arrow

लघु उद्योगमा लगानी बढाउन मन्त्री जोशीको आग्रह

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
udhyog-chalfal.jpeg
काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले साना लघु तथा घरेलु उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा जोशीले भने – दिगो आर्थिक विकासका लागि मुलुकमा रोजगारी बढाउनका लागि साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्दछ । 
 
मन्त्री जोशीले बैंक तथा वित्तीय संस्थाको लगानी सुरक्षा गर्न सरकार तयार रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल पुँजीको निश्चित प्रतिशत रकम ग्रामीण क्षेत्रका लघु उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिए । 
 
उद्यमीलाई सहज र सहुलियत रुपमा ऋण प्रवाह गर्न सके मात्र मन्त्रालयद्वारा प्रदान गरिने सीपको उपयोग भई रोजगारीका अवसर बढ्ने बताउँदै जोशीले भने, “ लगानी सुरक्षाका लागि आवश्यक सबै कानुन बनाउन सरकार तयार छ ।” 
 
कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले विदेशिएका युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताउँदै रोजगारीमूलक क्षेत्रमा लगानी बढाउन सरकार बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न तयार रहेको छ भने। 
 
उद्योग सचिव शङ्करप्रसाद कोइरालाले नयाँ उद्योग ऐनमा सबै तहका उद्योगको स्पष्ट परिभाषा भएको जानकारी गराउँदै मन्त्रालयले प्रदान गर्ने सीप र बैंक तथा वित्तीय संस्थाका लगानीबीच तादात्म्यता गर्न आवश्यक रहेको बताए । 
 
सो अवसरमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले आफूहरु लघु उद्यम क्षेत्रमा लगानी बढाउन तयार रहेको बताउँदै त्यस्तो लगानी सुरक्षाका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 
 
प्रतिनिधिले लघु उद्योगको प्रवद्र्धनका लागि उद्यमीको भूमिका पहिले आउने भएकाले उनीहरुलाई तालिममार्फत सशक्तीकरण गर्नुपर्ने उल्लेख गरे।
 
यसरी उल्लेख गर्नेमा एनएमवी बैंक, कैलाश विकास बैंक, ज्योती विकास बैंक, जनता बैंक, नेपाल वङ्गलादेश बैंक र सिद्धार्थ विकास बैंकका कार्यकारी प्रमुख क्रमशः उपेन्द्र पौडेल, कृष्ण लामिछाने, कृष्णबहादुर कुँवर, कुमार लम्साल सुरेन्द्र श्रेष्ठ र अजय मिश्रलगायत अधिकाँश वाणिज्य तथा विकास बैंकका कार्यकारी प्रमुख छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ