लण्डन । नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै नेपालका लागि भारतीय राजदूत रन्जित रेलाई फिर्ता गराउन बेलायतस्थित नेपाली युवाहरुले नयाँ अभियान सुरु गरेका छन् । विद्यार्थी अभियन्ता गणेश खड्काको नेतृत्वमा फोटो पत्रकार एभरेष्ट गौतम लगायतले अभियानलाई विश्वभर फैल्याउँदै रे लाई फिर्ता पठाउन माग गरेका हुन् ।
अनलाइन हस्ताक्षर सुरु गरेका उनीहरुले उक्त हस्ताक्षर चाँडै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने बताएका छन् । हालसम्म एक हजार बढीले अनलाइन हस्ताक्षर गरिसकेको जनाइएको छ ।
पत्रकार एभरेष्ट गौतमले चाडै नै विदेशस्थित राजदूतावासहरुमा ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय भएको जनाउंदै यो विषयमा राजनीति भन्दा माथि उठी देशको सार्वभौम रक्षार्थ आफ्नो बिवेक प्रयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
भारतले गत वर्ष नेपालमा नाकाबन्दी घोषणा गरेपछि त्यसको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लण्डन भ्रमणमा आउंदा आयोजना गरिएको प्रदर्शनमा उनीहरुको उल्लेख्य भूमिका थियो ।
संविधान संशोधन प्रस्ताव संसदमा पेश भएपछि राजदूत रेले कुटनीतिक मर्यादा विपरित नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष संलग्न भएर त्यसलाई प्रभावित गर्न खोजेको, नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको लगायतका आरोप युवाहरुको छ ।
खड्काका अनुसार, नेपाल सरकारले भियना सन्धिको धारा ९ अन्तर्गत रेलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरि स्वदेश फिर्ता पठाउन सक्ने विकल्प छ ।