काठमाडौं । बिहीबार उत्खनन् गर्ने क्रममा सुन जस्तै धातु भेटिएको विषयमा थप जानकारी आउन अझै केही दिन लाग्ने भएको छ । मेलम्ची आयोजनाको सुरूङ मार्ग खन्ने क्रममा सुन जस्तै एउटा धातु भेटिएपछि आयोजनाको काम तत्कालको लागि बिहीबार देखि नै रोकिएको थियो ।
सो विषयमा आयोजनाले स्याम्पल यथार्थ पहिचानको लागि खानी तथा भूगर्भ विभागमा पठाईएको भनिएपनि खानी तथा भूगर्भ विभागले भने यस विषयमा आफूलाई केहीपनि जानकारी प्राप्त नभएको जनाएको छ । विभागका निमित्त महानिर्देशक समेत रहेका उपमहानिर्देशक रामप्रसाद घिमिरेले शुक्रबार कार्यालय समयसम्म प्राप्त नभएको जानकारी दिए ।
उनका अनुसार त्यो सुन हो कि होईन भन्ने विषयमा पहिचान गर्नको लागि स्याम्पल पाईसकेपछि विभागले प्रयोगशालामा स्याम्पल टेस्ट गर्छ र थप अध्ययनको लागि कार्यक्षेत्रमा पनि गएर अध्ययन गर्छ । त्यसपछि मात्रै त्यो के हो भन्ने कुरा निक्र्याैल हुने घिमिरेले जानकारी दिए । त्यसको लागि केही दिन लाग्ने बताईएको छ ।
सो धातु भेटिएको बिहीबार हो । सुरूङमार्गमा पर्ने ‘हेडोक्स एरिया’मा सुन जस्तै पहेँलो बस्तु भेटिएपछि तत्कालको लागि सो क्षेत्रमा काम रोकेर सुरक्षा व्यवस्था कडा बनाईएको मेलम्ची आयोजना प्रमुख घनश्याम भट्टराईले जानकारी दिए । यसरी उक्त बस्तु पहिचान नभएसम्मको लागि काम रोकेको आयोजनाले अझै केही दिन काम रोक्ने देखिन्छ ।
सिन्धुपाल्चोकको हेलम्बू गाविस स्थित ‘रि वर्मा’ भन्ने खोल्सामा पहरो काट्ने क्रममा त्यस्तो बस्तु भेटिएको हो । आयोजनाको ‘पाईराईट वे’ मा भेटिएको यस्तो पदार्थ सुन तथा तामा जन्य धातु हुनसक्ने र यस्तो भएको खण्डमा स्थानीयको भीड लाग्न सक्ने भएकोले त्यहाँ रहेका नेपाली सेना र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिईएको पनि भट्टराईले जानकारी दिए ।