काठमाडौं । उद्योग मन्त्रालयले मुलुकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्र्याउने उद्देश्यले अन्तराष्ट्रिय लगानी सम्मेलनको तयारी गरेको छ । मन्त्रालयले फाल्गुन तेस्रो साता देश तथा विदेशका लगानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरणबारे प्रकाश पार्ने तयारी गरेको उद्योग मन्त्रालयले जनाएको छ । सम्मेलन फाल्गुन १९ र २० गते काठमाडौंमा गर्ने तयारी भईरहेको छ ।
त्यसको लागि उद्योगमन्त्रालयले भटाभट लगानीमैत्री ऐन निर्माण गर्ने तथा यसको वातावरण तयार पार्न थालेको छ । औद्योगिक क्षेत्रमा लगानीकर्ताहरुका लागि लगानीमैत्री वातावरण सिर्जना नभएको आरोप लागिरहेको बेलामा उद्योग मन्त्रालयले भने लगानीको वातावरणमा देखिएको अवरोध हटाउने गरी दू्रत गतिमा ऐन तयार पार्ने काम चलिरहेको जनाएको छ ।
मन्त्रालयको यही नीति अनुसार सरकारले अहिलेसम्म विशेष आर्थिक क्षेत्र ऐन जारी गरिसकेको छ भने औद्योगिक व्यवसाय ऐन पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित हुन बाँकी रहेको छ । उक्त ऐनले निजी क्षेत्रले चाहेको माग पूरा गर्ने मन्त्रालयको बुझाई रहेको छ ।
आर्थिक वर्ष २०७३÷७४ को वार्षिक बजेटमा पनि सरकारले लगानी मैत्री वातावरण सिर्जना गर्नको लागि आवश्यक कानून संशोधन गर्ने घोषणा गरेको थियो । सरकारको घोषणा अनूरुप नै उद्योग मन्त्री बनेर आएका नवीन्द्रराज जोशीको पहलमा आवश्यक सम्पूर्ण कानून निर्माण तथा संशोधन गर्ने तयारी भईरहेको मन्त्रीका पे्रस सल्लाहकार प्रदीप चापागाईँले जानकारी दिए ।
त्यस्तै, कम्पनी ऐन छलफलको लागि संसदीय समितिमा पठाईसकिएको छ भने प्रविधि हस्तान्तरण सम्बन्धि ऐनको विधेयक पनि छिट्टै ल्याउने तयारी भईरहेको चापागाईँले जानकारी दिए ।
यससँगै बौद्धिक सम्पत्ति सम्बन्धि ऐन र अन्तराष्ट्रिय लगानीका लागि आवश्यक पर्ने विधेयकहरु फाल्गुन दोस्रो सातासम्ममा तयार पारिसक्ने तयारीमा सरकार लागेको छ । यसकालागि द्रूत गतिमा काम भईरहेको पनि मन्त्रालयले जनाएको छ ।