arrow

ग्रीड कम्पनीमा पाँच जनाको आवेदन, साताभित्रै चयन गरिने

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
electric-transmission.jpeg
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जनाले आवेदन दिएका छन् । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको कम्पनीले प्रमुख कार्यकारी अधिकृतको छनोट प्रक्रिया अगाडि बढाएपछि भने गति लिने विश्वास लिइएको छ । 
 
ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थका अनुसार उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि नेत्र ज्ञवाली, महेश महतो, सूर्य अधिकारी, मोहन न्यौपाने र भूपेन्द्र झाको आवेदन परेको छ । 
 
आवेदन दिएकामध्ये ज्ञवाली पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक, अधिकारी बुटवल पावर कम्पनीमा कार्यरत इन्जिनियर हुनुहुन्छ भने महतो, न्यौपाने र झा परामर्शदाताका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । मन्त्रालयले गत कात्तिक २७ गते १५ दिने सूचनामार्फत ग्रीड कम्पनीको कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो । 
 
यही मङ्सिर १२ गतेसम्मका लागि तोकिएको समयसीमाभित्र रीतपूर्वक आवेदन दिएकालाई मूल्याङ्कन प्रक्रिया सुरु गरिएको सहायक प्रवक्ता पन्थले जानकारी दिए । मूल्याङ्कनका लागि अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी संयोजकत्वको टोलीले काम गरिरहेको छ । एक साताभित्रै प्रमुख कार्यकारी अधिकृत छनोटको प्रक्रिया सम्पन्न हुने र कम्पनीले गतिलिने विश्वास ऊर्जाले लिएको सहायक प्रवक्ता पन्थको भनाइ छ । 
 
सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गतिदिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारीअनुसार प्रमुख कार्यकारी अधिकृतको विज्ञापन गरेसँगै कम्पनीले पूर्णता पाउन लागेको हो । 
 
ऊर्जा मन्त्रालयले कम्पनीको प्रतिनिधिमा प्राधिकरणको ११औँ तहको उपकार्यकारी निर्देशक पठाउन ताकेता गरेको लामो समय भए पनि प्राधिकरणले अटेर गर्दै आएको थियो । व्यवस्थापन समूहबाटै भए पनि कम्पनी अगाडि बढाउने लक्ष्यका साथ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रिया सुरु गरेको हो । 
 
व्यवस्थापन समूहमा विद्युत् विकास विभागका उपकार्यकारी निर्देशक, अर्थ मन्त्रालयका उपसचिव र प्राधिकरणको ११औँ तहका उपकार्यकारी निर्देशक रहने व्यवस्था छ । 
 
पछिल्लोपटक प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन भएका सन्दर्भमा कम्पनीका लागि प्रतिनिधिसमेत पाउने अपेक्षा गरिएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीलाई आवश्यक पर्ने प्रतिनिधि पठाउने तयारीमा आफू रहेको जानकारी दिएका छन्। 
 
प्रसारण लाइन निर्माणमा सहजता दिन र हाल निर्माणमा रहेका आयोजनालाई पनि समयमै समपन्न गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरिएको हो । मुलुकभर हाल प्राधिकरणसहित अन्य साझेदार संस्थाले ४५ वटा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । 
 
प्राधिकरणले अगाडि बढाएका प्रसारण लाइन निर्माणको काम सहज रुपमा अगाडि नबढेको, समय र लागत मात्रै बढिरहेका अवस्थामा बेग्लै कम्पनीमार्फत काम गर्दा सहज हुने विश्वास लिइएको छ । चालु आवको बजेट वक्तव्यमा उल्लेख भएअनुसार प्राधिकरणलाई खण्डीकरण गर्ने र उसले गर्दै आएको कामलाई सहज रुपमा कम्पनीमार्फत अगाडि बढाउने उद्देश्यअनुसार नै कम्पनी स्थापना भएको हो । 
 
कम्पनीको प्रमुख कार्यकारी छनोटपछि आवश्यक जनशक्तिको समेत व्यवस्थापन गरेर काम सुरु गर्ने भन्ने केही समयअघि सम्पन्न साधारणसभाको निर्णयअनुसार नै प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ