arrow

आठ लघुजलविद्युत् आयोजना बन्द

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
micro_hydro_cartoon1.jpg.jpeg
फलेवास (पर्वत) । विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् । 
 
हाल तीन वटा मात्र आयोजना सञ्चालनमा छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत गाउँमा विद्युतीकरण लाइन पुगेपछि लघु जलविद्युत् आयोजना धमाधम बन्द भएका हुन् । सहरमा विद्युत्भार कटौती हुँदा पनि सधैँ उज्यालो रहने गाउँका ११ लघुजलविद्युत्मध्ये अहिले तीन वटाले मात्रै उत्पादन गरिरहेका छन् । 
 
दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट अगुवाखोला, पाङराङको साढे सात किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट र क्याङ गाविसमा रहेको १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत पूर्ण रुपमा बन्द छन् । 
 
त्यस्तै बाच्छा गाविसको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनाले उत्पादन गर्न छाडेका छन् । अहिले भुकताङले गाविसमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला, भोक्सिङको छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजनामा मात्र सञ्चालनमा रहेको जिविस ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारले जानकारी दिइन् । ती आयोजना पनि मर्मत अभावले अल्पकालीन रुपमा चल्ने र बन्द हुने गरेका छन् । 
 
शिलाकारले भने गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताइन् । “बन्द रहेका आयोजना सुचारु गराउन पहल भइरहेको छ,” उनले भनिन् , “स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएका हुन् ।” 
 
जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएको शिलाकारले जानकारी दिइन् । “२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको रु २५ तिरे पुग्थ्यो” उनले सुनाइन् ।
 
विसं २०५५ देखि सञ्चालनमा रहेका ती आयोजना अहिले भग्नावशेष बनेका छन् । ती आयोजनाका लागि  दुई करोड २५ लाख खर्चिए तापनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले पूरै उपेक्षित हुने अवस्थामा पुगेका हुन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ