arrow

मोरङको सुनवर्षी नगरपालिकामा मेयरद्वारा वडाध्यक्षमाथि दुर्व्यवहार

logo
रामकुमार परियार,
प्रकाशित २०८१ असार ६ बिहिबार
mayor-ward-conflict-morang.jpg

मोरङ। मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले कार्यपालिका बैठकमै वडाध्यक्ष माथि दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ।

गत आइतबार कार्यपालिका बैठक चलिरहँदा नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले वडा नं १ का वडाध्यक्ष वीर बहादुर राईलाई अमर्यादित भाषा शैली प्रयोग गर्दै दुर्व्यवहार गरेको वडाध्यक्ष राईले बताए। बैठकका क्रममा मेयरले आफूलाई अपमानजनक व्यवहार गरेको उल्लेख गर्दै वडाध्यक्ष राईले मेयरको गतिविधिलाई तानासाहको संज्ञा दिएका छन्।

वडाध्यक्ष राईका अनुसार बैठकमा आफ्नो वडाका जनताका माग र समस्याहरूबारे प्रसङ्ग निकाल्दा मेयर राजवंशीले असन्तुष्टि जनाउँदै व्यक्तिगत आक्षेप समेत लगाए। "मेयरज्यूले अमर्यादित भाषा प्रयोग गरेर मेरो मानमर्दन गर्नुभयो, जसले गर्दा मैले आफूलाई असुरक्षित महसुस गरेँ," राईले बताए।

एमालेबाट निर्वाचित मेयर श्याम राजवंशीले वडाध्यक्षलाई दुर्व्यवहार गरेको घटना बाहिरिए लगत्तै युवा सङ्घले उक्त घटनालाई राजनीतिकरण गर्ने प्रयास गरेको छ। युवा सङ्घमा आबद्ध व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत मेयर राजवंशीको पक्ष लिँदै वडाध्यक्ष माथि विभिन्न टीकाटिप्पणी गर्न थालेका छन्।

राजनीतिक पूर्वाग्रह राखेर वडाध्यक्षमाथि कार्यपालिका बैठकमै दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि नेपाली काङ्ग्रेस मोरङले उक्त घटनाको कडा शब्दमा निन्दा गरेको छ। नेपाली काङ्ग्रेस मोरङका सूचना , सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख वीरेन्द्रकुमार शाहले बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर राजवंशीको उक्त हरकत लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको ठहर गरेको छ।

विज्ञप्तिमा मेयरले तुरुन्तै आफ्नो व्यवहार प्रति सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो हरकत नदोहोर्‍याउने प्रतिबद्धता गर्नुपर्ने उल्लेख गरिएको छ। यस विषयमा कुरा गर्न मेयर राजवंशीलाई टेलिफोन सम्पर्क गर्दा उनी बोल्न मानेनन्।

यस घटनाप्रति नगरवासीहरूले पनि असन्तुष्टि जनाएका छन्। उनीहरूले जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रमा मर्यादित र जिम्मेवार व्यवहार देखाउनु पर्ने माग राखेका छन्। सुनवर्षी नगरपालिकामा यस घटनाले प्रशासनिक वातावरणमा तनाव उत्पन्न गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ