arrow

बाख्रा पालनबाटै मासिक ५० हजार आम्दानी

logo
राजन परियार,
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
bakhra-palan-news-photo,-sindhuli-(2).jpeg
सिन्धुली  । बाख्रा पालन ब्यावसायबाट मासिक ५० हजार आम्दानी गर्न सकिन्छ भन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ त्यो पनि महिलाहरुबाट तर जिल्लाको लदाभिर गाविसका प्राय महिलाहरु बाख्रा पालन ब्यावसायबाटै मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आत्मनिर्भर बन्न सफल भएका छन् ।
 
हाल दुधौली नगरपालिका (साविकको लदाभिर गाविस)का महिला कृषकहरुले गाविसलाई नै ब्यावसायीक बाख्रापालनका दृष्टिले पकेट क्षेत्र घोषणा गर्दै गरेको ब्यावसायबाट प्रसस्त आम्दानी गर्न थालेका छन । गाविसका एक परिवारले मासिक कम्तीमा १५ देखी ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय तथा बाख्रा पालक ब्यावसायी सिता हमालले बताइन् ।
 
लदाभिर गाविस ५ स्थित ज्योति परिवार बाख्रापालन कृषक समुहमा आबद्ध हमालले आफुले बाख्रा पालन गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको बताईन् । उनि गाविसकै नमुना र उत्कृष्ठ कृषक हुन् । उनले हाल ८० वटा खसीबाख्रा पालेकी छिन् । ‘आधुनीक प्रविधिको खोर व्यवस्थापन सहित पालिएको बाख्राबाट बार्षीक ५ लाख भन्दा वढी आम्दानी गर्ने गरेको छु,’ हमालले भनिन् । 
 
गाविसमा हेफर इन्टर नेशनल नेपालको आर्थिक  सहयोग र हाम्रो प्रयास नेपाल सिन्धुलीको प्राविधिक सहयोगमा साना उद्यमी सुदृढीकरण परियोजना मार्फत ६ वटा उन्नत जातका बोका र पाठी सहयोग पाएपछि हमालले ब्यावसायीक बाख्रापालन सुरु गरेकी थिइन् । उनले भनिन, ‘अहिले मेरो खोरमा ८० वटा भन्दा बढी उन्नत जातका खसी बाख्रा छन् । महिनामा तिनदेखी चारवटासम्म खसीहरु विक्री गर्ने गरेको छु । त्यसबाट ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ 
 
२०६९ सालबाट हेफर इन्टरनेश्नल नेपालले गरेको सहयोग पछि गाविसका झण्डै १ हजार ४ सय १६ घरका महिलाहरुले विभिन्न ६० वटा समुह बनाएर बाख्रा पालन गरेका छन् । उनिहरुलाई ७५ वटा विऊ बोका निशुल्क उपहारका रुपमा वितरण गरेको छ । संस्थाले दिएको विऊ बोका र आफुहरुले पाल्दै आएका बाख्राविच नश्ल सुधार गरेपछि आम्दानीमा समेत वृद्धि हुन थालेको अर्की कृषक राजकुमारी तामाङले वताइन् । 
 
‘मैले ५५ वटा खसीबाख्र पालेकी छु । मलाई मेरो ब्यावसायबाट दुई वर्षदेखी बार्षीक ४ लाख आम्दानी भएको छ । त्यस बाहेक पोसिलो घाँषको खेती गरेकी छु । त्यसबाट पनि वार्षीक लाख भनदा बढी आम्दानी हुन्छ,’ तामाङले भनिन् ।
 
उनले दुई विगाहा जमिनमा घाँस खेती गरेकी छिन् । आफ्नो बाख्रालाई आवश्यक बाहेकको घाँस छिमेकीलाई विक्री गर्ने गरेको उनको भनाई छ । हमाल र तामाङ जस्ता गाविस भरका १४ सय महिलाहरु मासिक रुपमा यसरी आम्दानी लिदै आएका छन् ।  आफुहरुको सानो सहयोगले गाउँनै परिवर्तन भएको हाम्रो प्रयास नेपाल सिन्धुलीकी अध्यक्ष गंगा दाहालको भनाइ छ । संस्थाले कृषकहरुलाई बैज्ञानीक रुपमा पशुपालन गर्न सिकाएपछि यस्तो परिर्वतन आएको उनको दावी छ । उनले भनिन्, ‘अहिले गाविसबाट महिनामा एक सय भन्दा बढी खसी बोका विक्री हुने गरेको छ । यसबाट मासिक रुपमा नै झण्डै १५ देखी २० लाख रुपैयाँसम्म गाउँमा भित्रन्छ ।’
 
बाख्राबाट आम्दानी मात्र नभएर उनिहरुको जिवनमै परिर्वतन आएको दाहालले भनाइ छ । आफ्नो ब्यावसायका अतिरीक्त स्थानीय महिलाहरु मन्दिर, बाटोघाटो, खानेपानी, विद्यालय लगायतका विकास निर्माणको काममा समेत नेतृत्व सहितको सक्रिय सहभागिता देखाउन थालेका छन् । 
 
महिलाहरुले आफुले गरेको आम्दानीले घरखर्च कटाएर मासिक बचत समेत गर्ने गरेका छन् । गाउँमै प्रयास सामाजिक महिला उद्यम सहकारी संस्थाको गठन गरी आफ्नो आम्दानीलाई बचत गर्ने गरेका छन् । उनिहरुले पालन गरेका खसीबाख्रा र सुधारीएको खोर हेर्न तथा खसी बाख्रा खरीद गर्न जिल्लाका अलवा झापा, बुटवल, धादिङ, चितवन लगायतबाट आउने गरेका छन् ।
 
हमाललाई स्वर्णीम पुरस्कार
यसैविच सुधारीएको खोरको निर्माण गरी गाविसमै नमुना कृषकका रुपमा बाख्रा पाल्दै आएकी दलाभिर गाविस ५ की सिता हमाललाइ नगद ७० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । हेफर इन्टरनेश्नल नेपालले नगद सहित गाविसमा बाख्रापलन ब्यावसायमा उत्कृष्ठ हुन सफल हमाललाइ उत्कृष्ठ कृषक समेत घोषीत गरेको छ ।
 
गाविसमा आयोजित एक समारोहका विच हमाललाई हेफर इन्टरनेश्नल नेपालका कन्ट्री डाइरेक्टर डा.शुभनारायण महत्तोले सम्मान गर्दै नगद पुरस्कारको लागि ७० हजार वरावरको चेक हस्तान्तरण गरेका थिए । हमालले सिन्धुली जिल्लामै उत्कृष्ठ कृषकका रुपमा काम गर्न सफल भएपछि संस्थाकै तर्फबाट सम्मान गरिएको हेफरका निर्देशक तिर्थराज रेग्मीले बताए ।
 
 हमालले बाख्रापालन ब्यावसायलाई ब्यावसायीकरण अनुनिकिकरण गर्न मद्दत गरेपछि उनलाई उत्कृष्ठ कृषकका रुपमा छनौट गरिएको उनको भनाई छ । हमालले बाख्रा पालन ब्यावसायबाटै हुने दुई वर्षको आम्दानीबाट गाउँमै १२ लाख रुपैयाँ बराबरको खेत किन्न सफल भएकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ