arrow

नेपाली फुटबलको परिक्षा : गोल खडेरीकाबीच आकर्षण नवयुग

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
nabayug-n.jpg.jpeg
काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग अभ्यास खेल खेल्दैछ । बंगलादेशको ढाकामा हुने खेल साँझ पौने ५ बजे सुरु हुनेछ । एक हप्ते तयारीका लागि बंगलादेश पुगेको नेपाली टोली त्यहाँबाट सोझै साफ च्याम्पियनसिपको लागि आयोजनास्थल भारतको केरला पुग्ने तालिका छ ।  
 
अनिल गुरुङको कप्तानी रहेको नेपाली राष्ट्रिय टोलीमा यसपटक युवा खेलाडीहरुको बर्चश्व छ । जसमा आकर्षणको केन्द्र हुन् । नवयुग श्रेष्ठ  । श्रेष्ठ यसअघि घरेलु लिग खेल्दा अब्बल ठहरिएका छन् । राष्ट्रिय टोलीका लागि उनी नयाँ भएपनि टोलीलाई सफलता दिलाउने कौशल उनीसंग छ । दुई पटक राष्ट्रिय लिगमा सर्वाधिक गोलकर्ताको रेकर्ड राखेका नवयुग राष्ट्रिय टोलीका लागि मूख्य आकर्षण ठहरिएका छन् । 
 
इलामबाट खेल करिअर सुरु गरेका उनी त्रिभुवन आर्मी क्लबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए । इलामको मंगलबारेका नवयुग नेपाली फुटबलको भविष्य देख्छन् । साफ च्याम्पियनसिपमा समेत सोचे अनुरुपको सफलता मिल्नेमा नवयुग विश्वस्त छन् । यसअघि, राष्ट्रिय टिमका कप्तान सहित केही फटबलर खेल मिलेमतोमा निलम्बित भएपछि नेपाली फुटबलको भविष्यमा प्रश्न उब्जिएको छ । 
 
अन्तर्राष्ट्रिय खेल मिलेमतोमा नियमित कप्तान र उपकप्तान सहितका केही खेलाडी निलम्बनमा परेपछी नेपाली टोलीमा अधिकतम नयाँ खेलाडीहरु समेटिएका छन् । लगातार ९ खेलसम्म गोल गर्न नसकेर ओलचित बनेको नेपाली राष्ट्रिय फुटबल टोलीमा भरपर्दा खेलाडी परेकैले गोलको खडेरीमा पूर्ण विराम लाग्ने धेरैको आशा छ । 
 
२०७० भदौमा काठमाडौंमा भएको साफ च्याम्पियनसिप फुटबलको समूह चरणमा भारतलाई २–१ ले हराएको नेपालले त्यसपछिका ९ खेलमा गोल गर्न सकेन । ती मध्ये ७ खेल हारेको नेपालले भारतविरुद्ध पछिल्लो पटक दुई खेल भने गोलरहित बराबरीमा सक्कायो । भारतको केरलामा यही पौष ८ गतेदेखि हुने साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत र श्रीलंका रहेको समूह ‘ए’ मै छ । कठिन  समूहमा परे पनि नेपाली खेलाडी उच्च मनोबलका साथ केरला पुग्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ