टुङ्गिएन केन्द्रीय कमिटी : माधव, झलनाथ र घनश्यामलाई जिम्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
441
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णयबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य जिम्मेवारी प्रदान गरेको बताए । उनले कार्यदलले १८ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको पनि बताए ।
उनले भने, ‘आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्ने गरी र बैठकमा प्रस्तुत गर्ने गरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । १८ गते बस्ने बैठकमा उहाँहरूले आफ्नो प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।’
असार १६ गतेदेखि काठमाडौँमा भएको महाधिवेशनले १० दिनभित्रमा पदाधिकारी र केन्द्रीय सदस्यको टुङ्गो लगाउने भने पनि अहिलेसम्म टुङ्गिएको छैन । साउन १८ गते बस्ने बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुङ्गो लगाउने पनि बताए ।