षको ला लिगाको विजेता बार्सा यो पटक पनि पछिल्लो सिजनको पहिलो खेलको जस्तै जीत निकाल्ने दाउमा छ भने च्याम्पियन्स लिग बिजेता रियल पनि पछिल्लो पटकको भेटमा जस्तै बार्सिलोनालाई उसकै घरेलु मैदानमा हारको स्वाद चखाउने तरखरमा रहेको छ। यी दुईबीचको खेल केवल अंकका लागि मात्र नभएर आफ्नो विश्व क्लब फुटबलमा रहेको दबदबा कायम राख्न्न तथा आफ्ना समर्थकको चाहानाको कदरको लागि पनि हुनेछ। यी दुबै टोली यो सिजन कम्तिमा लिगको दुई एल क्लासिको जित्न चाहन्छन्।
 
 जारी सिजनमा ला लिगाको १३ औ खेलको समापन भै सकेको अवस्थामा रियल मड्रिड अपराजित रहेको छ उसले १० खेलमा जित हात पारेको छ भने ३ खेलमा बराबरी खेल्दै ३३ अकंको साथ पहिलो स्थानमा रहेको छ । बार्सिलोनाले भने ८ जित, ३ बराबरी तथा २ मा हार आत्मसाथ गर्दै २७ अंक सहित दोस्रो स्थानमा रहेको छ। रियलका क्रिश्चियानो रोनाल्डो हालसम्म १० गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् भने बार्सिलोनाका स्टार लियोनल मेस्सी ९ गोलको साथ दोस्रो स्थानमा रहेका छन्। 
शनिबार हुने खेलमा नतिजा आफ्नो अनुकूल पार्नको लागि दुबै टोलीले आफ्ना प्रमुख हतियार मेस्सी तथा रोनाल्डोको भरपुर प्रयोग गर्न चाहन्छन भने विपक्षी रक्षापंङ्तीको लागि उनिहरुलाई रोक्नु पर्ने चुनौति रहेको छ। बार्सिलोनाका फरवर्ड लाइन कप्तान लियोनल मेस्सी, स्वारेज तथा नेमारले सम्हाल्नेछन् भने रियलको लागि रोनाल्डो, बेम्जेमाले सम्हाल्ने छन्। 
 
मेस्सी तथा रोनाल्डोको अर्को परीक्षा
 विश्व फुटबलमा हाल सबै भन्दा सफल तथा चर्चित खेलाडी कोही छन् भने उनिहरु मेस्सी तथा रोनाल्डो शीर्ष स्थानमा पर्ने गर्दछन्। आफ्नो उत्कृष्ट कौशल तथा खेलका कारण निरन्तर सफलता र चर्चाको शिखरमा रहेका यी दुई प्रतिभाशाली खेलाडीबीच सधै तुलना हुने गर्दछ । यी खेलाडीहरु विगत केही सिजन यता एउटै लिगमा रहनुले पनि यिनीहरुबीच प्रतिस्पर्धा चर्को रुपमा गराएको छ। ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेस्सी ३ सय ५८ खेलबाट ३ सय २१ गोल गर्दै पहिलो स्थानमा छन् भने रोनाल्डोले २ सय ४६ खेलबाट २ सय ७० गोल गर्दै दोस्रो स्थानमा रहेका छन्। यसबाट थाहा पाउन सकिन्छ कि यी दुई खेलाडीको ला लिगा मा कति राज चल्छ भनेर । यिनीहरुका अलवा च्याम्पियन्स लिग, क्लब विश्वकप जस्ता सम्पूर्ण प्रतियोगितामा यी दुई खेलाडी नै हावी हुने गर्दछन्।
 
 क्लब फुटबलमा मेस्सी रोनाल्डोभन्दा केही अगाडि देखिएपनि उनले अर्जेन्टिनाको सिनियर टोलीलाई कुनै पनि अन्तराष्ट्रिय उपाधि जिताउन सकेका छैनन्। यता हालै सम्पन्न युरोकप पोर्चुगललाई जिताउदैँ रोनाल्डोले आफ्नो करियरमा थप उचाई लिएका छन्। फर्ममा रहेका यी दुई खेलाडीको प्रदर्शनमा एल क्लासिकोको नतिजा निर्भर रहनेछ। उनिहरुका लागि यो खेल मार्फत् आफ्नो क्लब तथा समर्थकलाई आफू माथिको विश्वासलाई आफ्नो प्रदर्शनले न्याय गर्नु पर्ने कठिन चुनौति रहेको छ। एल क्लासिकोमा सर्वाधिक खेल खेल्ने तथा गोलकर्ताको सूचीमा मेस्सीले आफुलाई शीर्ष स्थानमा उभ्याएका छन्। उनले कुल ३२ खेल खेल्दै २१ गोल गरेका छन् भने उनले सर्वाधिक १३ गोलका लागि पास उपलब्ध गराएका छन्। भने यता रोनाल्डो पनि १६ गोल गर्दै तेस्रो स्थानमा रहदै मेस्सीलाई पछ्याईरहेका छन् ।
 

 



नयाँ