arrow

माधवलाई सर्वसम्मत बनाइने, अध्यक्षका दुई दावेदारलाई दोस्रो र तेस्रो वरीयता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)मा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन लागिएको छ । 

अध्यक्षका दुई दावेदारलाई क्रमशः दोस्रो र तेस्रो वरीयतामा राखेर नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन लागिएको हो ।  

नेताहरू सहमति जुटाउने प्रयासमा लागेकाले दिँउसो २ बजे हुने भनिएको मनोनयन दर्ताको प्रक्रिया केही पछि सरेको छ । 

सहमतिको प्रयासका लागि प्रदेश अध्यक्ष, पार्टीका विभिन्न विभागहरुले भूमिका खेलेका छन् । 

दोस्रो विकल्पमा, नेपाल अध्यक्ष र भुसाल वरिष्ठ उपाध्यक्ष हुने प्रस्ताव भए पनि अध्यक्ष नेपालका बलिया दावेदार नेपालले महासचिवमा आफ्नै खेमाका जगन्नाथ खतिवडालाई ल्याउन चाहेका छन् ।  

भुसालले महासचिवमा प्रकाश ज्वालालाई बोकेपछि समस्या भैरहेको छ । महाधिवेशनस्थलमा रहेका प्रतिनिधिहरुका अनुसार पहिलो विकल्पमा नेपाल र भुसाललाई साविककै पदमा क्रमशः अध्यक्ष र महासचिव दोहोर्याउनेबारे छलफल भइरहेको छ । 

त्यो नभए अध्यक्ष पछिको तेस्रो वरियताबारे छलफल भैरहेको स्रोतले जनाएको छ ।  भुसाललाई मनाउन उनका पक्षका केही नेतालाई पदाधिकारी र सदस्यमा समेट्ने गरी कुरा भइरहेको छ । 

तर भुसालको पक्षमा को को छन् भन्ने बारेमा केही जानकारी दिइएको छैन । भुसालको पक्षमा भनेर यतिबेला कोही खुलेका छैनन् । महासचिवमा प्रकाश ज्वाला बाहेक कोही खुलेका छैनन् । मन्ध्यान्ह महाधिवेशनस्थलमा बाहिर निस्केर माधव नेपालले सहमतिबाटै नेतृत्व चयन हुने आश्वासन दिएका थिए ।
 
सर्वसम्मतिका लागि झलनाथ खनाल, माधव नेपाल, घनश्याम भुसाल, वेदुराम भुसाल र प्रमेश हमालले विभिन्न चरणमा छलफल गरेका थिए । तर अहिले माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल बसेर शक्ति बाँडफाँडको बारेमा पनि छलफल गरिरहेका छन् । 

महाधिवेशनको आज अन्तिम दिन भएकाले महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेजहरु बुधबार नै अनुमोदन भइसकेका छन् । 

महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको छ । 

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचनमण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशन भैसकेको छ ।  

मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदान कार्यक्रम आजै रहेको छ । निर्देशिकामा, प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । 

सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने उल्लेख छ । 



नयाँ