arrow

दोस्रो उपप्रधानमन्त्री थप्न देउवासँग ओलीको छलफल, चाहना विष्णुलाई अर्थमन्त्री बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
bishnu-poudel-2079-11-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस र एमालेको सहकार्यमा नयाँ सरकार बन्ने निश्चित भए पनि मन्त्रालय र मन्त्री भने निश्चित भएको छैन । 

कांग्रेसको समर्थनमा बन्न लागेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा को को जाँदैछन् भन्ने टुंगो लागिसकेको भए पनि एमालेले यसलाई बाहिर ल्याएको छैन । 

कांग्रेससँगको सहकार्यमा उपप्रधानमन्त्री एक जना मात्रै रहने चर्चाले पनि तत्कालै एमालेले मन्त्रीहरुको नाम सार्वजनिक गरेको छैन । 

कांग्रेसबाट उपप्रधानमन्त्री हुने भएमा एमालेबाट विष्णु पौडेल मन्त्री हुने सम्भावना कमजोर रहेको छ । यद्यपि एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटमा एमाले र कांग्रेस दुवैबाट दुई उपप्रधानमन्त्री राख्न प्रस्ताव गरेका थिए ।

‘यदि त्यसो भएमा एमालेको तर्फबाट विष्णु पौडेल अर्थमन्त्री हुनेछन् । अहिले संसद बाहिरबाट मन्त्री नबनाउने एमालेको नीति अनुरुप आफ्नो मन्त्रिपरिषदमा ओलीले पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउन चाहेका छन् ।

एमालेका एक पदाधिकारीका अनुसार अर्थमन्त्रीमा उपाध्यक्ष पौडेल जाने पक्का रहेकोे छ । चुनाव जितेको सांसद हुनुपर्ने, अनि अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाएको अवस्थामा एमालेबाट पौडेल निर्विकल्प रहेको स्रोतको दाबी छ । 

त्यसकै लागि बुधबार साँझ ओलीले दुई उपप्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् । यो विषयमा कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको स्रोतको दाबी छ । 

बुधबारको भेटघाटमा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई पनि साथमा राखेका थिए । साथै देउवासँग रमेश लेखक साथमा रहेका थिए ।  

एमालेले मन्त्रीकै विषयमा पार्टी सचिवालयबाट वा अन्य विषयमा अहिलेसम्म छलफल गरेको छैन । पौडेललाई यसअघि एमाले–माओवादी गठबन्धनमा पठाउन खोजिए पनि उनी तयार भएका थिएनन् । 

यसअघि ओलीकै मन्त्रिपरिषदमा ०७७ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए । ०७९ को आम चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषदमा उनी फेरि अर्थमन्त्री थिए । 

कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिएका थिए ।

एमालेबाट अर्थमन्त्री बन्न सक्ने सम्भावित रहेका नेताद्वय महासचिव शंकर पोखरेल, नेता सुरेन्द्र पाण्डे भने संसद बाहिर रहेकाले उनीहरुलाई पार्टी काममै खटाउने बताइएको छ । 

प्रचण्डको मन्त्रिपरिषद्मा एमालेले कम अनुभव र एक्सपोजर भएका पात्रहरु पठाए पनि यसपल्ट त्यसो नगर्ने संकेत गरेको छ ।

प्रचण्ड सरकारमा सहभागी भएका केही मन्त्रीलाई दोहोर्याउने सक्ने संभावना पनि देखिएको स्रोतको दाबी छ । 

यसपटक पूर्वबाट योगेश भट्टराईको संभावना रहेको बताइएको छ । एमालेले लिने दुई मन्त्रालय भने निश्चित भइसकेको छ । 

अर्थ र सञ्चार मन्त्रालय एमालेले लिने निश्चित जस्तै रहेको स्रोतले जनाएको छ । गृह र परराष्ट्र कांग्रेसले लिने निश्चित भैसकेको छ । 

स्वास्थ्यमा एमाले र कांग्रेसबाहेक सरकारमा सहकार्यका लागि आउनेलाई राखिने स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ