काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि चार अर्ब निकासा दिएको हो ।
त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी भवन पुनःनिर्माणका लागि ७५ करोड र जग्गा मुआब्जा वितरण गर्नका लागि २५ करोड गरी कुल ३३ अर्ब निकास दिएको पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
रकम निकासासँगै सरकारी विद्यालय, सरकारी भवन तथा ग्रामीण सडक पुनःनिर्माणका लागि स्रोतसाधन परिचालन गराउन सहज हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ । पुनःनिर्माणका कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको र कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थमन्त्री महराले विश्वास व्यक्त गरेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।