arrow

रमेश लेखकको संसदीय राजनीतिको ‘ह्याप्पी इन्डिङ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
ramesh-lekhak-81-3-31-yyy.jpg

काठमाडौँ । गत फागुनमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकतर्फी रुपमा नेपाली कांग्रेसको साझेदारी त्यागेर एमालेसँग समीकरण बनाएपछिको पहिलो सम्बोधनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहाललाई भनेका थिए, ‘तपाईंबाट धोका पाउन बाँकी अब कोही रहेनन्, सोच्नुस् त धोका पाएकाहरु कुनै दिन एक ठाउँमा आए भने तपाईं कहाँ पुग्नुहोला ?’ 

कांग्रेस संसदीय दलको बैठकबाट आधिकारिक रुपमै राजनीतिक बेइमान घोषणा गरेका प्रचण्डसँग बदला लिनु कांग्रेसका लागि अपरिहार्य नै थियो । चार महिनाकै छोटो अवधिमा प्रचण्डलाई राजनीतिक जवाफ दिँदै यतिबेला कांग्रेस फेरि सरकारमा पुगेको छ । यसको प्रमुख सुत्रधार रहेका लेखक शक्तिशाली मन्त्रालयसहित सरकारमा पुगेका छन् । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले लेखकलाई गृहमन्त्रीमा नियुक्त गरेका छन् । क्याबिनेट मन्त्रीहरुमा गृहमन्त्रीलाई सर्वाधिक शक्तिशाली मन्त्रीसमेत मानिन्छ । 

२०२० साल मंसिरमा कञ्चनपुरमा जन्मिएका लेखक विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा उदाएका हुन् । २०३७ सालमा नेविसंघको कञ्चनपुर जिल्ला उपसभापति रहेका उनी त्यसपछि पार्टीको मूल राजनीतिमा प्रवेश गरेका थिए । 

लेखक २०५६ सालमा पहिलोपटक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । त्यो कार्यकालमा उनले तत्कालीन समयमा माओवादी सशस्त्र युद्धलाई अन्त्य गर्न गठित वार्ता टोलीमा उनी सदस्यको रुपमासमेत काम गरेका थिए । 

लेखक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट र २०७० मा प्रत्यक्ष निर्वाचित भएका थिए । कानूनको विद्यार्थी रहेका उनी २०७२ सालको संविधान मस्यौदा समितिको सदस्यको रुपमासमेत काम गरे । २०७९ सालमा कञ्चनपुर ३ बाटै निर्वाचित भएका उनी कांग्रेसको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । 

लेखकको सरकारमा सहभागीता भने यो चौथोपटक हो । राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गरेपछि २०६३ सालमा बनेको सरकारमा उनी पहिलोपटक श्रम राज्यमन्त्री बनेका थिए । पछि उनले श्रममन्त्रीकै जिम्मेवारी पाएका थिए । त्यस्तै २०७३ सालको चुनावी सरकारमा उनी भौतिक पूर्वाधारमन्त्री बनेका थिए । 

तर मन्त्रीको रुपमा उनको कुनै पनि कार्यकाल धेरै लामो अवधिसम्म जान सकेको छैन । अहिले मुलुककै दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको छ । अंकगणितको हिसाबले निकै बलियो मानिए पनि त्रिशंकु संसदीय अंकगणितको हिसाबले हेर्दा अझै पनि सरकार सुरक्षित छैन । यस्तो अवस्थामा उनको कार्यकाल कति रहन्छ हेर्न बाँकी छ ।

२०७९ सालको संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैगर्दा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रमेश लेखकले सार्वजनिक रुपमै भन्ने गरेका थिए, ‘साथीहरु संसदीय राजनीतिमा यो मेरो अन्तिम प्रतिस्पर्धा हो । अब म चुनाव लड्दिँन, अध्ययनमा लाग्छु । अर्को निर्वाचनका लागि तपाईंहरु तयार हुनुहोला ।’ 

एउटै व्यक्ति एउटै निर्वाचन क्षेत्रबाट पटक पटक उठ्ने प्रवृत्तिले अर्को पुस्ताको नेतृत्व विकास प्रक्रिया नै अवरुद्ध हुँदै आएको समयमा उनको यो घोषणा संसदीय राजनीतिकै एउटा क्रान्तिकारी थियो ।  

निर्वाचित भएर आएको डेढ वर्षपछि पनि उनी बेलाबेलामा यही भनाइ दोहोर्याउँदै आएका छन् । तर उनकै भनाइ अनुसार संसदीय राजनीतिको उत्तरार्धमा रहेका लेखकले सरकार निर्माणको सुत्रधार र सरकारको सहयात्री भएर ‘ह्याप्पी इन्डिङ’ गरेको स्पष्ट देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ